वैदेशिक हस्तक्षेप र लम्पसारवाद

वैदेशिक हस्तक्षेप र लम्पसारवाद

  • बुधबार, जेष्ठ २८, २०७७
  • – नारद पोखरेल

  • 14.1K
    SHARES

वर्तमान विश्वमा ठूलाले सानालाई धनिले गरिबलाई सधैंं प्रभावमा पार्नखोज्छन् । राजनीतिमा यो सूत्र प्रयोग गर्दै ठूला देशले साना माथि थिचोमिचो गरेकाछन् । विशेषतः शक्तिशालि भनिने देशको बोली र व्यवहारमा समानता पाईंदैन । आज ठूला र शक्तिसम्पन्न राष्ट्रले साना मुलुकमा आफ्नो अद्यिपत्य लाद्न अनेकौं हतकण्डा प्रयोग गरेकाछन् । नेपाल पनि त्यसबाट अछुतो रहनसकेन । पूर्खाले जोगाएको यहाँको विशिष्टतामा धावा बोल्दा लोकतन्त्र निम्छरो देखियो । विदेशी लगानीमा केही प्रायोजित पात्र भित्र्याइएको छ । तिनको नांगो नाच संसदमा समेत देखिन्छ । त्यस्तो विभत्स खेल निरुत्साहित पार्नुको साटो विदेशी मालिक रिझाउन नेपाली अनुहारका खलपात्रहरु ब्यग्रछन् । यिनीहरुको चरित्र हेर्दा नागरिकमा लज्जाबोध हुन्छ । अब त सिमा नाघिसक्यो । सहनुको पनि हद हुन्छ । वर्षाैदेखि सिमा अतिक्रमण भएकोछ । सरकार बनाउने र बिगार्ने काम उतैबाट हुन्छ । कहिले अंगिकृतबाट मूल बासीमाथि दमन गर्नलगाइन्छ । कहिले अरौटे खटाई उसको स्वार्थमा बोल्न लाइन्छ । एकातिर वार्ताद्वारा मिलाउछौं भन्ने, अर्काेतिर हाम्रो भूमिमा सडक उद्घाटन गर्ने ? कस्तो जबर्जस्ती हो यो ?
धनि तथा ठूला देशले यहाँको प्रगतिलाई भन्दा उनीहरुको चाहनालाई केन्द्रमा राखेर लगानी गर्छन् । यसको पछिल्लो उदाहरण Millenium Challenge Corporation (एमसीसी) अनुदानमा अमेरिकी चासो हो । त्यसैगरि कालापानी क्षेत्रमा भारतले सडक उद्घाटन गर्दा चिनले चुँ सम्म नगर्नुलाई पनि ठूला देश भनिनेको चरित्र उदाङ्गो हुन्छ । मित्रराष्ट्र भारतको हेपाहा शैली कालापानी क्षेत्रमा मात्र सीमित छैन । सके यहाँको आन्तरिक व्यवस्थापनमा हात हाल्ने नसके तराईमा स्वामित्व स्थापित गर्ने उसको रणनीति नै हो । विगत लामो समयदेखि यही नीति अन्तर्गत काम भएको छ । यस तथ्यलाई स्वयं भारतीय बुद्धिजीविले उद्घाटित गरेकाछन् । सरदार पटेलले नेपाल निल्ने योजना बनाएको त्यतिबेलै हो । उसको हुती र सामाथ्र्य नपुग्दा मात्र हात हाल्न नसकेको हो । अहिले सरदार पटेललाई आदर्शपुरुष मान्ने भारतीय जनता पार्टी सत्तामा छ । यसबाट पनि प्रष्ट हुन्छ भारतको नेपालप्रतिको दृष्टिकोण कस्तो छ भन्ने । यहाँभने त्यही पुरानो कुटनीतिको त्यान्द्रो समात्ने काम मात्र हुन्छ ।अवधि सकिएको कुटनीतिले भारत टेर्दैन । यसका लागि दृढ कूटनीति र प्रहारयुक्त राजनीति नै उत्तम उपाय हुन्छ । जसमा निष्ठाको जगबाट उठेको नेतृत्व हुनुपर्छ । त्यस्तो चमत्कारीक नेतृत्व देशले पाएन । अहिले त उसैले (भारत) बाह्रबुदे मार्फत दाईजोमा दिएको राजनीतिक प्रणाली प्रयोगमा ल्याइएको छ । यहि प्रणालीको निरन्तरतामा योग्य पात्र पाउने सम्भावना न्यून छ । नक्सा प्रकासित हुँदा थोरै भएपनि नागरिकमा आशा पलाएको हो । सरकारले देखाएको साहसको सह्राना पनि भएकोछ । यो अवस्थामा राष्ट्र एक हुनुपर्छ तर मुलुकको अखण्डता र स्वाधिनतामा समेत कित्ता काटको अभिनय मंचन गरियो । गर्छु भन्नेलाई साथ समर्थन दिंदा मात्र गर्नेले पनि सार्थक परिणाम दिनसक्छ । यहाँ त्यसो हुँदैन । समयले छाडेपछि गर्छु भन्दा पनि पाइदैन । अब चेतनाको बिर्काे खुल्दैछ । छुट्टै बहिखाता राख्ने कार्यको प्रारम्भ भएकोछ । को बिक्री भए को विक्रीमा राखिएकाछन् त्यसको लेखाजोखा स्वयं नागरिकले गर्नेछन् ।

एमसीसीले हित गर्छ वा अहित गर्छ ? यस विषयमा प्रशस्त बहस भएकोछ । गरीब राष्ट्रलाई डलरको लालीपप देखाई आफ्नो स्वार्थ सिद्दगर्न सम्पन राष्ट्रको अभिष्ट हुन्छ । सहयोग गर्नेले पनि गड्यौला देखाएर माछा फसाउँने काम रोक्नुपर्छ । धनि राष्ट्रले विनास्वार्थ लगानी गरेको विश्व राजनीतिमा भेटिंदैन । वुुद्धको भूमि, सगरमाथाको देश भनेर कसैले लगानी गर्दैन । खर्चको अनुपातमा नाफा हेरेर लगानी हुन्छ । त्यसलाई उनिहरुले अनुदान वा सहयोगको नाम दिन्छन् । यहि कारणले एमसीसीलाई सहयोग मात्र सोच्ने मुर्खता कसैबाट नहोस् । व्यक्ति र दलपिच्छे फरक परिभाषा नगरियोस् । देशलाई केन्द्रमा राखेर सम्झौताका हरेक दफाको विवेचना गर्ने हो भने एमसीसी बुझ्न फरक चम्माले हेर्नै पर्दैन ।
शक्तिशालि देशले कमजोर राष्ट्रलाई कसरी गिजोल्छन् भन्ने दृष्टान्त अफ्रिकि देश सोमालियालाई हेरे पुग्छ । यिनीहरुकै षड्यन्त्रका कारण अफ्रिकाका प्रायः देशमा कुनै न कुनै प्रकारको द्वन्द थियो । तथापि केही देशले आफ्नै बलबुताले द्वन्द समाधान गरे । श्रोत साधान भएर पनि नेतृत्व असक्षम हुँदा राष्ट्रले बर्बादी व्यहोर्नुपर्छ । सन् १९६९ सम्म सोमालिया एक लोकतान्त्रिक देश थियो । त्यही वर्ष सियाद बर्रेले त्यहाँ सत्ता कब्जागरे । बर्रेलाई तत्कालिन सोभियत संघको पूर्ण समर्थन थियो । त्यही आडमा उसले सत्ता हत्याएको हो । समस्या त्यतिबेला बल्झियो, जतिबेला इथियोपियामा रहेको केही भूमी बर्रेले दावी गर्यो । त्यो घटनामा सोभियतसंघ सोमालियाको विपक्षमा उभियो । उसले इथियोपियालाई साथ दियो । त्यहाँ अमेरिकाले नियालिरहेको थियो । उसले ठूलो धनरासी खर्चगर्छु भन्दै सोमालियामा प्रवेश गर्यो । अमेरिकी सहयोगमा विरोधीलाई छानीछानी मार्नेकाम सियाद बर्रेले गर्यो । अमेरिका प्रवेशको परिणाम देशैभरि विद्रोहको आगो दन्कियो । त्यो गृहयुद्ध थेगी नसक्ने भयो । निरंकुश शासक सियाद बर्रेले भाग्नुपर्यो । त्यहाँ यतिसम्म विकराल स्थिति आयो कि मान्छेले मान्छेलाई चिन्ह गाह्रो पथ्र्याे । एकातिर गृहयुद्धले देश जर्जर छ, अर्काेतर्फ भोकमरी र रोगब्यादीले मानिस आक्रान्त छन् । परिस्थिति दिनानुदिन भयावह भयो । त्यस्तोमा के राष्ट्र कता जनता ? को आफ्नो को पराई ? थाहा पाउने अवस्था थिएन । थियो भने एकमुठी सास अडिने साधनको खोजी र खाँचो थियो । धनी र ठूला राष्ट्रको सहयोगको परिणाम कतिसम्म घातक हुन्छ भन्ने दृष्टान्त सोमालियाको घट्नाबाट बुझ्न सकिन्छ ।
सक्षम नेतृत्व हुँदा देश बलियो हुन्छ । असक्षम नेतृत्वले मुलुकको भविष्य नै अनिस्चित गर्छ । यहाँ पनि त्यही भनाई सार्थक भयो । प्रजातन्त्र पुनस्र्थापना भएको आज ३० वर्ष नाघेकोछ । यत्तिका वर्षसम्म मुलुक जीउँका तिउँ रहनु नेतृत्वको असक्षमताले नै हो । राज्यसंयन्त्र कमजोर हुँदा जहाँ पनि विदेशीले प्रहार गर्छन् । यो अनौठो होइन । त्यसलाई परास्त गर्नु नेतृत्वको सफलता मानिछ । अन्यथा नागरिकले खराव परीणति व्यहोर्नुपर्छ । असल मित्र त्यहि हुन्छ, जसले दुःखपर्दा साथ सहयोग गर्छ । अरु बेला फुरुङपार्ने परेको बेला छुराघोप्ने कार्य सत्रुले मात्र गर्छ । नेपालीले छिमेकीसँग सधैं मित्रवत व्यवहारको अपेक्षा राखेकाछन् । भारत कतिसम्म असल मित्र हो भन्ने उसको व्यवहारमा भरपर्छ । पशुपतिनाथ र मुक्तिनाथमा पूजा गरी फुलपाती चढाउँदैमा मित्र हुँदैन । भूकम्पले थला परेको बेला झण्डै छ महिनासम्म नाकाबन्दी गराएर भारतले हामीमाथी बिर्सन नसक्ने गुन लाएकोछ । त्यही गुनले हाम्रो आचरण र बानी व्यवहार सुध्रिनुपर्ने हो । अहिलेसम्म छिमेकीको मति पनि सुध्रिएन, नेपालीको गति पनि फेरिएन । जबसम्म नेपालीको गति फेरिंदैन तबसम्म विकासको गतिले सार्थकता पाउने छैन । निर्वाचनमा यिनै पात्रको पुनरावृति हुनेछ ।
भारत, चीन हुन् वा पश्चिमा देश हुन् कसैले पनि सहयोग गर्छन् भने त्यसमा उनीहरुको स्वार्थ लुकेको हुन्छ । अनुदान भन्दैमा हौसिनु उचित हुँदैन । सानो भएपनि ठूला शक्तिसम्पन्न भनिने राष्ट्रभन्दा नेपाल पुरानो देश हो । विश्वमा यसको अलग्गै महत्व छ । हजारौं वर्षदेखिको सभ्यता संस्कृति र विशिष्ट प्रकारको परम्परा बोकेको मुलुक हो नेपाल । नेपाली नागरिक हुनपाउँदा गर्वको अनुभूति हुनुपर्छ । त्यही नै राष्ट्रभक्ति हो । आज त्यसैमा आक्रमण भएको छ । जात धर्ममा कित्ता काटिएको छ । क्षेत्र र समूदायमा भागवण्डा गरिएको छ । यस्तो हुनुमा हाम्रै कमजोरी हो । विदेशीले त खेल्नपाउँन्जेल मज्जाले खेल्छन् । जति खेल्नसक्यो त्यति उसलाई सफलता हातलाग्छ । सजग हुनुपर्ने त हामीले हो । आफ्नो पोको बलियो नबाँध्ने अरुलाई मात्र दोषलाउने प्रवृति राम्रो मानिदैन । एक दुईजना राष्ट्रघाती भए भन्दैमा सबै खराब हुन्छन् भन्ने छैन । भिमसेन थापामाथि पनि षड्यन्त्र भएकै हो । अन्ततः उनले सेरिएर मर्नुपर्याे । गान्धीलाई गोली ठोकिएकै हो । मुलुकको अस्तित्व बचाउन लाग्दा व्यवधान अवश्य आउँछ । व्यवधानदेखि आत्तिनुभन्दा त्यसलाई सामनागर्नु उत्तमकर्म मानिएको छ । मुलुक संचालन गर्न सजिलो हुँदैन । ठूलो त्याग र समर्पण चाहिन्छ । साहस धैर्यता र विवेक प्रयोग गर्न सक्ने पात्रले मुलुकलाई सही मार्गदर्शन गर्छ । केही अपवाद छोडेर आजसम्म विवेकहिन पात्रले मुलुकको नेतृत्व गरे ।
सहयोग र समर्थन सबैको चाहिन्छ तर त्यसमा नियत सफा हुनुपर्छ । सफा नियतबाट प्राप्त हुने सहयोग प्रत्युत्पादक बन्दैन । सुनको पलंग देखाएर थाङनामा सुताउने कार्यलाई उचित मान्न सकिंदैन । संविधानमा लोकतन्त्र लेखेर मात्र पुग्दैन । लोकतान्त्रिक चरित्र देखिनुपर्छ । अहिले प्रजातन्त्रको दुरुपयोग मात्र होइन अपव्याख्या समेत भएको छ । प्रणालीले देश चिन्नसक्दा सक्षम नेतृत्वको जन्म हुन्छ । यहि माटोमा दिक्षित नेतृत्व पाउँनसक्दा राष्ट्र बलियो बन्छ । देश सानो होस् वा ठूलो, आफ्नै बुतामा बाँच्नसक्ने चेतना नागरिकमा जाग्नुपर्छ । तब मात्र लम्पसारवादको समूल नष्ट भई गुमेको साख पुनः प्राप्त हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी