वीरगन्ज ३१ जेष्ठ । वीरगन्जमा बेवारिसे अवस्थामा मृत भेटिएका एक युवक सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जमा जेष्ठ २८ गते वीरगन्जको घण्टाघर छेउकै विपी उद्यान परिसरमा मृत अवस्थामा भेटिएका अन्दाजी २५ वर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो। उनको नाम, ठेगाना र पहिचान भने खुल्न सकेको छैन।
प्रहरीले बेवारिसे अवस्थामा भेटिएको उनको शव त्यहाँबाट उठाएर नारायणी अस्पतालमा पोष्टमार्टमका लागि पठाएको थियो।
जेष्ठ २८ गते नै शवको पोष्टमार्टम गर्ने क्रममा चिकित्सकले मृतकको स्वाब नमुना पनि लिएका थिए। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर जाँचमा ती पुरुषको स्वाबको रिपोर्ट शुक्रबार राति पोजिटिभ आएको अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी दिए।
संक्रमण पुष्टि भएको शव नारायणी अस्पतालकै शवगृहमा राखिएको छ। शवको पोष्टमार्टम रिपोर्ट नआइ सकेकाले ती पुरुषको मृत्यु कोरोना वा अन्य कुन कारणले हो भन्ने यकिन भइ नसकेको डाक्टर सिंहले बताए । भारतबाट आएका अरु ५ जनामा समेत कोरोना सक्रमणको पुष्टि भएको छ ।
वीरगन्जको कन्टी इन होटलको क्वारेन्टाइनमा बसेका २ जना र सखुवा प्रसौनी गाँउपालिकाको क्वारेन्टाइनमा बसेका ३ जनामा पनि शुक्रबार राति संक्रमण पुष्टि भएको हो।
कन्टी इन होटलको क्वारेन्टीनमा १२ दिनदेखि बसेका वीरगन्ज ५ कुम्हाल टोलका ३४ वर्षीय महिला र १९ वर्षीय पुरुषमा शुक्रबार राति संक्रमण पुष्टि भएको हो। उनीहरु दुवै जना एकै परिवारका सदस्य हुन्। त्यसैगरी सखुवा प्रसौनी गाउपालिकाका ३ बषिर्य बालक, १५ बर्षिय किशोर र ३० बर्षिय महिलामा कोरोना सक्रमणको पुष्टि भएको हो ।
यसै गरि निमोनियाले ग्रस्त ५ वर्षीय बालकको मृत्यु पश्चात आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ।
बाराको निजगढका ५ वर्षीय बालकको वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रवार मृत्यु भएको थियो ।
निजगढबाट ल्याइएका उनलाई शुक्रबार ११ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो ।
निमोनियाले ग्रस्त उनको दिमागको नसा सुकेको हुनसक्ने चिकित्सकले अनुमान गरेका छन् ।
चिकित्सकको सल्लाहअनुसार भेन्टिलेटरमा राख्न पूर्व र्यापिड डायग्नोस्टिक टेस्ट ९आरडीटी० परीक्षण गरिएको थियो ।
आरडीटी रिपोर्ट पोजेटिभ आएको छ । स्वाब संकलन गरेर पीसीआर टेस्टका लागि पठाइएको अस्पतालका सञ्चालक डा। अबुल हैस अन्सारीले बताए ।
बालकको शुक्रबार साँझ नै मृत्यु भएको छ, स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि नारायणीको ल्याबमा पठाएको थियो। आज बिहान बालकमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिघले जानकारी दिनु भयो ।
कोरोनाको संक्रमण पुष्टि भएका बालकको शवलाई नेपाली सेनाको टोलीले निजगढमा लगेर दाहसंस्कार गरिने छ ।




