काठमाडौँ, २० असार । शनिबार बस्ने भनिएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै स्थायी कमिटी बैठक पनि प्रभावित भएको थियो ।
बिहीबार केहीबेर बसेर स्थगित भएको बैठक पार्टी एकतामा गम्भीर संकट देखा परेको र संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरुले प्रयास गर्ने भन्दै एक दिनको समय राखेर बैठक स्थगित गरिएको भएको थियो ।
शुक्रबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा दुवै पद नछाड्ने अडान दोहोर्याएका थिए ।ओलीको त्यो अडानले विवाद झनै बढेको छ ।
दाहाल–नेपाल समूह ओलीले एउटा पद छाड्नु पर्ने अडानमा छन् ।शनिबारसम्म पनि संकट समाधानको सूत्र फेला नपरेपछि बैठक फेरि दुई दिनपछि सरेको हो ।
एक नेताका अनुसार अर्को बैठक असार २२ गते बस्ने भएको छ ।