अतित……
जब असारे झरी बर्षन्छ नी तव तिम्रो यादले एकोहोरो मनको बादल फटाएर नयनी वर्षा सुरू हुन्छ, यो उदासिन ठाउँमा।
अतित हुन त यो लाखौँ किसानको आशा पलाउने महिना पसिना बगाएर आशाकै खेती सिँचाउने महिना।
मुठी छरेर मुरी उब्जाउने महिना हो।
तर पनि किन किन मेरो मन यतिकै उदासिन हुन्छ।
गाउँमा असारे रोपाइ चल्दा रोपाराहरू हिलोमा धान छुपु छुपु रोप्दा र एक आपसमा हिलो छयाप्दा
हलिले हो हो काले हो हो माले भन्दा सँगै असारे भाका घनकिदा यि आँखा थामिदै थामिनन्! कल्पनाको सागरमा डुबुल्की मार्न पुग्छु म पनि त्यसै त्यसै।
अतित! हिजो हामी पनि गैरी खेतमा रोपाई चल्दा त्यसरी नै एक अर्कालाई हिलो छ्यापथ्यौ हँ गी,
तिमीले गोरू जोतेको बेला हो हो तारे, हो हो राते भनेको कति मिठो हुन्थ्यो,
म मन लगाई लगाई बीउ निकाल्न बसेको बेर्ना बाट सुनी राख्थे।
जब तिमी गोरू लाई घाँस हालेर आराम गर्न भनी बेर्नाकै डिल मा बस्थ्यौ । तिम्रो मुहारमा थकानको मलिनता र धमिलो पसिना होइन।मुहार तेजता र पसिना मोतिको दाना झै खस्थ्यो आशाका सुनौँला किरण हरू उदाएका हुन्थे मुहार भरी।
म बीउ निकाल्दै मन्द मुस्कानले र केही लज्जा भावले भरिएकी हुन्थे ! तिमी मलाई देखेर नजिक सर्दै आमाले देख्छन कि पो झै गरी बीउ सँगै च्याप्प हात समातेर सुस्तरी भन्थ्यौ
सानु जसरी यो कलिलो बीउ हिलोमा चोपिएर भोलि लह लह झुल्ने धान बन्छ नी तानो रोपेर मानो फल्छ नी ,
हो त्यसरी नै हाम्रो माया झुल्नु पर्छ र फल्नु पर्छ है लाटी।
यस्तै के के कुरा खेलाउँछु मन भित्र अनि आखाँले असार बर्षाउँछु।
हिजोका हाम्रा कुरा आज कोरा कल्पना जस्तै लाग्छन। ती सपना दिवा सपना झै लाग्छन।
गौथलीको कथा जस्तो लाग्छ हाम्रो जीवन ! चखेवाको जोडि जस्तै हामी।
आज तिमी बादल पारीको संसारमा छौँ कुन चरीको गित गाउँदै तर म न्याउँली जस्तै भा छु।
आज तिमी अनि तिम्रा याद साँच्चै अतित भा छन। त्यो गैरी खेत पनि बगर भा छ। जब असार लाग्छ तब मेरा अतित हरू स्मृतिका पाना भित्र पल्टिन खोज्छन्! तिम्रा याद हरपल अतित बनेर आउँछन।
जब घन्किन्छन असारे भाका खेतहरूमा जब छ्यापिन्छ रोपारा हिलोमा
तब म भने पुरानो भाका गायक प्रशान्त तामाङको असारै मैनामा भन्ने गित भित्र मनमा छ्याप्छु।
हो त्यसरी नै आँसुको झरीले मन रोप्छु।
उहीँ तपाईको मनको साथी बझाङी उमेश बिष्ट ( उज्ज्वल)