आफैँले झारेको आँसु
नदी बनेर
अन्तै कतै बगेपछि
एक्लै रोइरहेको बगरमाथि
आधा बुनिएको सपनाको गुन्द्री
बिचैमा बिट मारेर
यो घाम अस्ताएको गाधूलिछेउ
मेरी बसुन्धरा,
आज एक ठेकी दुःख जमिरहेछिन् !
तलाउको डिलमा बसेर
जिन्दगीको टाँगो टगाउन नभ्याउँदै
थाहै नपाई आज
समयको बल्छीमा माछी अल्झिरहेछिन् !
दुर्घटित मनका मझेरीहरूमा
भरोसाको अन्तिम फेवाताल सुकेपछि
सिमकुखुराले छोडेर
एक्लै टोलाइरहेका रैथाने गुँडहरूमा
मेरी बसुन्धरा,
आफ्नै चुल्ठोका लालपुर्जाहरू खोजिरहेछिन् !
रहरैरहरको तरुनी जूनलाई
खामबन्दी मनका
अँध्यारा खोरहरूमा थुनेर
सुत्केरी रातका कालिमाहरूभित्र
बूढो जाँतोका नीरव दाँतहरूले
उमेरको घण्टाघर फनफनी घुमाइरहेछिन् !
जीवनको अग्लो भीरबाट
भरोसाको उचाइ गिर्न थालेपछि
अविश्वासको हिउँले खाएको धौलागिरिलाई
उदाउँदो घामले छठ नुहाएर
मेरी बसुन्धरा,
यतिखेर तन्नेरी माक्र्सहरू हुर्काइरहेछिन् !
पीडाका अन्तहीन हिमशृङ्खलाहरू
मखमली विचारका
तीखा झम्पलहरूले भत्काउँदै
आजभोली खै किन हो कुन्नि
जङ्गली चराहरूको उन्मुक्ति गाइरहेछिन् !
मालीका मुस्कानहरूले
फूलमाथि नै करौंती चलाएपछि
यो खग्रास मडारिएको आकाशमुनि
मेरी बसुन्धरा,
जीवनका लाचार पर्खालहरू भत्काइरहेछिन् !
मस्तिष्कका ऐनाहरूमा
आफ्नै जीवनको सुन्दरता निख्रिएपछि
विनिमयको कालो बजारलाई
क्रस फायरका रछ्यानहरूमा मिल्काउँदै
सपना मारिएको यो कालापत्थरमा
समयका नेतीहरू चुँडाएर
मेरी बसुन्धरा,
आजभोली कलिला छापामारहरू हुर्काइरहेछिन् !