कैलाली, जेठ २४ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना संक्रमण पुष्टि भएमामसगै उनको मलामी को को गएका थिए भनेर खोजी शुरु भएको छ ।
शुक्रबार मध्याह्न १२ बजे उनको सेती अस्पतालको ‘डायलासिस वार्ड’मा मृगौला पीडित ती महिलाको मृत्यु भएको थियो ।
उनको शनिबार बिहान अन्त्येष्टि भइसकेको वडा नम्बर–४ का अध्यक्ष दीपक थापाले जानकारी दिए । उनको मोहना घाटमा अन्त्येष्टि गरिएको थियो ।
अन्त्येष्टिअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।
मृत्युपछि उनको संस्कारअनुसार अन्त्येष्टि भइसकेको बताउँदै कार्कीले स्वास्थ्य कार्यालय अहिले ‘ट्रेसिङ’मा जुटेको बताए ।
कोरोनाको रिपोर्ट नआउँदै परिवारका सदस्यलाई शव दिएर अन्त्येष्टि भएपछि अहिले मृतकको टोलमा त्रास फैलिएको छ ।
लामो समयदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी पहिलोपटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेकी थिइन् । डायलासिसअघि उनको ‘आरडीटी रिपोर्ट’ भने ‘नेगेटिभ’ आएको जनाइएको छ ।
मृतकमा कोरोना पुष्टि भएपछि अस्पतालको डायलासिस वार्ड ‘सिल’ गरिएको छ ।
मृतक महिला यसअघि काठमाडौंबाट उपचार गराएर फर्किएको समेत बताईएको छ ।