विद्यालय क्षेत्रको अवस्था सामान्य बन्दै

विद्यालय क्षेत्रको अवस्था सामान्य बन्दै

  • सोमवार, असार २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

भजनी, २२ असार । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टिनका रुपमा रहेका विद्यालयको अवस्था भारतबाट आउने नागरिकको कमी आएसँगै सामान्य बन्दै गइरहेको छ । कैलालीका अधिकांश स्थानीय तहले विद्यालयलाई क्वारेन्टिन बनाएका थिए । गत जेठको अन्तिम सातासम्म भरिभराउ रहेका क्वारेन्टाइन खाली हुँदै गएपछि विद्यालयले प्रशासनिक गतिविधि शुुरु गर्न थालेका छन् ।
स्रोतसाधनको अभाव भएका स्थानीय तहमा बनेका क्वारेन्टिन अव्यवस्थित भएको गुनासो आए पनि भारत तथा तेस्रो मुलुकबाट आउने नागरिकमा कमी आएसँगै विद्यालयले प्रशासनिक गतिविधि शुुरु गरेका छन् । टीकापुर क्षेत्रका विद्यालयमा रहेको क्वारेन्टिन खाली भएपछि स्थानीय तहले त्यस क्षेत्रलाई सेनिटाइज गर्दै आएको छ । विद्यालयले दैनिक प्रशासनिक काम शुरु गर्नाका साथै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण, छात्रवृत्तिका लागि सूचना आह्वान, बाहिरबाट आउने विद्यार्थीको भर्नाका लागि तथ्याङ्क सङ्कलनलगायत काम शुुरु गरिएको कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माले बताउनुभयो ।
उहाँले विद्यालयमा अध्ययनरत विद्यार्थी तथा अभिभावकसँग समन्वय गर्ने, आन्तरिक काम गर्ने, शिक्षकसँग आउँदो शैक्षिकसत्रका लागि आन्तरिक छलफललगायत काम शुरु भएको बताउनुभयो ।
त्यस्तै वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालय टीकापुरका प्राचार्य यज्ञराज ज्ञवालीले प्रशासनिक काम र नयाँ आउने विद्यार्थीको अभिलेखीकरण राख्ने काम भइरहेको बताउनुभयो । ‘विद्यालयका आन्तरिक कामहरु शुरु गरेका छौंँ । आर्थिक वर्षको अन्तको मसान्त भएको हुँदा फरफारकका कामहरु पनि गर्नुपर्ने भएकाले प्रशासनिक कामहरुलाई निरन्तरता दिनुपर्ने बाध्यता पनि छ ।’ प्राचार्य ज्ञवालीले भन्नुभयो, ‘शिक्षकहरु विद्यालय आउँछन् । विद्यार्थी–अभिभावकहरुसँग समन्वय गर्ने, पाठ्यपुस्तकहरुका बारेमा छलफल गर्ने कामहरु भइरहेको छ ।’
वीरेन्द्र विद्यामन्दिरले विद्यार्थीलाई दूरशिक्षा प्रणालीमार्फत अनलाइन कक्षासमेत सञ्चालन गर्दै आइरहेको छ । अनलाइन कक्षा सञ्चालन गरे पनि सबै विद्यार्थीको पहुँच पुग्न नसकेकाले प्रभावकारी हुन नसकेको प्राचार्य ज्ञवालीले बताउनुभयो ।
भजनी नगरपालिकाभित्रका सामुदायिक विद्यालयले पनि विद्यालयका आन्तरिक क्रियाकलापलाई निरन्तरता दिन थालेका छन् । विद्यार्थीलाई पाठ्यपुस्तक वितरणदेखि विद्यालयको वार्षिक फरफारकको काम शुरु भएको महुन्याल माध्यमिक विद्यालय भजनीका प्रधानाध्यापक भूमीन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । ‘विद्यालयका गतिविधि पूर्णरुपमा सुचारु हुन सकेको भने छैन । आर्थिक वर्षको मसान्त भएको हुँदा पनि वार्षिक फरफारकका कामहरु गर्नुपर्ने बाध्यता छ’, प्रधानाध्यापक भट्टले भन्नुभयो, ‘त्यस्तै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण, निजी तथा संस्थागत विद्यालयबाट उत्तीर्ण भई आउने विद्यार्थीहरुको अभिलेखीकरण गर्दै पाठ्यपुस्तक वितरणका काम गर्दै आइरहेका छाँैं ।’
उहाँले भजनी नगरपालिकाभित्र क्वारेन्टिन निर्माण भएका विद्यालय खाली भएसँगै सो क्षेत्रमा सेनिटाइज गरी प्रशासनिक कामकाज सञ्चालन गर्ने काम भइरहेको बताउनुभयो ।
त्यसैगरी अमर आधारभूत विद्यालयका प्रधानाध्यापक अन्तराम चौधरीले सामाजिक दूरी कायम गर्दै पाठ्यपुस्तक वितरण गर्नाका साथै भर्ना कार्यक्रमसमेत शुरु गरिएको बताउनुभयो । घोडाघोडी नगरपालिकामा पनि विद्यालयले प्रशासनिक कामलाई निरन्तरता दिन थालेका छन् । राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक सुबोधकुमार शर्माले विद्यालय खाली भएपछि सरसफाइ, विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरणलगायत काम शुरु गरिएको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी