असार ८, बुटवल । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लुम्बिनी ब्युरोले एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै यसका विरुद्ध सिर्जना मार्फत् गुन्जिएका छन् । कवि, लेखक, कलाकार एवं साहित्यकारहरुको सहभागिता रहेको कार्यक्रममा राष्ट्रियताको पक्षमा बोल्दै सिर्जनाहरुमार्फत् साहित्यकारहरुले एमसीसी सम्झौता खारेज हुनुपने माग गरेका छन् ।
उनीहरुले राष्ट्रियताको पक्षमा आवाज उठाउँदा सरकारले दमन गरेको भन्दै स्रष्टाहरुमाथि गरिएको दमन, धरपकड र गिरफ्तारीको निन्दा समेत गरे । साहित्यकारहरुले सिर्जनामार्फत् एकस्वरमा भने–“कलममाथि बन्दुकको दमन अस्वीकार्य छ ।” उनीहरुले भने, “ अक्षरमाथिको दमन फासीवाद हो, देशभक्त र श्रमिक जनताका पसिना उनिएका गीत र स्वरहरुमाथिको अवरोध हो ।”
कार्यक्रममा कवि एवं लेखक डा. शिबशङ्कर बस्यालले सामाजिक दलाल पुँजीवादी सत्ता सर्जक र सिर्जनादेखि डराएको भन्दै फासीवादी सत्ता विरुद्ध सिर्जनात्मक हस्तक्षेप तीब्र पार्नुपर्ने बताए । उनले साहित्य, कला, गीत, सङ्गीत जनताको पक्षमा लेखिनुपर्ने भन्दै सत्यको पक्षमा उभिनुपर्ने स्रष्टाहरुको दायित्व भएको बताए । उनले गीत, सङ्गीत, कला साहित्यलाई राजनीतिसित जोड्नु अनिवार्य भएको भन्दै साहित्य सिर्जनाले जनताको सेवा गर्नुपर्ने बताए । पुँजीवादले ज्ञानको सङ्कट बढाएको भन्दै उनले क्रान्तिकारी र देशभक्त लेखक साहित्यकारहरुले यो अभिभारा पुरा गर्नुपर्ने बताए ।
उनले एमसीसी राष्ट्रघाती सम्झौता विरुद्ध आफुहरुले सुरुदेखि नै संघर्ष गर्दै आएको भन्दै उनले भने, “एमसीसी विरुद्ध हल्ला गर्नु र साँच्चिकै लड्नुमा फरक छ । हामी साँच्चिकै लडिरहेका छौं ।”
कार्यक्रममा राष्ट्रियताको पक्षमा र एमसीसी विरुद्ध २० जना साहित्यकारहरुले कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा क्षितिज परिवारले ५ वटा देशभक्तपूर्ण गीत प्रस्तुत गरेको थियो । कार्यक्रममा लुम्बिनी व्युरो अन्तर्गतका विभिन्न जिल्लाबाट लेखक, साहित्यकार, कलाकारहरुको सहभागिता रहेको थियो ।
ब्युरो संयोजक खोमा तरामु मगरको अध्यक्षता र व्युरो सदस्य संयोगको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।