काठमाडौं, १७ असार । आषाढ शुक्ल एकादशी आज तुलसीको बिरुवा आज घर–घरमा रोपिदैछ । हिन्दू धार्मिक मान्यताअनुसार आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने भएकाले यस एकादशीलाई हरिशयनी एकादशी भनिन्छ ।
तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गे गर्ने शास्त्रीय परम्परा छ ।
हरिबोधनी एकादशीमा भगवान् विष्णु जाग्ने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ ।
तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ ।
आज बिहानदेखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत देशभर रहेका विष्णु मन्दिरमा पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनहरु पुगेका छन् । यो पटक लकडाउन भएकाले विगतमा जस्तो मन्दिरमा भिडभाड भने कम रहेको छ ।
यस्ता छन् तुलसीका फाइदा
– वायुमण्डलमा बहने दूषित हावालाई तुलसीले शुद्धीकरण गर्छ ।
– जाडोयाममा तुलसीको पात नियमित सेवन गर्ने हो भने विभिन्न रोगबाट बच्न सकिन्छ ।
– अक्सर जाडोमा हुने रुघाखोकी, निमोनिया, ब्राेंक्राइटिस, घाँटीको समस्या र श्वास–प्रश्वासमा हुने समस्या आदिका लागि तुलसीको पात लाभदायी हुन्छ ।
– यसले चिसोका कारण हुने कफ र छातीदुखाइ कम गर्छ । नियमित तुलसी सेवन गर्ने हो भने चिसो लाग्नबाट स्वतः बचिन्छ ।
– तुलसीको पातको चूर्ण बनाई अदुवा, मरिच आदिको सम्मिश्रणबाट चिया बनाएर पिउन सकिन्छ । उक्त चिया स्वास्थ्यका लागि झनै फाइदाजनक हुन्छ ।
– तुलसीलाई तातो पानीमा मिसाएर खाँदा टाउको दुखेको, चिसोको कारण नाक बन्द भएको, पिनास र श्वासनली बन्द भएको आदि समस्याबाट राहत मिल्छ ।
– नियमित खाली पेटमा दूधमा तुलसी मिसाएर खाँदा दम र श्वास–प्रश्वाससम्बन्धी रोगबाट छुटकारा पाउन सकिन्छ । त्यसैगरी, मुटुसम्बन्धी रोग, माइग्रेन, डिप्रेसन, स्नायु प्रणालीसम्बन्धी समस्याबाट बच्न सकिन्छ ।
– पेटको समस्या, श्वास गन्हाउने, यौनजन्य रोग, घाउ–खटिरा, बान्ता हुने, उच्च रक्तचापजस्ता रोगका लागि तुलसी एक अचुक औषधि हो ।
– तुलसी सेवन बच्चाका लागिसमेत उपयोगी हुन्छ ।