युग बदल्ने विप्लवका ‘सपनाका यात्रीहरू’

युग बदल्ने विप्लवका ‘सपनाका यात्रीहरू’

  • सोमवार, असार १, २०७७
  • – खेम थपलिया

  • 16.3K
    SHARES

सपनाका यात्रीहरू सपना जोगाउनुपर्छ
सपनामै जिउँछ जीवन, सपनामै रम्छ जीवन

मान्छेहरू भन्छन्– प्रतिबन्धात्मक अवस्थामा पनि तपाईंहरूको सिर्जनात्मक कार्यमा कत्ति पनि कमी आएन हगि ! हामीले पनि ती मित्रहरूलाई भन्ने गरेका छौँ– यो प्रतिबन्ध त हामीलाई झन् अवसर भएको छ । तेलङ्गानाका क्रान्तिकारी जनगायक गद्दरले यस्तै सन्दर्भलाई इङ्गित गरेर भन्नुभएको थियो, “जब मान्छे एउटा असल कामका लागि समर्पित हुन्छ, त्यतिबेला ऊ मर्नदेखि डराउँदैन । यदि मलाई गिरफ्तार गरियो भने पनि म गाउँछु । यदि उनीहरूले मेरो जिब्रो काटिदिए भने पनि म आफ्नो हत्केलाले टेबुलमाथि बजाएर गाउँछु । यदि उनीहरूले मेरो हत्केलालाई पनि काटिदिए भने मैले आफ्नो खुट्टाबाट आवाज निकाल्नेछु । यदि उनीहरूले मेरो खुट्टा पनि काटिदिए भने मैले आफ्नो शरीरलाई युद्धमा लडिबुडी गराउनेछु । यदि उनीहरूले मलाई फासिमै चढाए भने मैले रक्तसङ्गीतम्द्वारा आफ्नो सन्देश जनतासमक्ष पु¥याउनेछु ।” प्रख्यात गद्दरको यो कुरा अहिले नेपाल कम्युनिस्ट पार्टीको जीवनमा ठ्याक्कै लागु भएको छ । इतिहासको संवेदनशील यस घडीमा क्रान्तिकारीहरूले आफ्नो ज्यानलाई हत्केलामा राखेर देश र जनताको सेवा गरिरहेका छन् । राज्यद्वारा प्रतिबन्धात्मक अवस्थामा पनि सिर्जनात्मक काममा तीव्रता आएको छ । त्यही सिर्जनात्मक कार्य–शृङ्खलामा आइपुगेको छ, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ द्वारा रचित गीत– ‘सपनाका यात्रीहरू ।’ ‘सपनाका यात्रीहरू’ यु–ट्युवमार्फत् सार्वजनिक पनि भइसकेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ राजनीतिक पार्टीको नेतृत्व मात्र हुनुहुन्न, उहाँ उत्पीडित तथा श्रमजीवी जनताको मन र हृदयलाई छामेर लेख्न सक्ने गीतकार पनि हुनुहुन्छ । उहाँका गीतहरू नेपाली साङ्गीतिक फाँटमा विशेष चर्चामा रहने गरेका छन् । उहाँका ‘देशको मुहार’, ‘उठ साथी हो’, ‘चेले भन्नुभएको’, ‘जागै बस’, ‘हामी माओवादी’, ‘तुफानमा जिउने’, ‘कसले बनायो’, यस्तो पनि’, ‘भुल्नुहुँदैन कमरेड’, ‘क्रान्तिकारीको जीवन’ जस्ता गीतहरू स्थापित छन् । यु–ट्युवमा राखिएका उहाँका गीतका भ्युअर्स लाखौँ छन् । गम्भीर अन्तर्वस्तुसहित समृद्धशाली गीति–शृङ्खलामा उहाँको ‘सपनाका यात्रीहरू’ पनि जोडिन आइपुगेको छ । जनयुद्धका तत्कालीन नेतृत्वले क्रान्तिकारी सपनाको रातो झन्डालाई चौबाटोमा अलपत्र छाडेर भागेपछि विप्लवले त्यो सपनाको रातो झन्डालाई सम्हाल्दै क्रान्तिकारी जनसमुदायमा क्रान्तिकारी आशावाद र क्रान्तिकारी सपना जगाउन यो गीतको रचना गर्नुभएको हो ।

नेपालमा राणाविरोधी आन्दोलनदेखि नै जनताका गीत–सङ्गीत सामन्तवादको शिरमाथि बज्रिन थालेको हो । जनयुद्धकालमा पुरानो सत्ताले क्रान्तिकारी गीत–सङ्गीतमाथि दमनको दुष्चक्र मात्र चलाएन, उसले जनताका गीत–सङ्गीतलाई भयङ्कर खतरा मात्र पनि देखेन, उसले कृष्ण सेन ‘इच्छुक’ लगायत १७० बढी संस्कृतिकर्मीको हत्यासमेत गरिदियो । राष्ट्रियता, जनतन्त्र, जनजीविका, न्याय र समानताको आवाजलाई गीत–सङ्गीतमा उन्ने जनताका कलाकारको अनेकोट, भाबाङ, डुङ्लाहरूमा सामूहिक हत्या गरियो । हुन त पुरानो सत्ताले समग्र सपनाकै हत्या गर्ने दुष्प्रयत्न नगरेको होइन, आज तिनै सपना चिहान खोतल्दै वैज्ञानिक समाजवादी युगको आरधना गरिरहेका छन् । लेनिनले भन्नुभएको छ– हामीले सपना देख्नुपर्छ । हो, हामीले सपना देखिरहेका छौैैैैँ, सपना जगाइरहेका छौँ । निश्चय पनि सपनालाई पूरा गर्ने महान् अभियानमा लामबद्ध यात्रीहरूले सपनालाई जगाउनुपर्दछ, जगाउन सक्नुपर्दछ र जगाउन जान्नुपर्दछ । जीवन सपनामा जिउँछ, सपनामै रमाउँछ । जीवन र सपनाका बिच अन्योन्याश्रित सम्बन्ध हुन्छ । जीवन र सपनामध्ये एकको अभावमा अर्कोको कुनै अर्थ हुँदैन । हेरौँ, एक साक्ष्य:
सपनाका यात्रीहरू सपना जोगाउनुपर्छ
सपनामै जिउँछ जीवन, सपनामै रम्छ जीवन
सपना बाँचे जीवन बाँच्छ, सपना मरे जीवन मर्छ
सपनाहरू मर्न नदेऊ, सपनाहरू झर्न नदेऊ

क्रान्तिकारी गीत–सङ्गीतमा सङ्घर्ष, समर्पण र बलिदानको इतिहास गाँसिएर आउँछ । नेपालमा न्यायपूर्ण समाज स्थापनार्थ हजारौँ योद्धाले बलिदान गरिसकेका छन् । हाम्रा गीत–सङ्गीत मालेमावादी सौन्दर्यचिन्तनमा आधारित छन् । वर्गसङ्घर्ष प्रतिभाहरू जन्माउने–हुर्काउने प्रयोगशाला पनि हो । यसको विकास र विस्तारमा राजनीतिक कार्यदिशाबाट निर्देशित जनकलाकारको बलिदान, समर्पण र साधनाले महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । जसरी हिजो जनयुद्धका निमित्त क्रान्तिकारी गीत–सङ्गीतले प्रेरणा, प्रोत्साहन र ऊर्जा थपेको थियो, त्यसैगरी आज एकीकृत जनक्रान्तिका लागि क्रान्तिकारी गीत–सङ्गीतले सोही भूमिका निर्वाह गरिरहेको छ । सुपष्ट योजना, लक्ष्य र दृष्टिकोण भएको मान्छे चराजस्तै स्वतन्त्र उड्न सक्तछ । उसलाई कसैले पनि कैद गर्न सक्तैन । ऊ साँघुरो घेराबाट मुक्त हुँदै विस्तृत आयामका साथ विचरण गरिरहेको हुन्छ । उसले एकैछिनमा आकाश–धर्ती जोडिदिन सक्तछ । महान् सहिदहरू आकाशमा चम्किरहने तारा हुन् । आकाशमा चम्किरहेका तारा हाम्रा लक्ष्य पनि हुन् । जसरी महान् सहिदहरू आकाशमा तारा बनेर चम्किरहेका हुन्छन्, त्यसैगरी तिनको योगदानले धर्ती पनि चम्किरहेको छ । धर्ती र सपना एकापसमा चम्किरहेका हुन्छन् किनकि सपनाको फूल धर्तीमै फुल्दछ । एकीकृत जनक्रान्तिमा मात्र एघारजना महान् योद्धाहरूले बलिदान दिइसक्नुभएको छ । यो बलिदानको प्रतापद्वारा हाम्रो धर्ती, हाम्रो आकाश र हाम्रो सपना चम्किरहेको छ । रूप र अन्तर्वस्तुको सुन्दर समायोजनद्वारा कालजयी बनेको गीत ‘सपनाका यात्रीहरू’ ले नयाँ यथार्थलाई आत्मसात् गर्दै क्रान्तिकारी सचेतन हस्तक्षेपकारी भूमिका निर्वाह गरिरहेको छ । हेरौँ, अर्को एक साक्ष्य:
भुरुरु उड्यो पंक्षी, पंक्षीझैँ उड्यो मान्छे
सपना उड्यो पंक्षीसँग, मान्छे उड्यो सपनासँग
चम्किने आकाशका तारा, ताराजस्तै चम्क्यो धर्ती
सपना चम्क्यो तारासँग, धर्ती चम्क्यो सपनासँग

गीत–सङ्गीतले जनसमुदायको ठूलो हिस्सालाई एकैचोटि प्रभावित पार्न सक्तछ । हाम्रा गीत–सङ्गीतमा प्रतिध्रुबीय गीत–सङ्गीतका विरुद्ध लड्ने प्रचुर क्षमता रहेको छ । जनताका प्रत्यक्ष जीवनमा आधारित भएर लेखिएका गीतहरू जनताको ढुकढुकी बन्दछन् । ‘सपनाका यात्रीहरू’ पनि त्यही ढुकढुकी हो । दुनियाँ परिवर्तनशील छ । यो निरन्तर बदलिँदै आएको छ । समयको यो विशाल र अथाह प्रवाहमा युगहरू पनि बदलिँदै आएको छ । आज केही मान्छेहरू आफ्नो लुटको स्वर्ग बचाउन क्रान्तिको युग सकिएको, परिवर्तनको औचित्य नरहेको भन्दै छन् । यस्तो अवैज्ञानिक र सफेद झुटलाई प्रस्तुत गीतले पुरै इन्कार गरिदिएको छ । जब क्रान्तिकारीहरूका सपना युग परिवर्तनसँगै फेरिन्छ, तब समाज र जनताको जीवन पनि सुन्दर र हराभरा हुन्छ । प्रस्तुत गीतले शोषण, दमन, अन्याय र अत्याचारको युगको अन्त्य भएर न्याय, समानता, वैज्ञानिक समाजवादी युग आउने अमीट विश्वास व्यक्त गरेको छ । हेरौँ, प्रस्तुत गीतको अर्को एक साक्ष्य:
निरन्तर बग्ने समय, समयझैँ बदलिन्छ युग
सपना उड्छ युगसँग, युग फेरिन्छ सपनासँग

हामीलाई थाहा छ, हतारो–चटारोमा गरिएका शब्दसंयोजन, सङ्गीतबद्धता तथा प्रस्तुतिले गीत–सङ्गीतमा समस्या निम्त्याउँछ । नेपालमा गीतलेखन तथा सङ्गीत संयोजनको एकरेखीयताले अनुभूति र सम्प्रेषण, रागानुभूति र भाव बोधगम्यताको अभाव नदेखिएको होइन । गीत–सङ्गीतमा आधुनिक र लोकशैलीको सुन्दर संयोजनद्वारा गुण र परिमाण दुवैमा छलाङ मार्न सकिन्छ । गीत–सङ्गीत प्रचारात्मक अङ्ग मात्र होइन, यो स्तरीयकरण, वैचारिकीकरण र लोकप्रियकरणको सुन्दर सम्मिलन पनि हो । ‘सपनाका यात्रीहरू’ मा शब्द, सङ्गीत र स्वरको उपयुक्त सम्मिलन रहेको छ । प्रस्तुत गीत एउटै केन्द्रीय भावमा लेखिएको छ, यो सुन्दा मात्र होइन, पढ्दा पनि लययुक्त छ ।

क्रान्ति र क्रान्तिकारी मनोविज्ञानका कारण क्रान्तिकारी गीतहरूमा वीररसको घनत्व प्रचुर मात्रामा रहेको पाइन्छ । क्रान्तिकारी गीत–सङ्गीतमा करुण रसलाई वीर रससँग जोडेर संवेदनायुक्त क्षणमा पनि निराशालाई आशामा एवम् मृत्युलाई गौरवपूर्ण बलिदानमा फेर्ने परम्परा रहिआएको छ । आज पूर्वको मारुनीदेखि पश्चिमको देउडासम्म एवम् हिमालको सेलोदेखि तराईको सखिया गीतहरू जनपक्षीय उपयोग गर्ने क्रम तीव्रतामा छ । हामीले आधुनिकताको नाममा लोकलाई बिर्सिने र लोकको नाममा आधुनिकतालाई घृणा गर्ने परम्पराको अन्त्य गर्नैपर्दछ । हाम्रा गीतहरू आदर्श बन्नुपर्दछ । हाम्रा गीतहरू फासिवादी दलाल एवम् प्रतिक्रान्तिकारीहरूका मुटुभेदन गर्ने तीर बन्नुपर्दछ । हाम्रो आन्दोलनसित व्यथा, आवेग, पीडा मात्रै छैन; प्रतिशोध, प्रतिरोध र वीरत्वभावको गहिराइ पनि छ । हाम्रा गीत–सङ्गीतले जनता र जनसंस्कृतिकर्मीबिचको सम्बन्धलार्ई सामिप्यता र जीवन्तता प्रदान गर्दै आएको छ । हाम्रा गीत–सङ्गीत भीषण युद्धमोर्चामा बारुदको धुवाँमा फुलेका फूल हुन् । हाम्रो यात्रा हजारौँ माइलको छ, चढ्नुपर्ने सर्वोच्च शिखर छ, फोड्नुपर्ने अनगिन्ती काला पहाड छन् । हामीलाई विश्वास छ, एकदिन सपनाका यात्रीहरूले हजारौँ माइलको यात्रा पूरा गर्नेछन्, सर्वोच्च शिखरमा चढेर रातो झन्डा पहराउनेछन्, काला पहाडहरू तोड्नेछन् । करिब ६ मिनेटको समयावधि रहेको प्रस्तुत गीत ‘सपनाका यात्रीहरू’ मा जनसंस्कृतिकर्मी चिरन पुनको सङ्गीत र योगेश काजीको स्वर रहेको छ ।
१ असार, २०७७

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी