पर्सा ३१ जेठ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विभिन्न माग राखी सरकार विरुद्ध प्रदर्शन गरेको छ । बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । घरभाडा, विजुली महसुल, बैंक ब्याज, स्कुल फी मिनाहा गर्न माग गर्दै संघीय सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका नेविसंघका विद्यार्थीहरुलाई रोक्न खोज्दा प्रहरी र विद्यार्थीबीच झडप भएको छ ।
सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले भनिरहेको बेला वीरगंजमा विभिन्न मागसहित विरोध प्रदर्शनलाई रोक्न खोज्दा प्रहरी र विद्यार्थीबीच झडप भएको छ । झडपको क्रममा प्रहरीले लाठी चार्ज समेत गरेको छ, जहाँ ६ जना विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घण्टाघरबाट विकास तिवारी, ठाकुरराम इकाइ सभापती मनोज साह, जिल्ला उपाध्यक्ष शेष, सहसचिव रमेश यादव, पुर्व प्रदेश सदस्य अभय कर्ण, श्याम गुप्तालाई पक्राउ गरेको हो ।
घरभाडा, विजुली महसुल, बैंक ब्याज, स्कुल फी मिनाहा गर्न माग गर्दै आन्दोलनमा उत्रिएका नेविसंघका विद्यार्थीहरुमाथि प्रहरीले हस्तक्षेप गरेपछि विवाद उत्पन्न भई विद्यार्थी नेता र प्रहरीबीच झडप भएको थियो । कोरोना भाइरस महामारी नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै उनीहरुले तीनै तहको सरकारको विरोधमा प्रदर्शन गरेका थिए । वीरगंजको महाबिर स्थान चोकबाट सुरू भएको प्रदर्शन घण्टाघर चोकमा आएर टुंगिएको थियो ।

प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको पुतला दहन समेत गरे । क्वारेन्टिनमा राख्ने कि छोड्ने भन्नेमा छलफल भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजित कुँवरले जानकारी दिए । ‘महामारीको समय छ, भिडभाड गर्नुहुन्न भन्ने हो । अझ विद्यार्थी जस्तो सचेत वर्गले त्यसो गर्नु नै हुन्न ।’ डिएसपी कुँवरले भने ‘भिडभाड गर्दै भएको प्रदर्शन शंकास्पद देखियो, त्यसैले उनीहरुलाई क्वारेन्टाईनमा बस्नुपर्छ भनेका हौं ।’
