ए ! राता मानिसहरु
ए ! ताता मानिसहरु
तिम्रा ती रक्तिम रङ्गहरु
झमझमाउने अङ्गप्रत्यङ्गहरु
हिमाल उचाल्दै हिड्थे
पहाड बोकेर दौड्थे
तराईका गह्रागह्राहरुमा परेड खेल्थे
राता पट्टिहरुले बाँधिन्थे निधारहरु
काला पट्टिहरुले बिमत्ति गर्थे विचारहरु
सेतै फूलेकी आमाको मुटुमा
कोमल आश्वासन रोपेर जान्थे
सिउँदो उजाडिएकी युवतीको घाउमा
मलम पट्टिको सपना देखाएर जान्थे
बेसहारा बाबुको छाती चौडा हुन्थे
टुहुरा नाबालकहरु थम्थमाइन्थे
वीर वीरङ्गनाका जोशिला गीतहरु
गाँउ शहर ब्यूँझाउने प्रितहरु
दुःखीको मर्ममा हुन्थे
मुक्तीकामी कर्ममा रम्थे
खै ती राता मानिसहरु आज ?
खै ती ताता मानिसहरु आज ?
कुनै बेलाका अघोरी तिमीहरु
जोशिला होशिला परिवर्तनकारीहरु
अग्रगमन हान्ने तिम्रा छलाङ्गहरु
बागडोर चाल्ने तिम्रा कदमहरु
क¥यामकुरुम चपाइएकी ?
गल्र्यामगुर्लुम ढलाइएकी ?
कछुवा गतिमा विकासयात्रा
विलखबन्द छ
भ्रष्टाचारमा शून्य सहनशिलता
शून्य प्राय छ
जुरुक्कै बस्ति उचाल्ने आश्वासनका पत्रहरु
रगत उमाल्ने प्रशिक्षणका सत्रहरु
कुन हिऊँले चिसिए ?
कुन बिउमा मिसिए ?
बेरोजगारी झनझन बढेर गयो
युवाहरु खाडीतिर उडेर गए
आमूल कृषि क्रान्ती गर्छौँ भन्यौ
कृषक काल्नामूनि मत्थर भए
जे जे भन्यौ त्यो त्यो गरेनौ
जे जे भनेनौ त्यो त्यो गर्यौ
पल्टायौ सकुनीका पासाहरु
ओइलाए पलाएका आशाहरु
त्यसैले त
तिम्रा धुमिल लुगा सुकिलामुकिला भए
तिम्रा थोत्रा साइकल चिल्ला कार भए
खपेटाको घरबाट गगनचुम्बी महल बन्यो
गाउँको धुलाम्य बाटो तिम्रो प्रतिक्षा गरिरह्यो
अपनायौ ऐयासी जीवन शैली र त
बिर्सियौ गाउँलेका निन्याउरा अनुहारहरु
स्खलित भए महान् आदर्शहरु
फ्यूजन हुन आँट्यौ लेण्डुपे शैलीहरुमा र त
सेलाइदियौ वर्गीय नारा कुन घाटहरुमा
पटकपटक चिच्याउँछन् आमाका कोखीका घाउ
पटकपटक चिच्याउँछन् भत्काइएका सिउँदोको घाउ
किन उहिले मुक्तिका लागि उफ्रियौ
किन अहिले आफै मात्र सप्रियौ
भिन्न भिन्न विभाजित भयौ
स्वार्थहरुमा आँखा डुलायौ
यहाँ समृद्धिको ढ्वाङ्ग त सबैले फुके,
सामन्तवाद विरुद्ध प्राय सबैले भुके
त्यसैले त आज
तिमी र ऊ बिच खासै फरक रहेन
जुनै व्यवस्थामा पनि तात्विक भिन्नता रहेन
मुक्ति कर्ल्याप्पै पार्यौ कि आफैँले ?
समृद्धि सर्ल्याप्पै पार्यौ कि आफैँले ?
शंका छ कतै
तिमीहरु राता मानिस रहेनौ कि अब ?
तिमीहरु ताता मानिस रहेनौ कि अब ?
अवसान नहोऊन् तिम्रा ती आर्दश नारा
जय ! होऊन् तिम्रा ती मुक्तिका नारा ।।
- बाँसगढी, बर्दिया