असार २२ जनकपुर । गत बुधबार भैंसी चराउन गएर वेपत्ता भएकी जनकपुरधामकी ११ बर्षीया बालिका कन्चनकुमारी पजियारलाई आँपको लोभ देखाएर भारतको उत्तर प्रदेशका दिपु सिंहले बलात्कार गरी हत्या गरेर नदीमा फालेको प्रहरीले पुष्टी गरेको छ ।
बुधबार हराएकी कन्चनको शब दुई दिनपछि कंचनको शव दुधमति नदीको छेउमा फेला परेको प्रहरीले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका १९ कुर्था बस्ने विनोद पंजियारकी छोरी कंचनको शव भेटेको तीन दिनपछि प्रहरीले बालिकाको बलात्कार पछि निर्मम हत्या गरिएको सार्वजनिक गरेको छ । जघन्य यस अपराधका दोषी भारतीय नागरिक सिंहलाई प्रहरीले पक्राउ गरीसकेको छ । कंचनको हत्या भारतको उत्तर प्रदेश राज्यको मलिहावाद थाना काकोरी ग्राम पञ्चायत बण्डाखेराका ३२ वर्षीय दिपु सिंहले गरेको जिल्ला प्रहरी कार्यलय धनुषाले आज सार्वजनिक गरेको हो ।
गाउँकै चौधरी र मिश्र इन्डष्ट्रिजमा पछिल्लो ४÷५ महिना अगाडिदेखि काम गर्न आएका सिंहले कंचनलाई भैंसी चराउँदै गरेको देखेपछि आँप दिन्छु भन्ने प्रलोभन देखाएर ललाई फकाई आफूसँग लगेका बताइएको छ। इन्डष्ट्रिको पछाडि पट्टीको आँप बगैचाको एकान्त कुनामा लगी सिंहले बलात्कार गरेको र घटना सार्वजनिक हुने डरले मुख थुनी हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।
हत्यापछि शव सोही ठाउँमा लुकाएर सिंहले आफूले प्रयोग गर्दै आएको ब्ल्यांकेट ल्याइ त्यसमा बेरेर हत्याको भोली पल्ट बिहीबार दुधमती नदीको छेउमा शव फालेका थिए । शव लुकाउन प्रयोग गरेको ब्ल्यांकेट शव देखि पश्चिम ५० फिटको दूरीमा दिलिप चौधरीको धानबाली खेतमा फालेर माथिबाट माटोले पुरेर इन्डष्ट्रिमा काम गर्न फर्केका थिए। प्रहरीले अनुसन्धान गर्दै जाँदा सिंहलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।
अभियुक्त सिंहले कंचनको बलात्कार र हत्या गरेको स्वीकार गरिसकेको र थप अनुसन्धान जारी रहको प्रहरीले जनाएको छ ।