मुक्तक –१
खोली हेर्यो चिठ्ठी छैन खाम झुट थियो
प्रभु भनी भक्ति गाउने नाम झुट थियो
जीवनको रस मेटी भ्रमित किन बन्छौ
अग्निकुंड सीता हाल्ने राम झुट थियो !
मुक्तक – २
खुशी जति आफैँमा छ धनभित्र के छ हेर
हेर्दामा पो हरियाली छ वनभित्र के छ हेर
लोभ(लाभ विलापमा भौतारिनु बेकार छ
बाहिर यस्तो चमक छ मनभित्र के छ हेर !
मुक्तक –३
रूप धुपमा के छ हजुर चर्मको नै खेल हो
मानव पशुको भेद पनि मर्मको नै खेल हो
रगतको रङ छ एकै धड्कनको धुन एउटै
छुत अछुत ट्याग टाँस्ने धर्मको नै खेल हो !
मुक्तक – ४
धनको लोभ यस्तो चढ्यो बास यतै छुट्यो
गाउँ घर छोडेर शहर छिरें तास यतै छुट्यो
चुच्चे ढुङ्गो उही टुङ्गो हुँदोरहेछ जिन्दगानी
आखिरमा त लाश जल्दा सास यतै छुट्यो !
मुक्तक – ५
श्रमिकभन्दा चोर किन ठुलो भयो मान्छेलाई
आफूभन्दा देउता बढी मुलो भयो मान्छेलाई
जिवीत हुन् कि मूर्दा सबै छुट्याउन नि गाह्रो
मनभन्दा मन्दिर आज चुलो भयो मान्छेलाई !
मुक्तक –६
पसिनाको मूल्य मेटी तिमी धनको कुरा गर्छौ
ह्रदयको सङ्गीत मेटी तिमी तनको कुरा गर्छौ
मूर्दा बनी एकदिन पक्कै जल्दछौ चितामाथि
जीवनको खुसी मेटी तिमी मनको कुरा गर्छौ !
मुक्तक – ७
प्यासको पछि लाग्दालाग्दै आज भोगी बन्यौ
अहंकारले जलेर भित्रभित्रै आज रोगी बन्यौ
कसले रचायो भन दौडधुपको नटुङ्गिने खेल
धनको पछि हिँड्दाहिँड्दै आज जोगी बन्यौ !
मुक्तक –८
गुलामहरू प्रभू रिझाई शक्ति खोज्दारहेछन्
मूर्खहरू आँखा निभाई भक्ति खोज्दारहेछन्
जीवनको हिसाव किताब त गजव हुँदोरहेछ
जिउँदाहरू आफू मेटाई मुक्ति खोज्दारहेछन् !
मुक्तक – ९
भोटो होस् कि भाङ्ग्रो सिउने धागो एउटै हुन्छ
सानो होस् कि ठुलो भीर झर्ने छाँगो एउटै हुन्छ
एकदिन जीवन उडेपछि मूर्दा बन्नु छँदैछ हजुर
हरिप होस् कि सरिफ पोल्ने आगो एउटै हुन्छ !
मुक्तक – १०
वसन्त होस् कि शरद हजुर रात भने एउटै हुन्छ
मार्सी होस् कि सोना हजुर भात भने एउटै हुन्छ
जति गर धनैले पुर मानिस ठुलो सानो हुँदैन हेर
छुत होस् कि अछुत हजुर जात भने एउटै हुन्छ !