काठमाडौं जेष्ठ ३१ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको नियन्त्रण तथा रोकथामको सन्दर्भमा फिल्डमा खटिएका पत्रकारहरुलाई आज एक कार्यक्रमबीच प्रेस सेन्टर नेपालले प्रेस ज्याकेट, माक्स, पञ्जा लगायतका सामाग्रीहरु वितरण गरेको छ ।
प्रेस सेन्टर नेपाल केन्द्रीय समितिद्धारा आज सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित ‘कोरोना प्रकोप नियन्त्रणमा पत्रकारको भूमिका विषयक छलफल तथा पत्रकार सुरक्षा सामाग्री वितरण कार्यक्रम’ बिच ति सामाग्रीहरु बाडिएको हो ।
महासंघको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का महासचिव कर्णजीत बुढाथोकी लगायतकाको उपस्थिति रहेको थियो ।
महासचिव बुढाथोकीले सहभागि पत्रकारहरुलाई प्रेस सेन्टर नेपालले तयार गरेको प्रेस ज्याकेट, पञ्जा, माक्स लगायतका सामाग्रीहरु वितरण गरेका थिए ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत करिब तीन दर्जन बढि पत्रकारहरुको सहभागिता रहेको थियो । राज्यले कोरोना प्रकोपसँगको लडाईमा खटिएका पत्रकारहरुलाई सुरक्षा सामाग्री प्राप्त मात्रामा प्रदान नगरेको कारण पत्रकारहरु असुरक्षित ढंगले काममा खट्ने अवस्था आएको भन्दै कार्यक्रम सञ्चालनको क्रममा पत्रकार अरुणा मानन्धरले सरकारलाई त्यतातिर ध्यान दिन आग्रह गरिन ।
कार्यक्रमको विषयवस्तुबारे प्रकाश पार्दै प्रेस सेन्टरका अध्यक्ष जैसीले आफ्नो संगठनले कोरोना नियन्त्रणको सन्दर्भमा फिल्डमा खटिने पत्रकारहरुलाई सुरक्षित उपकरणको प्रवन्ध, विशेष उपचार कोषको व्यवस्था, नियमित स्वास्थ्य जाँचको निशुल्क र सहज व्यवस्था, सूचना संकलनमा सहजताको वातावरण निर्माण लगायतका मागहरु अघि सारेको भएपनि त्यसमा ध्यान नदिइएकाले रिपोटिङमा जाने पत्रकारहरु समस्यामा परेको परेको बताए ।
उनले कोरोना संक्रमणबारे हल्ला बढि र यथार्थ कम आउने गरेको उल्लेख गर्दै विश्वसनिय श्रोतबाट आउने, सत्य समाचारहरुबाट, त्यसबाट जोगिने उपाय तथा सावधानीबारे विज्ञहरुको सल्लाहबारे, विश्वमा अपनाइएको विधिहरुबारे समाचार सम्प्रेषण गर्न सकेमा कोरोनालाई जित्न सफलता मिल्ने बताए ।

उनले राज्य तथा महासंघ र सम्वद्ध अन्य निकायहरुबाट आउने सेवामूलक कार्यक्रमहरु वास्तविक फिल्डमा खटिने पत्रकारहरुसम्म पुग्दै नपुगि भागबन्डामा सकिने गरेको आरोप लगाए । उनले कोरोना बिमाको हल्ला समेत त्यस्तै भएको बताए ।
त्यसैगरी उक्त कार्यक्रममा (माओवादी केन्द्र) का महासचिव कर्णजीत बुढाथोकीले कोरोनासँग जित्नका लागि मानिसको मनोवल बढाउदै उच्च सतर्कता अपनाउनुपर्ने र त्यसमा पत्रकारहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताए ।
उनले कोरोना विरुद्धको लडाईमा जनचेतना बढाउदै अघि बढेका पत्रकारहरुको लागि राज्यले उचित रुपमा स्वास्थ्य उपकरणको प्रवन्धसम्म नगर्नु कथित कम्युनिष्ट नामधारी सरकारको लज्जाजनक काम भएको बताए । उनले पत्रकारहरुलाई आवश्यक पर्ने सुरक्षा उपकरण राज्यले विना पक्षपात सहज रुपमा दिनुपर्ने बताए ।
त्यसका साथै प्रेस सेन्टर नेपालले देशभरका पत्रकारहरुको लागि आफ्नो संगठनले न्यूनतम रुपमा भएपनि कोरोनाबाट सुरक्षा हुने सामाग्रीहरु वितरण गर्ने बताएको छ ।