कोभिड-१९ महामारीका कारण अहिलेको समयमा प्रत्येक मानिसहरुको नियमित कार्यमा अवरोध पुगेको अवस्था छ । मानिसहरुले आफ्ना लागी बनाएका सबै प्रकारका योजनाहरु थाति रहेका छन् । जीवनका लागी मानिसले लिएका मौजुदा निर्णयहरु पनि प्रक्रियागत रुपमा चलाएमान हुन सक्ने स्थितिमा छैनन् । आज मानिसको दैनिकिको नियमित कार्य तथा निरन्तरतामा दिन प्रतिदिन असर परिनै रहेको छ । नेपालमा मात्र नभएर विश्वका मानवजातिको सम्पूर्ण जीवनको नियमिततामा अवरोध सिर्जना हुनपुगी व्यापक र भयङ्कर क्षति सहितको अकल्पनीय स्थिति व्यहोर्न मानवजाति विवस रहेको यथार्थ हामी माझ छ । यो सङ्कट दिन प्रतिदिन एक व्यक्तिको व्यक्तिगत सरोकारको विषयमात्र नरही संगठनात्मक, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा समेत पुगी व्यापक र विस्तारित हुदै गएको भयाबहको स्थिति निम्तन सक्छ । मानब जातिको अस्थित्वमाथि नै हमला बोलि रहेको सुष्म अति सुष्म कोरोना भाईरस नाम दिईएको कोभिड १९ महामारीको संङ्कट मानव जीवनको जीवनचक्र माथि दिन-प्रतिदिन असैय प्रश्न खडा गरिरहेको छ । आज संसारको मानवजातिले शान्ति र सुख सहित निर्धक्क भएर स्वास फेर्न पाईरहेको छैन । यसको नियन्त्रण असहज र नियन्त्रण बाहिरको स्थितिमा रहेकोले मानीसहरु कोहि आफ्नो घरमा आफ्नो परिवार संग छन् भने कोहि विदेशमा कोहि आफ्नो कार्यक्षेत्रमा जहाँ छन् त्यहि नै बन्दाबंदीको स्थितिमा बस्न बाध्य छन् । अनिश्चित र अनपेक्षितरुपमा उत्पन्न यस भयानक महामारीको संक्रमणका कारण गम्भिर परिस्थितिको सामाना गर्नका लागी मानवजाति विवस रहेको यथार्थ हामी सबैले अनुभूति गर्न सक्ने अवस्था उत्पन भएको छ ।
मानवजाति सहित सिङ्गो प्राणीजगतलाई आवश्यक पर्ने प्राकृतिक श्रोतसाधन उपलब्ध गराउने र जैविक चक्रलाई निरन्तरता दिने ठुलो क्षमता हाम्रो प्रकृतिसंग हुन्छ । जसले मानवीय आवश्यकता, उत्पादन, आपूर्ति, उपभोगलाई सन्तुलनमा राखी सम्पूर्ण प्राणी जगत र समाजलाई जीवन्त राख्दछ । यस संसारका प्रत्येक बस्तुहरु भिन्नाभिनै रुपमा देखिए पनि यी सबै प्रकृतिको नियमद्वारा चलायमान छन् । तसर्थ, प्रकृतिको त्यस्तो क्षमतालाई संरक्षण गर्दै आउदो पुस्ताहरुले पनी प्रकृति संगै जोडिएका विकासका प्रतिफलहरु निरन्तर उपभोग गर्न सकुन भनेर आज दिगो विकासको प्रक्रियालाई निरन्तरता दिन जरुरि ठानिएको छ । तर पनि विश्व आज रोगको महामारी र भोकको तृष्णाबाट छट्पटीन बाध्य छ । मानिसले अब जीवनमा सकारात्मक सोचका साथ सम्पूर्ण बस्तुको आआफ्नै वासस्थानमा जीवन फलाउने अनि फुलाउने अधिकार सम्पूर्ण ब्रमाण्डको विधानबाट सुनिश्चित गरिएको कुरा आत्मसाथ गर्न जरुरि देखिन्छ । यदि कसैले अरुको अधिकारमाथि आघात पुर्याउँछ भने आउदो भविष्यमा पिडकमाथि नै असर नपरी छोड्दैन भन्ने कुरा विश्वमा हरेक सताब्दिमा देखिदै आएका कोभिड -१९ जस्ता महामारी सङ्कटका रुपमा र भुकप्प, बाढीपहिरो जस्ता विपद्दहरुले समय समयमा मानवजातिलाई त्रासमा पार्दै आएको हामीले देख्न सक्छौ ।
वर पिपलको पुजा गर्ने,वेल संग विवाह गर्ने, पानी पधेराका रुख काटे पाप लाग्छ भन्ने, नदीलाई गंगा जलको रुपमा पुजा गर्ने, हाम्रा स्थापित परम्परा हुन् । हाम्रो संस्कृति र परम्पराले तोकिदिएको दायित्वहरु र कर्तव्यको पालना मात्र पुरा गर्ने हो भने प्राकृतिक स्रोतहरुको पूर्ण संरक्षण हुने कुरामा कुनै दुई मत छैन । जल, जमिन, सुर्य, वायु, अग्नि, बन्यजन्तु तथा बनस्पति र पशुपन्छी समेतलाई पुजा गर्दै प्रकृतिको रक्षा गर्न हाम्रो पूर्वीय दर्शन प्राचिन काल देखिनै मानव सभ्यताको संस्कार बन्न पुगेको छ । हाम्रो जीवन चलाउने स्रोत र विकास गर्ने स्रोतहरु प्रकृतिले नै दिन्छ र सन्तुलित वातावरणको साथै यस धर्तीका सम्पूर्ण जीवित प्राणीका लागी प्रकृति निशुल्क प्राप्त भएको उपहार हो भन्ने यथार्थ सबैले बुझ्न जरुरि छ । मानिस आफूखुशी सुखी र सम्पन रहनका लागि प्राकृतिक साधनको उपयोग गरि आफ्ना आवश्यकता पुरा गर्ने क्रममा प्रकृति माथि दबाब सिर्जना गरि रहेको छ । जसको कारण आज प्रकृतिमा अनेक प्रकारका असामान्य अवस्थाहरु सिर्जना भएका छन् । यसको संरक्षण, सम्वर्धन, प्रवर्धन, सन्तुलन र दिगो विकास गर्नु हामी मानवजातिको भूमिका हो । प्रकृतिको अनुपस्थितिमा मानव जीवनको अस्तित्व कायम रहन कठिनै छ भन्ने जस्ता कुरालाई हाम्रो वेदका रिचा र गीतका श्लोकहरुने सदियौ देखि भन्दै आएको कुरा हुन् । यदि हामीले माटो र प्रकृतिलाई प्रेम गर्यौ भने यसले पनि हामीलाई अवश्य पनि निरास पार्दैन भन्ने कुरा यदि हामी जान्दछौ भने प्रकृतिको प्रेम र कृपा सधै हामीमा रहिनै रहन्छ भन्ने कुरामा कुनै शंखा नै छैन ।
कोभिड-१९ संक्रमण रोकथामका नाममा बन्दाबन्दिको समय लम्बिदै जाँदा देशमा आत्महत्याका घटना पनि उल्लेख्य मात्रामा बढ्दै गएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ । लकडाउन सुरु भएको चैत्र ११ देखि जेठ १० गते सम्ममा ९ सय ६३ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक भए संगै अब थप थुप्रै आत्म हत्याको घटना नघटलान भन्न सकिने अवस्था छैन । नेपाली कृषकहरुको धान रोप्ने समय नजिकिदै गर्दा घरखेतमा काम गर्ने परिवारका सदस्य आउने आशामा बाटो हेरीरहेका तर बन्दाबन्दिले किसान बाटोमा छटपटीनु परिरहेको अवस्था हामी माझ विद्यमान छ । नेपालको हिमाली जिल्लाहरु जस्तै जुम्ला, हुम्ला र मुगु आदि जिल्लाहरुमा किसानले मार्सी धान जेठ १ गते देखी नै रोप्न सुरु गरि सकेका छन् । ति जिल्लाका किसानहरु लकडाउन कै कारण यो वर्ष “मानो रोपी मुरी उब्जाउँन” आफ्नो खेतका आलिममा पुग्न सकेनन् । पहाडि र तराईका जिल्लाहरुमा रोपाईको सिजन नजिकिदै गर्दा अब सरकारले सुरक्षाका नीतिहरु अवलम्बन गरि कृषकलाई निर्धक साथ खेति गर्न हौसला दिन विभिन्न संचार माध्यम र घर दैलोको सरकारले अहम भूमिका निर्वाह गर्दै सरकार बास्तवमा घर घरमा पुगी प्रत्येक किसानको खेतको आलि(आलिमा उभिएको हेर्न किसानहरु आतुर छन् । यसका लागि सरकारले यथासिक्र पहलकदमी लिन जरुरि देखिन्छ ।
वातावरण बिज्ञानका क्षेत्रमा पनि वैदिक ज्ञान अर्थात हाम्रो पूर्वीय दर्शनले निकै महत्वपूर्ण सन्देश प्रवाह गरेको छ । हावापानी शुद्ध भएन भने रोगहरु फैलन्छन् त्यसले विकराल समस्या निम्त्याउन सक्छ त्यसकारण वातावरणलाई शुद्ध राख्नुपर्छ किनभने शुद्ध हावाले औषधी बोकेर ल्याएको हुन्छ र त्यसलाई दुषित बनाउनासाथ वातावरण विग्रन्छ । वेदले हावा, पानी, आकाश, पृथ्वी, सैर्यमण्डल सबैलाई सुरक्षीत राख्नुपर्छ भनेको छ : धौः शान्ती पृथ्वी शान्तिः रापः शान्ति रोषधय शान्तिः वनस्पतयः शान्ति यसैको उदाहरण हो ।
औषधि, वनस्पति, वायु आदि कुनै पनि कुरालाई प्रदुषण गर्नु नहुने कुरा ऋग्वेदमा स्पष्टरुपमा आएको छ । वैदिक समयदेखि नै वातावरण शुद्धताको अभियान चलाउनपर्छ भन्ने भावना जाग्रीत भएको यथार्थ हामीले वेदमा पाउन सक्छौ ।
अतः विश्वमा यस प्रकारका महामारीका सङ्कटहरु मानब ईतिहासको प्राचिन विन्दुदेखि नै देखा पर्ने गरेको ईतिहास हामी माझ नै छ । आज सम्मका अन्य स्रोतबाट जानकारी भएर रहेका प्राप्त तथ्यहरुमाथि अवलोकन गर्दा दिनको घामझै छर्लङ्ग छ कि यस्ता सङ्कट कैयौ पटक नआएका पनि हैनन् । यस्ता संकटको सामाना गर्दै मानिस आफ्नो जीवनलाई त्यहि नै नरोकी जीवन जिउनका लागी निरन्तर लागीपरि संघर्ष गर्दै आजको दिन सम्म आई पुगेको हो । अब हामीले प्रकृतिको सुन्दर उपहारलाई नास्ने(मास्ने र बिगार गर्ने नगरी यसको संरक्षण गर्दै विकासको समुचित सन्तुलन कायम गरि प्रकृतिले हामीलाई दिएको भन्दा केहि अवल वातावरण आउदो पुस्तालाई हस्तान्तरण गर्ने तिर ध्यान दियौ भने कोभिड १९ महामारिले सिकाएको सिकको सामाना भविष्यमाका पुस्ताले गर्नु पर्ने अवस्था सृर्जना नहोला । हाम्रो पूर्वीय दर्शनलाई आत्मसाथ गर्दै सम्पूर्ण मानवजातिले “हिर्दयमा ईमान्दारि, काधमा जिम्मेवारी र मस्तिष्कमा समझदारी पुर्वक” प्रकृतिलाई संरक्षण गर्दै विकासलाई निरन्तरता दिने हो भने सकारात्मक सोच, एक अर्कालाई हौसला र साथ दिन हामी तयार भयौ भने कोभिड -१९ महामारीलाई जित्न सक्ने आत्मविश्वास हामी सबैमा उजागर भई प्रकृति र वातावारण बचाउन हामी सफल हुने छौ ।
लेखक- अधिवक्ता हुन् ।