गणतन्त्रले समिक्षा गर्नुपर्ने प्रश्न : लक्ष्मण चौलागाईं विद्रोही

गणतन्त्रले समिक्षा गर्नुपर्ने प्रश्न : लक्ष्मण चौलागाईं विद्रोही

  • सोमवार, जेष्ठ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 37.3K
    SHARES

देश कता जादैछ ? सत्ता के गर्दैछ ? जनता कुन हालतमा छन ? क्रान्तिकारी योद्धाहरुको दुरावस्था कस्तो छ ? घाइते कसरी जिइरहेका छन ?  ७० लाख युवा विदेश पलायन हुदा मुलुकको अर्थतन्त्र कसरी ओराली लाग्दैछ ? आयात र निर्यातमा देशले कतिको भिन्नता हासिल गरेको छ ? अनि नेता र राजनेता कहाँ छन् ? जनता र देश कहाँ छ ? शिक्षा,स्वास्थ्य र रोजगार शाषित जनताले कतिको समान ढंगले पाइरहेका छन् ? हिजो गणतन्त्र ल्याउने लडाई जनयुद्ध लड्दा के भनियो र आज के भैरहेको छ ?  गणतन्त्र महलमा मात्रै छ कि जनताका झुपडीमा पनि पुगिसक्यो ?
यी माथिका १ दर्जन प्रश्नको समीक्षा दल बनाउनेहरुले, देश बनाउने विषयमा गरे भने गणतन्त्रको एक्स रे आफै हुन्छ । गणतन्त्र कतिको रोगी भएको छ ? त्यसको जवाफ यिनै प्रश्नहरुबाट समीक्षा गरे स्वतः थाहा पाइन्छ ।
आज मुलुकमा गणतन्त्रले १३ औं वसन्तका वर्षहरु गुजारिसक्यो। गणतन्त्रका अगुवाहरु अत्यन्तै व्यस्त भएका खबरहरु संचारमाध्यमहरुले फुकिरहेका छन्। देश बनाउनमा कोही अभ्यस्त देखिएका छैनन। बरु दल बनाउन अभ्यस्त जनयुद्धका सर्वोच्च कमान्डर स्वयम् अग्रपंक्तिमा छन। आशा गरौं माथी उल्लिखित एक दर्जन जनताका प्रश्नहरुको समीक्षा खुमल्टार र बालकोटले यो लक डाउनको अवधीमा दिलचश्पी दिएर सोच्ने छ।

यदि यी सवालहरु बारे खुमल्टार र बालकोटले बेलैमा सोच्यो भने देश बनाउने मन लिएर उनीहरु जरुर जुट्नेछन । नत्र अझै ८/१० वर्ष दलको सिंगारपटारमा उनीहरुको चोला फाट्ने निश्चित प्रायः छ।
अहिले मुलुकमा के भैरहेको छ ? पहिलो नम्बरमा भ्रष्टाचारले कालो वालपेन्टिङ गरिरहेको छ। दोश्रो नम्बरमा बेथितीले सीमा नाघेको छ। क्रमसंगै न्याय दिनप्रतिदिन मृत हुँदै गएको छ। सुशासन एकादेशको कथा भएको छ। सिमामाथी भारतीय हस्तक्षेप बढिरहेको छ। नागरिकको लागि त सरकार भएको हो कि नभएको हो, तर सत्ताधारी दलको निम्ति भने बैज्ञानिक समाजवाद उनिहरुका कार्यकर्ताको घर चुल्हो,चौको ,बुंईगल सम्मै पुगिसकेको छ। अनि ट्याग भिराइदिएका छन । समाजवाद पाइसकेका कार्यकर्ताहरुले आफ्ना नेताजीहरुलाई युग पुरुषको ,राष्ट्रवादको अनि भारत सँग झुक्दै नझुक्ने ओलीवादको जननायक र राष्ट्रनायकको ।
तर ती बाहेक २ करोड ९० लाख जनताको लागि यो कालखण्ड नेपालको इतिहासकै कालो कालखण्ड हो । कारण खोज्दा गणतन्त्र ल्याउनेहरुलाइ गरिएको प्रतिबन्ध अनि भ्रष्टाचार गर्नेहरुलाई आएको स्वतन्त्रताको शिर ठाडो अवस्था नै प्रष्ट टल्किएको छ। ठूलालाई चैन र सानालाई ऐन ठिंग उभिएको छ ।

मुलुकको कानुन बन्यो ,लोकतान्त्रिक गणतन्त्र उल्लेख गरिएको रातो किताब प्रत्येक वकिल,न्यायाधीश र अदालतहरुका दराज दराजमा पुगिसके। तर त्यो रातो कितावले बोलेका ,उल्लेख गरिएका दफा र उपदफा नै अशक्त जस्ता भएका छन। गणतन्त्रमा यो जात र उ जात उल्लेख गरेर जातीय हिंसाको बिज रोपिएको छ। जातीय कोटाका गणतन्त्रले जंगबहादुरको वि.सं १९१० को पहिलो नेपाली कानुनको पिछा गरिरहेको छ भन्ने अनुभुती हुन्छ । अनि समाजमा हेपिएर ,पेलिएर,अपहेलित भएर रहेको बर्गलाई अझै पनि यो गणतन्त्रमा दलित भनेर उल्लेख गरिदिएको छ। यो दलित नाम लिखत संविधान बाट विभिन्न जातजातिका नाम खारेज गरेर हामी आम नेपाली नागरिक भन्ने खाले संविधान नसच्याएसम्म यसले दलित र विभिन्न जातजातिलाई थिचिरहनेछ। दराजमा थन्किएको ठूलालाई चैन सानालाई ऐन कै कारण आज निर्मला पन्त र माया विकहरुका न्याय हराए,मैना सुनुवारहरुका अस्थिपन्जरहरु बाक्सामा कैद भइरहे ,१० वर्षको उमेरमा तात्कालीन शाही सेनाहरुले निमोठ्दिएका महान जनयुद्धकि अथक योद्धा निरु दर्लामी कुँवरकी छोरी महान सहिद निरजना कुँवरहरुका हत्याराहरुलाई कानुन लागेन । अनि छापिएको नया दफा र कानुन उपन्यासकारको कृति जस्तै भएर सजियो । न्याय गायब भयो।

सवालहरु खोतल्दै जाँदा नागरिकहरु कतिसम्म निरीह हुँदै गए ? जब कि हिजो भन्नलाई भनियो गणतन्त्र आएपछि शासक सेवक र जनता शासकका मालिक हुन्छन। तर विडम्बना । गणतन्त्र आएपछि शासक मालिक र जनता निरीह दास भएका छन। जनयुद्ध लडेर मुलुकमा गणतन्त्र ल्याएपछि सारा जनताको सुदिन आउँछ भन्ने विश्वासमा बलिभेदी चढेकाहरु गणतन्त्र आएपछि साउदीमा रेटिएका छन ,मलेसियामा जोतिएका छन ,कतारमा थुनिएका छन ,कुवेतमा कुटिएका छन । अनि उनै सत्तरी लाख नेपाली अमुल्य युवाशक्ती खाडीमाताको देश बनाउन खाडी भासिनु परेको विडम्बना हरेक वर्ष बढ्दो छ घट्दो छैन। अनि त्यही मध्ये देश र जनताको लागि मुक्तिको विगुल फुक्दै जनयुद्ध लडेको योद्दा जाजरकोटका जोधाहा नेपाल आमाको सपुत वीर बहादुर अर्थात क।संसारसेन पृथकको गतहप्ता उपर्चोटमा मलेसियामा असामयिक निधन भयो । उहाँको मृत शव नेपाल ल्याउन समेत कसरत नगर्ने गणतन्त्रका अभियन्ताहरुले हिजो जनयुद्धमा प्रयोग गरेर फालिएका योद्धाहरुको बेवास्ता गर्नु भनेको समग्रमा १० वर्षे जनयुद्धको सम्पूर्ण मर्मलाई नै समग्रमा भुल्नु हो ।

उनै दिवंगत कमरेड संसारसेन जो आफ्नो जीवनको आधा बाटोमा नै अल्पायुमै सदाका लागि बिदा भए । उनै संसारसेनकी धर्मपत्नी कमरेड प्रतिज्ञा चौलागाईंलाई आज मैले टेलीफोन सम्पर्क गरेर बुझ्दा उनी अत्यन्तै बेवारिसे र सहाराविहिन जस्ती भएकी छिन ।उनलाई कुनै सत्ताधारीका कुनै कार्यकर्ता जो हिजो जनयुद्ध लड्दा सहयोद्धा थिए उनीहरुले आज यो दुःखद घडीमा एक कल फोन गरेर सान्त्वना दिन समेत सकेन छन। हिजो संगै जनयुद्ध लडेर एक मुठ्ठी मकै पनि बाडिचुँडी खाएका सहयोद्धाहरुले यो शोकको घडीमा अलिकती सन्त्वनाको सद्भाव दिन नसक्नु बर्गविहिन समाजको उत्थान गर्नेहरूका बर्गीय माया कति छिटो पलायन हुन थालेछन ? भन्ने प्रश्न मनभरी उठिरहयो ।

आज प्रतिज्ञा चौलागाईं शोकाकुल अवस्थामा छिन। उता मलेसियामा मृत पतीको शव नेपाल ल्याउन के गर्ने कसो गर्ने के गरि ल्याउन सकिन्छ ? भन्ने मुख्य चिन्ताले उनलाई शोकको घडीमा समेत शोकाकुल हुन दिएको छैन। बरु पीडाको नुनिलो आँसु झार्दै त्यही आँसु पिउनुको अलावा उनको अरु कोहि छैन। यसैले भन्नू मन लाग्यो ,किन सत्ताधारी कमरेडहरु तपाईहरु मरेका सहिदको फोटो संजालमा पोस्ट गर्दै लाइक कमेन्टको व्यापार गर्नुहुन्छ ? अस्ति एक जना जेल ब्रेकरको मृत्यु भयो ,केही कमरेडहरुले मलाई उक्त न्युज मेसेन्जरमा सेन्ड गर्नुभयो। मैले मेरो वालमा शेयर गर्ने सम्मको बल गर्न सकिन मैले ।

कारण जिउदा जेल ब्रेकर उमा भुजेल सीलुहरु श्री ३ र श्री ५ ले बनाएका जिर्ण जेलमा यहि गणतन्त्रले थुनेको छ भने ती कालले चुँडेर लगेका जेल ब्रेकरको मृत्युले उनै कमरेड जेल ब्रेकरको आत्माले बरु मुक्ती पायो भन्ने महशुस गरें। लासको राजनिती गर्ने सत्ताधारी दलका औकातले भने मन बिजाइरहयो। अनि यी हरफहरु धेरै के कोरौं र खै मेरो कलम अगाडी बढ्न मानेन । वयवस्था त यहाँ बदलियो तर अवस्था एउटा राजतन्त्र फालेर हजारौं हजारको राजतन्त्र आएको विडम्बनाले यसलाई गणतन्त्र भनेर स्विकार गर्ने कुनै पनि कोण भेटिएन। धन्यवाद ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी