काठमाडौँ,१० असार। प्रमुख प्रतिपक्षी दल कांग्रेसको भ्रातृ संगठन नेविसंघका कार्यकर्ताले बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कुर्सी जलाएका छन् ।
आफ्ना माग राख्न उपकुलपति कार्यालय पुगेका विद्यार्थी कार्यकर्ता लाई अपमान गर्न खोजेपछि विद्यार्थी आक्रोश बनेका थिय ।आक्रोशीत भएका विद्यार्थीहरुले उपकुलपतिको कुुर्सी कार्यकक्षबाहिर ल्याएर आगो लगाएका थिए। त्रिविका प्रवक्ता सूर्य अधिकारीका अनुसार नेविसंघको झण्डा बोकेर आएका केही कार्यकर्ताले कुर्सीमा आगजनी गरेको पुष्टि गरे ।
ती पदाधिकारीका अनुसार नेविसंघले रजिष्ट्रार, रेक्टरको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन् । इकाईले केही दिनअघि अनलाइन कक्षा प्रभावकारी बनाउन, इन्टरनेटमा सहुलियत दिन र राजनीतिक भागबण्डाको आधारमा नियुक्ति नगर्न पदाधिकारीको ध्यानाकर्षण गराएको थियो ।
नेविसंघ केन्द्रीय समितिले विश्वविद्यालयमा भइरहेका गतिविधिबारे ध्यानार्कषण गराउँदै बुधबार विज्ञप्ति जारी गरेको थियो । अध्यक्ष राजिव ढुङ्गानाले विज्ञप्ति जारी गरेको केही घण्टा नबित्दै उपकुलपतिको कुर्सीमा आगजनी गरिएको हो । वरिष्ठता र क्षमताको आधारमा विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न माग गरिएको छ ।
९ महिनादेखि उपकुलपतिसहितका पदाधिकारी रिक्त संस्कृत, कृषि तथा वन विज्ञान र पोखरा विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न नेविसंघले माग गरेको छ । आईओएमलगायत भागबण्डाको आधारमा गरिएको नियुक्ति खारेज गर्न माग गरिएको अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।
नेविसंघले त्रिविमा सत्तारुढ नेकपाको सिफारिसको आधारमा पदाधिकारी, विभागीय प्रमुख र क्याम्पस प्रमुख नियुक्ति गरिएको भनेर आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा उपकुलपति बाँस्कोटाले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा डा. दिव्यासिंह शाहलाई डिन नियुक्त गरिएको भन्दै नेविसंघले असन्तुष्टि जनाएको थियो ।