समाचारका मुख्य शीर्षक पढ्दै गर्दा
झल्याँस्स ब्युँझियो
अनि घोषणा गर्यो लकडाउनको
फेरि निदाएझैँ गर्न थाल्यो घुम्ने मेचमा ।
महामारीको प्रकोप
डर, त्रास र पीडा
आशा, भरोसा र केही विश्वास
लकडाउनको अवधि बढ्दै गर्दा
बाहिरिन थाल्यो
अभाव, भोक र रोगले थलिएको
मधुरो चित्कार ।
फेरि झल्याँस्स ब्युँझियो
सकियो करोडौँकरोड राज्यको ढुकुटी
रोकिएन, अभाव, भोक र
रोगले थलिएको चित्कार
तर
रमाए ! आसेपासे, झोले,
अरिङ्गाल र बारुला
अनि
मैमत्त साँढेका अवतारहरू ।
निदाएको स्वाङ पार्नेको भर नपरी
उठे केही सहयोगी हातहरू
अभाव, भोक र रोगले
थलिएकाको आँसु पुछ्न ।
ब्युँझियो ऊ !
थपियो लकडाउन फेरि पनि
समातिए र थुनिए
केही ती सहयोगी हातहरू
कमिसन नपाएको झोक र
गाउँ–गाउँमा पुगेको सिंहदरबारलाई
कुत नबुझाई, राहत बाँडेको आरोपमा ।
लकडाउन थप्दै
बसेका छन् अँध्यारोमा गल्ली छेकेर
आफ्नो उपस्थिति जनाउन
भोको पेट र नाङ्गा खुट्टालाई सराप्दै
कालो कर्तुत लुकाएर
निर्धक्क निदाउन नसकेपछि
पुनः झल्याँस्स ब्युँझियो ।
पीडित जनताको न्यायका लागि
आवाज उठाउनेलाई
घर, अस्पताल र न्यायालयको
ढोकाबाटै पक्राउ गरेर
कालो कर्तुत लुकाउन व्यस्त छ
राज्यआतङ्क मच्चाउँदै ।
गरिबी होइन सरकारी योजना
गरिब हटाऔँ भएपछि
चाहे महामारीले होस् वा भोकमरीले
मर्नु त छँदै छ जसरी पनि ।
भोकोपेट मर्नुपरे सङ्क्रमित भएर
सुरक्षित रहनेछैनौ अघाएका कोही पनि
गुन्डागिरी, लूट, दलाली
भ्रष्टाचार र राज्य आतङ्कले नै
शान्ति र समृद्धि आउने भए
बन्द गर कानुनी राज्यको नारा
हटाऊ न्यायालयका साइनबोर्डहरू ।
जब ब्युँझिनेछन् पीडितजन
होस गर !
जति बहाना बनाए पनि
जति आरोप लगाए पनि
पूर्वाग्रही भएर
राजनीतिक प्रतिशोध जति साधे पनि
लुक्दैन तिम्रो निर्लज्ज कुरूप अनुहार ।
डर पाल्नु सधैँ किन ? सत्यको बाटोमा हिँडेपछि,
गुमाउनु नै के छ र ! सबै गुमिसकेपछि ।
सत्य त सत्य नै हो
झुक्छ/झुकाइन्छ झुटो एक दिन पक्कै पनि ।
५ जेठ, २०७७