महोत्तरी१ जेठ ३१। धनुषाको हिरासतमा केही दिन अघि झुण्डिएर मृत भेटिएका शम्भु सदाको हत्या भएको दाबी सहित दोषीमाथि कार्बाहीको माग गर्दै महोत्तरीमा नेविसंघले धर्ना दिएको छ ।
नेविसंघ महोत्तरीले जलेश्वरको शंकर चौक बाट विरोध जुलुस गर्दै महेन्द्र चौकमा पुगी केही बेर सडकमै बसेर धारणा पनि गरेको थियो।
मंगलबार राति धनुषाको सबैला नगरपालिका स्थित इलाका प्रहरी कार्यालयको शौचालयमा झुण्डिएको अवस्थामा स्थानीय २३ वर्षीय युवक सम्भु सदाको शव फेला परेको थियो।
प्रहरीले सदाले आत्महत्या गरेको दाबी गरेको छ भने मृतकका परिवारले सम्भुको हत्या भएको दाबी गरिहेका छन्।
जेठ १२ गते सम्भुले चलाएको ट्याक्टर दुर्घटनामा गाउँकै एकजना महिलाको मृत्यु भएपछि प्रहरीले उनलाई हिरासतमा राखेको थियो। तर गएको जेठ २७ गते राति इलाका प्रहरीकै शौचालय भित्र छानोमा आफ्नै सर्ट, भेस्टले पासो लागेको अवस्थामा उनको शव भेटिएको थियो।
उनको हत्या भएको भन्दै मृतक परिवारसहित स्थानीयले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने मागसहित प्रदर्शन गर्दै आएका छन्।
मृतक सदाको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको तीन दिन बित्न लाग्दा पनि पोस्टमार्टम हुन सकेको छैन भने स्थानीयको प्रदर्शन जारी छ।
मृतक सम्भुकी आमा शियाली सदाले आफ्नो छोरोको इलाका प्रहरी कार्यालय सबैलाका इन्सपेक्टर चन्द्रभुषण यादवको मिलेमतोमा हत्या गरेर शव झुण्ड्याएको दाबी गरिन्।
दलितको पहुँच कम छ,यसको मतलब यो होइनन् कि त्यसको ज्यान लिइदिने,त्यस माथी शोषण गर्ने।सम्भु सदाले न्याय पाउनैपर्छ ।