कन्चनपुर, ८ असार । भीमदत्त नगरपालिकाले कोरोना भाइरस संक्रमण परीक्षणका लागि पिसिआर मेसिन खरिद प्रक्रिया सुरु भएको छ । नगरपालिकाले सोमबार मेसिन खरिदका लागि बोलपत्र आव्हान गरेको छ ।
नगरपालिकाले ३५लाख ४८ हजार ५ सय रुपैँयाको बोलपत्र आव्हान गरेको छ । राष्ट्रिय स्तरको पत्रिकामा सूचना सार्वजनिक गरी खरिद प्रक्रिया सुरु गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले कार्यालयको निर्णय अनुसार पिसिआर खरिद प्रक्रिया सुरु गरिएको बताए ।
‘कोरोना संक्रमण जाँचका लागि पिसिआर मेसिन किन्ने निर्णय गरिएको थियो, त्यहीं निर्णय अनुसार खरिद प्रक्रिया अघि बढेको छ, सार्वजनिक सूचना आव्हान गरिएको छ,’ उनले भने,‘सूचनाका आधारमा मेसिन खरिद गरी सञ्चालनमा आउँछ ।’
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्न थालेपछि भीमदत्त नगरपालिकाले पहिलो पटक मेसिन किन्ने निर्णय गरेको थियो । त्यसका लागि चिकित्सक सहित विभिन्न क्षेत्रका प्रतिनिधिसित छलफल गरिएको थियो ।
पिसिआर मेसिन सञ्चालनका लागि स्थान छनौट गर्न कार्यदल गठन गरी कार्य अघि बढेको छ । महाकाली अस्पताल वा भेटेरिनरी तथा पशु अस्पताल छनौटका लागि आवश्यक सुझाव दिन कार्यदल गठन गरिएको हो ।