विपद् व्यवस्थापन गर्न स्थानीय स्रोतको परिचालन गर्नुपर्ने माग

विपद् व्यवस्थापन गर्न स्थानीय स्रोतको परिचालन गर्नुपर्ने माग

  • मङ्लबार, असार १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

लम्की , १६ असार । विपद् व्यवस्थापन र जैविक विविधता संरक्षणमा टीकापुर नगरपालिकाले स्थानीय स्रोतको परिचालन गर्नुपर्ने सरोकारवालाको सुझाव छ । सरोकारवालाले विपद्को जोखिमबाट बच्न व्यवस्थित, दीर्घकालीन योजना बनाएर विकाससँगै पर्यटन र समृद्धिको लागि काम गर्नुपर्ने माग गरेका छन् ।

जनतासँग मेयर–उपमेयर कार्यक्रममा स्थानीयले विपद्को सामना गर्न स्थानीयस्तरमा रहेका स्रोतको परिचालन गर्न नगरपालिकाले नीति बनाएर अघि बढ्नुपर्ने माग गरेका छन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरका सभापति जगदीश्वर पण्डितले विपद्का बेला आइपर्ने समस्याको सामना गर्न नगरपालिकाको विपद् व्यवस्थापन कोषको रकम सदुपयोग गर्नुपर्ने बताउनुभयो । “नगरपालिकामा रहेको विपद् व्यवस्थापन कोषको रकम स्थानीय स्रोत प्रयोगमा खर्चिनुपर्छ”, पण्डितले भन्नुभयो, “स्थानीयस्तरमा नागरिकलाई विपद्को पूर्वतयारीमा रहनका लागि तालिम दिने, सुरक्षित रहने उपाय र उद्धारका लागि सिकाउन आवश्यक छ ।” विपद्को बेला दैनिक उपभोग्य सामानको अभाव हुने, महँगोमा किन्नुपर्र्ने र अभाव हुने समस्या झेल्नुपरेकाले नगरपालिकालाई आवश्यक सामग्री खरिद गरी भण्डारण गर्न पण्डितले सुझाव दिनुभयो ।

कैलालीको टीकापुर क्षेत्र हरेक वर्ष बाढीका कारण डुबान र कटानमा पर्छ । बर्सात शुरु भएपछि यहाँका नागरिकमा बाढीको त्रास शुरु भइसकेको छ । कैलालीको टीकापुर र भजनी नगरपालिकामा बर्सेनि सयौँ बिघा जमीन बाढीले कटान गर्दछ भने सयौँ परिवारको बाढी आएमा सडकमा बास हुने गर्दछ । यस वर्ष टीकापुर–८ श्रीलङ्कामा कर्णाली नदीले चैतदेखि नै कटान शुरु गरेको छ । नदीले ३०० मिटर बढी बस्ती कटान गरिसकेको छ । “नदीले जमीन कटान बढाएको छ । नदी कटान यस्तै रहे यस वर्ष बस्ती डुबान हुने डर छ”, स्थानीय झपट बुढाले भन्नुभयो, “स्थानीय पालिकाले दीर्घकालीनसँगै स्थानीय बासिन्दालाई स्थानीयस्तरमै पाइने स्रोत प्रयोग गरी बाढीबाट बच्न तयार गर्नुपर्छ ।” उहाँका अनुसार बाढी आइहाले उद्धार तथा राहतका लागि सोही ठाउँका नागरिकलाई सक्षम बनाउन आवश्यक छ । सामुदायिक वन उपभोक्ता महासङ्घका नगर अध्यक्ष श्याम खत्रीले सामुदायिक वनलाई विपद्को बेला मानवीयहितमा सदुपयोग गर्न आग्रह गर्नुभयो ।

डल्फिन संरक्षण केन्द्र बैदीका अध्यक्ष भोजराज ढुङ्गानाले विपद्को सामाना र विकासका लागि पर्यापर्यटनको विकासमा जोड दिनुपर्ने बताउनुभयो । “वातावरण संरक्षण नहुँदा पनि विपद्को सामना गर्नुपरेको छ”, ढुङ्गानाले भन्नुभयो, “वातावरण संरक्षणका लागि टीकापुर नगरपालिकाले जलचर, थलचर प्राणीको संरक्षणमा जोड दिनुपर्छ । नगरकै योजनामा पर्यटकीय क्षेत्र विकासका लागि सीपलाई उपयोगितामा बदल्नतर्फ ध्यान दिनुपर्छ ।”

विपद् व्यवस्थापन समितिका संयोजक तथा टीकापुर–६ का वडाध्यक्ष बलिराम चौधरीले विपद् व्यवस्थापन कोषको रकम अहिले कोरोना नियन्त्रणमा केन्द्रित भएको बताउनुभयो । उहाँले विपद्को प्रकृतिअनुसार पीडितलाई राहत उपलब्ध गराउने कार्य, जोखिमको आँकलन, जोखिम भएका ठाउँमा उद्धारका सामग्री व्यवस्थापनजस्ता कार्य भइरहेका बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख केशरी विष्ट रावलले विपद्को सामना गर्न वडा तथा नगरस्तरीय विपद् समिति निर्माण गरिएको बताउनुभयो । “ती समितिलाई प्रशिक्षण, पूर्वतयारीका बारेमा जानकारीलगायत आपत्कालीन अवस्थामा सहयोग गरिरहेका छौँ”, विष्टले भन्नुभयो, “आगामी दिनमा नगरपालिका कार्यविधि बनाएर अघि बढ्नेछ ।”

नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले विपद् व्यवस्थापनमा सामुदायिक वनलाई प्रयोग गर्ने बताउनुभयो । “नगरपालिकाले वन वातावरण तथा जैविक विविधता संरक्षण गर्नका लागि ऐन बनाइरहेको छ”, नगरप्रमुख रावलले भन्नुभयो, “टीकापुर विपद्को जोखिममा रहेकाले वृक्षरोपण, सुरक्षित उच्च घर निर्माण, विकास र पर्यटनका लागि नगरको ध्यानाकर्षण भएको छ । गुरुयोजना बनाएर अघि बढ्ने तयारीमा छौँ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ