सबको उज्यालो भर्दै र सबैलाई समानता छर्दै आउदैछ भन्ने सुनेको
सुशासन र सुरक्षाको जिम्मेवारी संगै
मुलुक भित्र ल्याइदैछ भन्ने सुनेको
एक्काइसौं शताब्दीको सापेक्ष बन्दै
युग बदल्न ल्याइदैछ भनेको सुनेको
समानता र समतामूलक नेपाल बनाउदै
समृद्दिको खाका कोर्दैछ भन्ने सुनेको
परिवर्तन ,
परिवर्तन व्यवस्था बदल्न मात्र नभै
अवस्था बदल्न ल्याइएको भन्ने सुनेको
परिवर्तनको घडिमा बलात्कृत नारिले
न्याय नपाएको समानता हेर्दै
हत्यारा समात्न र अपराधीलाई कारबाही गर्न
असक्षम बन्दै आएको परिवर्तनले
आज निर्मला,माया,मैनाहरुलाई न्याय दिन सकेन
सुरक्षा र सुशासनको ढोल पिट्दै
आएको थियो त्यो परिवर्तन
जो दरबारबाट खोसेर महलमा लुकाइयो
हिजोदेखि नै परिवर्तन लुकाउनेहरुको
गद्दारीको कारण निरीह जनताका छोराछोरीले त्यही परिवर्तनको खातिर आफुलाई बलिवेदीमा चढाइएका ऐतिहासिक मर्महरु आज भुल्दै जादा
परिवर्तन महल तिर बाट विदेश भाग्ने पो हो कि भन्ने भयले
नेपाली लोकतन्त्र र गणतन्त्र बन्दी भैरहयो
परिवर्तनलाई चैनले ग्रहण गर्दै
ऐनले परिवर्तनको समानतामा विभेद गर्यो
अनि परिवर्तन
आज खै कता भाग्यो ,कता हरायो भन्दै सहिदको हंस अदृश्य बन्दै वायु बनी धाइरहयो
तर परिवर्तन सेवा र सुविधा भोगी मनसिकताले चपाइदिएको कारण
आज बलिदानको व्यापार चलिरहेको छ बुद्धको देश नेपालमा ।।।
सुशासन र समानताविहिन परिवर्तनले
होर्डिङ बोर्ड थप्दैछ रे
युवा परनिर्भर बनाई सुपरमार्केट युगको रिवन काट्नेले
समृद्ध नेपाल र सुखी नेपालीको प्रचार गर्दैछ अरे
अनि
अनि परिवर्तन दरबारबाट खोस्ने बितिकै महल तिर लुक्यो
जनतामा परिवर्तन जानलाई अहिले नै बेला भैसकेको छैन
कारण ऐन र दफा जनताकालागि बनाउन अभ्यस्त छ शासक
चैन र सुविधा के के थप्ने भन्दै सुत्न गएको परिवर्तन
राती सपनामा सगरमाथा डिपोजिट गरेर मर्सिडिज कार खरिद गरेको सपना देख्दैछ रे
लुम्बिनी डिपोजिट गरेर अन्तरास्ट्रिय सहयोगको अस्पताल उध्घाटन गर्दैछ रे
देशै डिपोजिट गरेर आत्मघाती सम्झौता गर्दैछ रे
परिवर्तन ऋणी भएको छ रे
अन्तरास्ट्रिय भिग मागेर निजि रमाइलोमा महलको भाडा तिरेर
झुपडीबाट पनि कर असुल्दै
झुपडीका सन्तानको रगतपसिनाले सन्चित धनले
देश ,विदेश भ्रमण गर्दै गरेको परिवर्तन
एक्कासि कोरोना कहरको कारण स्थगित हुँदा
परिवर्तनले अमेरिकी एमसिसी लागू गर्न मरिहत्ते गरेका छन रे
अनि झुपडीमा बस्नेहरुले आश मारिसके अरे
परिवर्तन अब दरबार बाट महल र महलबाट अमेरिका तिर फरार पो हुने हो कि
यस्तै चिन्ताहरु सुनिन्छ
बुद्धको देश ,सगरमाथाको देश नेपालमा ।।