विराटनगर, २० असार । नेकपा भित्र देखिएको विवादको प्रभाव तल्लो तह सम्म पनि पर्न थालेको देखिएको छ । शुक्रबार देशका विभिन्न जिल्लामा ओली पक्षका कार्यकर्ताहरुले स्वतन्त्र युवाको नाममा प्रदर्शन र नाराबाजी मात्रै गरेनन्, पार्टीका ओली बाहेकका अन्य नेताहरुको बिरोधमा नाराबाजी समेत गरे ।
यस्तै प्रदर्शन बिरानगरमा समेत भएको थियो ।
त्यसको भोलीपल्ट आज बिराटनगरमा प्रचण्ड र माधव नेपाल पक्षका नेता कार्यकर्ताले धर्ना दिएर स्वतन्त्रको नाममा ओलीका पक्षमा नाराबाजी गर्नेलाई कार्बाही गर्न माग गरे ।
पार्टीको स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा माग भएपछि ओलीपक्षका कतिपय कार्यकर्ताले अन्य शीर्ष नेताहरु भारतीय दलाल भएको भन्दै विराटनगरमा प्रदर्शन गरेका थिए । उक्त प्रदेशमा पार्टीकै जिम्मेवार सदस्यहरुको सहभागीता रहेको दाबीसहित कारबाहीको माग गर्दै अर्को पक्षले आज मोरङको नेकपा पार्टी कार्यालय पाञ्चालितमा धर्ना दिदै कार्बाहीको माग गरेको हो ।
त्यसपछि प्रचण्ड र माधवनेपाल पक्षीय युवा संघका नेता तथा विद्यार्थी नेतासहितको टोलीले शनिबार मोरङका पार्टी अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेतीलाई त्यस्तो प्रदर्शन रोक्न दबाब दिएका थिए ।
अनेरास्ववियूका नेता ओसिम आलम, युवा संघका नेता इश्वरी आचार्य, विद्यार्थी नेता ताजिम अन्सारीलगायतको नेतृत्वमा ५० भन्दा बढी युवाहरु पार्टी कार्यालयमा भेला भएका थिए ।
विद्यार्थी नेता ओसिम आलमले पार्टीका शीर्ष नेताहरुविरुद्ध गाली गलौज गर्ने र भारतीय दलालको रुपमा चित्रित गर्दै सडकमा आउने क्रमलाई नरोक्ने हो भने आफूहरु पनि केपी ओलीको राजिनामा माग्दै सडकमा आउने बताए ।
‘समृद्ध नेपाल, सुखी नेपालीको महान अभियानमा चिसो पानी खन्याउने काम जो कसैबाट हुन्छ भने त्यस्ताको भण्डाफोर गर्छौं,’ विद्यार्थी नेता अन्सारीले भन्नुभयो, ‘पार्टी एकताका लागि हाम्रो दवाव निरन्तर रहिरहन्छ ।’ अर्का नेता अन्सारीले भने ।
यस्तै युवा संघका नेता इश्वरी आचार्यले प्रचण्ड या माधव नेपाल लगायतका नेतालाई बद्नाम गर्नेगरी भइरहेको गतिविधि नरोकिए आफूहरु पनि व्यानर लिएर सडकमा आउने चेतावनी दिए । ‘हामी पनि आन्दोलनबाट आएका मानिस हौं, हामी पनि दुइ÷चारसय जना मानिस लिएर सडकमा आउन सक्छौं, के अब सडकबाटै फैसला गर्ने हो त ?’,
युवा तथा विद्यार्थी नेताहरुको मन्तव्य पछि मोरङका नेकपा अध्यक्ष ऋषिकेश पोखरेलले स्वतन्त्रको नाममा सडकमा आएर नेताका विरुद्धमा तथानाम गाली गलौज गर्नेहरु पार्टी सदस्य हुन नसक्ने बताए ।
‘स्वतन्त्रको नाममा सडकमा आन्दोलन गर्ने हो भने त्यो पार्टी सदस्य नै रहेन नि,’ पोखरेलले भने ।
यस्तै नेकपा मोरङका सचिव गणेश उप्रेतीले स्वतन्त्रको नाममा आन्दोलन गर्नेहरुको नाम लिष्ट लिएर आए कारबाही गरिने बताए ।