‘भर्चुअल’ विमर्श र सिर्जना

‘भर्चुअल’ विमर्श र सिर्जना

  • शनिबार, असार ६, २०७७
  • –खोमा तरामु मगर

  • 10.9K
    SHARES

कोरोना कहर । अर्थात् यसलाई गाउँघरतिर ‘कोरोला’ वा ‘कोरोन्दा’ पनि भन्छन् । ‘क्वारेन्टीन‘लाई ‘कुरिनटार’ भन्छन् । गाउँघरतिर उतिबेला चर्पीमा प्रयोग गरिने ‘साइफन’लाई ‘सुइबिन’ भन्थे । टिभीमा फिल्म हेरेर घर फर्किएपछि ‘फिलिङ्गो’ हेरेर आएँ भन्थे । कतिपय नयाँ शब्दहरु जनजिब्रोमा सजिलै बस्दैनन् । कहिल्यै नसुनिएका शब्दहरु बसिहाल्ने कुरा पनि भएन । विश्व यही ‘कोराना’, ‘कोरोला’ वा ‘कोरोन्दा’को ‘फिलिङ्गो’ले आक्रान्त छ । अर्थात् नेपाल पनि यो रोग, भोक र आतङ्कले थलिएको छ । कतिपय क्वारेन्टीन ‘बधशाला’ वा ‘मृत्यकक्ष’ जस्तै बन्यो । मानव सभ्यताको इतिहासमा मान्छेलाई पिञ्जराभित्र थुन्यो । आफुलाई मानव सभ्यताको उत्कृष्ट सामाजिक व्यवस्था भन्ने पुँजीवाद नै सबैभन्दा हायलकायल बन्यो । पुँजीवादी विश्वअर्थव्यवस्था टाँट पल्टियो । प्रकृति र मानवजातिको जीवन रक्षा गर्न पुँजीवाद पूर्णतः असफल भयो । पुँजीवादले आफुलाई नयाँ–नयाँ रोग र मृत्यु उत्पादन गर्ने कारखाना भएको पुष्टि गर्यौं । सत्ताको मात र दम्भको पर्खालभित्र बाँचिरहेको सहर यसबाट निकै थिलोथिलो बन्यो । यी सबै घटनाक्रमहरुले के पुष्टि गर्यो भने जनताका लागी कोरोना भन्दा पुँजीवादी व्यवस्था बढ्ता घातक र खतरनाक भाइरस देखियो ।
कोरोनाको सबैभन्दा ठूलो कहर मजदुरवर्गमा पर्याे । मजदुरहरु हप्तौदिनसम्म भोकै पैदल हिँडेर घर पुगे । दशगजामा थुनिएका नेपालीहरुको हृदयविदारक रोदनले सरकारलाई दुखेन । भारतबाट १८ किलोमिटर हिडेर दशगजा आइपुगेका धनुषाका वीरेन्द्र गुर्मैता यादव र अर्घाखाँचीका युवा कृष्णबहादुर गैरेले दशगजामा नै जीवन गुमाए । इन्द्रबहादुर खत्रीहरु महाकालीमा फाल हालेर जसोतसो देश त छिरे तर दुव्र्यवहार भोग्नुपर्यो । सिंहदरवारको नाकैमुनि सूर्यबहादुर तामाङहरु भोकले ढले । अछामका सिद्धार्थ आउजुले आत्मदाह गर्न बाध्य भए । पुँजीवादी सरकार जनताको जीवनप्रति असाध्यै निष्पृह र संवेदनहीन देखियो । जनतालाई लकडाउनको पर्दाभित्र थुनेर माफियाहरुको गिरोहले ठूलो धन्दा चलायो । त्यो औषधी खरिद प्रक्रियामा गरिएको करोडौं भ्रष्टाचार होस् वा राहत वितरणमा गरिएको अर्बौ अनियमितता । यो अवधिमा घिनलाग्दो सांसद अपहरणकाण्ड, रूकुम नरसंहारदेखि देशभर नृशंस हत्या, आत्महत्या, बलात्कारको शृङ्खला चल्यो । एमसीसी र भ्रष्ट सरकारविरूद्ध जनआक्रोश चुलियो । विद्रोही नेकपाले सरकारी दमनको प्रतिरोधात्मक सङ्घर्ष बाहेक आक्रामक कारवाही नगर्ने घोषणा गरेपनि धरपकड र गिरफ्तारी जारी राख्यो । यी घटनाहरूले वली नेतृत्वको नक्कली ‘कम्युनिस्ट’ र कथित ‘समाजवादी’ सरकार नाङ्गैभुतुङ्गै भयो ।

भर्चुअल विमर्श र सिर्जना
कोरोनाको त्रासदपूर्ण परिवेश, क्षण–क्षणमा सङ्क्रमित र मृत्युको समाचार, सहरका मजदुर तथा श्रमजीवीहरु कैदीजस्तै बन्द कोठाभित्रको मानसिक र शारिरीक यन्त्रणा खपेर बसिरहेको समयमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ रूपन्देहीले फेसबुक भर्चुअल संवाद सुरू गर्यौं। हामीले यसलाई सिर्जना र छलफलको चौतारी बनायौं । यो ज्ञानको आदानप्रदान र विमर्श गर्ने स्कुल बन्यो । विमर्शमा १९ वटा शृङ्खला सम्पन्न भए । १६ वटा पुस्तकमाथि टिप्पणी र समीक्षा र २० वटा सामयिक शीर्षकमा विमर्श भयो । यसवीचमा २ वटा समीक्षा भयो । छलफलमा सुष्मा, विहानी, ममता, संयोग, आत्मा, पारश, लिला, देवराज, चाहना, रेष्माले बिषयको जिम्मा लिएर सक्रियतापूर्वक भाग लिनुभयो । करिब २ दर्जन साथीहरु छलफलमा जोडिनुभयो । मोडियटरको मुख्य भुमिका विहानीले गर्नुभयो । विमर्शमा प्रस्तुत गरेका बिषयहरु निकै महत्वपूर्ण रहे ।
पहिलो चरणको विमर्शमा हामीले माक्सिम गोर्कीको जीवनी, आमा उपन्यासको चर्चा, ‘कविता र नयाँ पुस्ता’, ‘जनयुद्धकालिन सिर्जना अनुभूति’, कृष्णसेन इच्छुकको जीवनी र रचना, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, लालतारा सांस्कृतिक परिवार, बडिघात सांस्कृतिक परिवार, रेसुङ्गा सांस्कृतिक परिवार हुँदै क्षितिज परिवारको इतिहासदेखि वर्तमानसम्मको चर्चा र डायस्पोरा साहित्यसम्मको चर्चा गर्यौं । हामी कार्यक्रममा निकै उत्साहित भएर सहभागी भयौं । हामीलाई कविता, गीत, नृत्यकला, सङ्गीत, सिर्जना अनुभूति र पुस्तकमाथिको छलफलले आकर्षित गर्यौं । हामीले भर्चुअल विमर्शलाई सिर्जनात्मक संवाद चौतारीको रुपमा उपयोग गर्यौं । सिर्जनालाई हृदयमा महसुस गर्यौं । हरेक सिर्जनामा आफ्नै जीवनका अनुभव र अनुभूति पायौं । प्रत्येक कविताको नदीसँग सँगसँगै बग्यौं, संस्मरणको स्मृति सँगसँगै यात्रा गर्यौं । गीतहरुले मस्तिष्कहरु झङ्क्रित भएपछि हाम्रा ओँठहरु सँगैसँगै गुनगुनाए । गीत सङ्गीतको लय र मुच्र्छनाहरुमा हाम्रा कुर्कुच्चाहरु हल्लिए । अर्थात् हामीले ती सिर्जनाहरुमा जनताका दैनिकी र आफ्नै जीवन जोडिएको अनुभूत गर्यौं ।

दोस्रो चरणको विमर्शमा हामीले ‘रक्तरञ्जित परिवारको इतिहास र वर्तमान’, ‘गाउँमा लकडाउन र सिर्जना’, ‘झुल्केघाम साहित्यिक पत्रिकाको समीक्षा’, ‘बुटवलको साहित्यिक अनुभूति’, ‘नृत्यकला र सङ्गीत’, ‘क्षितिज परिवारसँग साङ्गितिक कार्यक्रम’, ‘लकडाउनमा सिर्जना’ शीर्षकमा १३ वटा गीत, १० वटा कविता, ‘माओको जीवनका रोचक प्रसङ्ग’, निकोलाई ओस्त्रोभस्कीको ‘अग्निदीक्षा’, फेङ्ग चिहको ‘दुश्मनको अखडाभित्र’, लो कुआङ्ग–पिन/याङ्ग यि–येनको ‘रातो चट्टान’, याङ् मो को ‘युवाहरुको गीत’, न्यून न्होकको ‘अजम्बरी गाउँ’, मोहनविक्रम सिंहको ‘पेमालामा प्रश्नोत्तरमाला’, लि शिन–तियनको ‘चम्किलो रातो तारा’, मोहनविक्रम सिंहको ‘धरतीको पूर्व इतिहास’ आदि पुस्तकमाथि चर्चा ग¥यौं । त्यसैगरी ‘पार्टी स्कूलिङ र सिर्जना यात्रा’, ‘प्रतिबन्धपछि क्षितिज परिवारको साङ्गितिक यात्रा’, कोरोना कहर, लिपुलेक र राष्ट्रियता आदि शीर्षकमा चर्चा गर्यौं ।

तेस्रो चरणमा ‘सामना परिवारसित साङ्गितिक यात्रा’, ‘चे ग्वेभाराको जीवनी र सङ्घर्ष’, ‘कम्युनिस्ट घोषणापत्र’, ‘लुम्बिनीमा जनसांस्कृतिक यात्रा’, ‘पारिजातको जीवनी र सिर्जना’, जुलियस फ्युचिकको ‘झुण्ड्याउँदा झुण्ड्याउँदै’, अनिल बार्बेको ‘थ्याङ्क्यु मिस्टर ग्लाड’, चुनु गुरूङको ‘बेलिसरा’, सहिद डिबी थापाको जीवनी र सङ्घर्ष, योगमायाको जीवनी, ‘सिर्जना दलित आन्दोलन’, राष्ट्रघाती एमसीसी सम्झौता, अमेरिकी जर्ज फ्लोएडको हत्या र रूकुम पश्चिमको नरसंहार आदि बिषयमाथि छलफल गर्यौं।

हामीले विमर्शमा इतिहासदेखि वर्तमानसम्मको सिर्जनात्मक समीक्षा, पुस्तक चर्चा, सामयिक बिषयहरुमाथि परिचर्चा गर्यौं । सिर्जना सम्प्रेषण र अन्तरङ्ग गर्यौं । फ्रान्सिस वेकनको एउटा प्रेरक भनाइ छ–“केही पुस्तक चाख्न लायक हुन्छन्, केही पुस्तक चपाउन लाइक हुन्छन्, केही पुस्तक निल्न लायक हुन्छन् र केही पुस्तक पचाउन लायकका ।” वेकनले भनेजस्तै यो विमर्शको क्रममा हामीले केही चाख्न लायक, चपाउन लायक, निल्न लायक र पचाउन लायक बिषय र पुस्तकहरुमा छलफल गर्यौं। हामीले असारको २ गते विमर्शको औपचारिक समापन ग¥यौं । हाम्रा सिर्जनाको स्रोत भनेका श्रमजीवी वर्गको पसिना, आँधीमय सङ्घर्ष र बलिदानीपूर्ण इतिहासहरु थिए । वर्गविहीन र शोषणमुक्त मानवसभ्यता सहितको सुन्दर समाजको परिकल्पना थियो । ती सिर्जनाहरु स्वभाविक रुपमा आफैमा एउटा विचार हो । मैले विमर्शको गुण, दोष र उपलब्धीबारे सङ्क्षिप्त बुँदागत चर्चा गर्दछु –

विमर्शका गुण पक्ष–
१.प्रविधि आफैमा असल र खराब हुँदैन । यसको प्रयोग कसरी गरिन्छ ? त्यसरी नै यसको असल र खराबको प्रभाव देखिने हो । हामीले कोरोना कहर र बन्दाबन्दीको समयमा फेसबुके चिन्तनबाट माथि उठेर ज्ञानको विमर्श ग¥यौं । अर्थात् भर्चुअल दुनियाँमा समय र प्रविधिको उच्चतम प्रयोग गर्यौं।

२. भर्चुअल विमर्शले हाम्रो भौतिक र भावनात्मक दुरीलाई कायम राख्यो । हामीलाई विमर्शले निकै व्यस्त बनायो । विस्मृतिमा गइसकेका पुराना घटनाको स्मृति गरायो । हामीले इतिहासका पन्नाहरु पल्टायौं । पुस्तक अध्ययन, लेखन र सिर्जनामा जोड दियौं । आफैलाई समीक्षा गर्ने अवसरका रुपमा लियौं । विमर्शले ज्ञानको आदानप्रदान गर्यौं। यसले सिक्ने र सिकाउने अर्थात् प्रशिक्षित हुने अवसर दियो । हामी कहिले ज्ञानको जटिल गहिराईमा डुबुल्की मा¥यौं । कहिले रोचक प्रसङ्गहरु सुनेर उद्देलित भयौं ।

३. गाउँको दुरदराजमा बसेर डाटाको महङ्गो खर्च र नेटवर्कको समस्याका बावजुद पनि विमर्श सम्पन्न भयो । अर्थात् पूर्व निर्धारित योजना पुरा गर्यौं। विमर्शले थप नयाँ ज्ञानको खोजीतर्फ उत्सुक बनायो । हाम्रा मस्तिष्कहरु अझ सक्रिय भए । विगतमा छुटेका अध्ययन, लेखन र सिर्जनाका कामहरु यसक्रममा सम्पन्न भए ।

विमर्शका दोष पक्ष–
१. बिषयगत क्षमता र रूचि हुँदाहुँदै पनि विविधि कारणले विमर्शमा थुप्रै साथीहरुलाई सहभागी गराउन सकिएन । अहिलेको भिन्न र प्रतिकूल परिवेश नै यसको मुख्य कारण रह्यो । विमर्शमा लकडाउनले अध्ययन सामग्रीको अभाव हुन पुग्यो । अर्थात् पुस्तकहरु पनि बन्दाबन्दीमा परे । जसका कारण थुप्रै बिषयहरु छुट्न गए ।
२. सिर्जनाका लागी भर्चुअल नेटवर्क पर्याप्त छैन । यसका लागी भौतिक अन्तरक्रिया र क्रियात्मक हुन जरूरी छ । किनकी सिर्जनाको स्रोत भनेको श्रम हो । अर्थात् व्यवहारबाट प्राप्त हुने सिर्जनालाई फेरि व्यवहार वा श्रमसित जोड्न जरूरी छ ।

विमर्शमा सिर्जनात्मक उपलब्धि
१. हाम्रा कविता, गीत, अनुभूति, सङ्घर्ष र पुस्तकमाथि टिप्पणीमा अत्याचारी इतिहास र वर्तमानप्रति भयङ्कर क्रोध र आक्रोश अभिव्यक्त भयो । अर्थात् हाम्रा सिर्जनामा इतिहासका गौरवमय दिन, सपना ढलेको चित्कार र नयाँ आशाका क्षितिजहरुको मिश्रित स्वरहरु अभिव्यक्त भए ।
२. हाम्रो सिर्जनाका पछाडी आफ्नै पृष्ठभूमिहरू जोडिएका छन् । हामी दुःख, कष्ट र सङ्घर्षको इतिहास बोकेर आएका हौ । हामी धेरैथोरै जनयुद्धको रापतापमा हेलिएर अर्थात् वर्गसङ्घर्षको त्यो मनोविज्ञान बोकेर हुर्किएका पुस्ता हौं । हामी शान्ति प्रक्रियापछिको धोकाघडी र प्रतिक्रान्तिको तितो क्षण भोग्दै जनयुद्धका सपना क्षतविक्षत भई ढलेर लडेका घाइते पुस्ता हो । शान्तिप्रक्रियाको नाममा जनयुद्धका गौरवमय आदर्श, बलिदानीपूर्ण इतिहास र सम्पूर्ण सपनाहरुमाथि गद्दारी गर्ने ती पाखण्डीहरुको अपराधपूर्ण धुरीमा ढुङ्गा हानेर नयाँ क्रान्तिको झण्डा उठाएका पुस्ता पनि हौं । हामीसित तिनै सपनाहरु छन् जसलाई हिजो प्रतिक्रियावादीहरुले घृणा र अपमानले दुत्कार्थे । हाम्रो छलफल र सिर्जनामा यही भाव उद्वेलित भएर आए । सिर्जनामा क्रान्तिप्रतिको चिन्ता, विश्वास र प्रतिबद्धता सँगसँगै घोलिए ।
३. हामी प्रतिक्रियावादीहरुको दृष्टिमा सफल मान्छे होइनौं । किनकी हामी उनीहरुको भक्तिगान गाएका छैनौं, न त चारणगीत नै गाएका छौं । कहिले हामी भोको बसौंला, कहिले हामी मैलो तर विचार वा क्रान्तिप्रति प्रतिबद्ध छौं । त्यही कारण हाम्रा विरुद्ध गुप्तचर खटाइएको छ, विचारमा प्रतिबन्ध छ र हाम्रा सहयोद्वाहरु अहिले जेल हिरासत हुनुहुन्छ । तर हामी सपनाहरुबाट विचलित छैनौं । हामीलाई सहिदको रगतले भिजेको झण्डालाई झुक्नदिने छुट छैन । हामीले सपनाहरुलाई सिंहदरवारको सरकारी फाइलसित साटेका छैनौं । सहिद, घाइते, अपाङ्ग, बेपत्ता योद्वाहरुको रगत र सपनालाई पेरिसडाँडाको मसानघाटमा सेलाएका छैनौ । न त कुनै भट्टी पसलसित साट्यौं । हामीलाई आफ्नै पसिना र सपनाप्रति गौरब छ । हाम्रा सिर्जना र अनुभूतिहरुमा यही भाव अभिव्यक्त भएका छन् ।
म फेरि पनि भन्छु– भर्चुअल विमर्श हाम्रो सिर्जना, अनुभूति, पुस्तकमाथि छलफलको चौपारी बन्यो । विचार सम्प्रेषण, ज्ञान र अनुभूतिको आदानप्रदान र नयाँ कुरा सिक्ने स्कुल बन्यो । सिर्जनाको नयाँ कारखाना बन्यो । कोभिड १९ को त्रासदी र लकडाउनको कैदीबाट मुक्त हुने प्रयास बन्यो । तर सिर्जनाका लागी भर्चुअल नेटवर्क पर्याप्त छैन । अझ भौतिक अन्तरक्रिया वा सिर्जनालाई क्रियात्मक बनाउन जरूरी छ ।
असार ६, २०७७

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी