मुक्तक – १
एउटै कल्ली साग छैन मुठो कसरी भयो
न छ स्वाद न छ गन्ध सुठो कसरी भयो
मेरो वैँस चुस्न हुँडारझैँ आँखा तरी हेर्छौ
भन पुजारी मैले छुँदा जुठो कसरी भयो ?
मुक्तक – २
रूप धुपमा के छ हजुर चर्मको नै खेल हो
मानव पशुको भेद पनि मर्मको नै खेल हो
रगतको रङ छ एकै धड्कनको धुन एउटै
छुत अछुत ट्याग टाँस्ने धर्मको नै खेल हो !
मुक्तक – ३
आरनजस्तै अँगेनो छ कमिनी पनि उनै हुन्
पीडा बोक्ने ढाकर छ थमिनी पनि उनै हुन्
दुस्ख कष्ट पन्छाउँदै श्रम गर्छिन् मेरी आमा
मन तुन्ने सियोधागो छ दमिनी पनि उनै हुन् !
मुक्तक – ४
मनभित्रै हुन्छ सुन्दरता नि चर्म काम छैन
अहंकारी भावमा गर्ने कुनै पर्म काम छैन
अमृत भनी विषको घडा पिइरहेछ मान्छे
प्रेमको बदला ज्यानै लिने धर्म काम छैन !
मुक्तक – ५
मनको ताल्चा आफैँ खोल कुनै चावी हुन्न
करूणा र विवेकभन्दा पर कुनै सावी हुन्न
छैठी खस्ठि सारा भ्रम हो नपत्याउने कुरा
जीवन लेख्ने श्रमले नै हो कुनै भावी हुन्न !
मुक्तक – ६
तुन्ने पेशा देखी तिमी अस्ति गयौ तर्किएर
यौवनको फूल टिप्न हिजो आयौ फर्किएर
दिलको धुन सुन्ने तिमी बन्छौ कहिले भन
जात सम्झी हिँड्यौ आज पानी छर्किएर !
मुक्तक – ७
सिउने कल आफैँ उध्रिए कसले सिउँछ होला
तिर्खा मेट्न भनी समुद्रले के पो पिउँछ होला
थाहा छैन यो पृथ्वीभरि जिवित छन् कि मूर्दा
जिउँदो भए जिन्दगी यो कसरी जिउँछ होला ?
मुक्तक – ८
डाढु पुन्यू त तम्रै हात छन् जोक पस्क्यौ मलाई
खुसी मस्ति तम्रै भाग छन् शोक पस्क्यौ मलाई
सत्तामाथि उक्लिएर यो जमिन टेक्न छोडेपछि
गोठ खमार तम्रै नाम छन् भोक पस्क्यौ मलाई !
मुक्तक – ९
वसन्त होस् कि शरद हजुर रात भने एउटै हुन्छ
मार्सी होस् कि सोना हजुर भात भने एउटै हुन्छ
जति गर धनैले पुर मानिस ठुलो सानो हुँदैन हेर
छुत होस् कि अछुत हजुर जात भने एउटै हुन्छ !
मुक्तक – १०
सोना होस् कि चाँदी हजुर जन्तर भने एउटै हुन्छ
धनी होस् कि गरीब हजुर अन्तर भने एउटै हुन्छ
पण्डित, भिक्षु, पादरी, मुल्लाह एकै ड्याङे मुला
धर्म होस् कि विधर्म हजुर ठग्ने मन्तर एउटै हुन्छ !