जेष्ठ २५ धादिङ । गजुरी गाउँपालिकाका उपप्रमुख सीता ढुंगानाले आज आफ्नो जन्मदिनको अवसर पारेर गजुरीको खाद्य बैंकमा ३०० किलो चामल र ५० किलो दाल जम्मा गरेकी छन् ।
कोभिड–१९ को महामारीका बीच आफैले बनाएको अबधारणा बमोजिम गरीब तथा अति विपन्न परिवार र दैनिक ज्यालादारीमा जीवन व्यतित गरिरहेका नागरिकलाई लक्षित गरी सुरु गरिएको उक्त खाद्य बैंकमा आफै दाताको रुपमा उनले यो सहयोग गरेकी हुन् ।
संघीय सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक बर्ष ०७७÷७८ को बजेटमा खाद्य बैंक को अवधारणा कार्यन्वयनमा ल्याइनेछ भन्ने कुरा प्रस्तुत गर्दा आफू खुसी भएको उनले बताईन् । ूउक्त घोषणापछि धेरै जनाले फोन तथा म्यासेजबाट गजुरी गाउँपालिकालाइ बधाई छ भन्नू भयो जुन कुराले जनताको सेवामा अझ अग्रसर हुने प्रेरणा प्राप्त भयो, ढुंगाना बताउँछिन् ।

उनका अनुसार यो बिहान बेलुकी छाक टार्न कठिनाइ भएका नागरिकको चुल्हो बाल्ने अभियान हो । हालसम्म गजुरी गाउँपालिकाले सबै वडाको अति विपन्न परिवारको लगत संकलन गरी करीब ३००० परिवारलाई खाद्यान्न वितरण गरिसकेको छ।
पीएचडी स्कलर समेत रहेकी उपप्रमुख ढुंगानाका आफ्नै गाउँपालिका र अन्य बिभिन्न ठाउँको अध्ययन र अनुसन्धान पश्चात् नेपालका कान्तिपुर लगायतका पत्रपत्रिका र विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रतिवेदन समेत प्रकाशित भइसकेका छन् ।
उपप्रमुख ढुंगानाले गजुरीबासी जनता तथा आम नागरिकहरुमा जन्मदिन, स्मृति दिवस, विवाह बर्षगाँठ लगायतका कामहरुमा गरिने खर्च कटाएर गाउँपालिकाले संचालन गरेको फुड बैङ्कमा खाद्यान्न जम्मा गरि विपन्न परिवारलाई सहयोग गर्न आग्रह गरेकी छन् ।