पर्सा १८ जेठ । पर्सा प्रहरीले विना कारण कुटेको भन्दै सरसफाईमा काम गर्नेहरुले काम नगरे पछि बीरगञ्ज दुर्गन्धित बन्दै गएको छ । पर्सा प्रहरी बिना कारण बारम्बार चिकित्सक, स्वास्थ्यकर्मी, औषधि व्यवसायी, बैंकर्स, सञ्चारकर्मी र सरसफाईकर्मीमाथि कुटपिट गर्नाले गरेको भन्दै बिरोध बढेको छ ।
पर्सा प्रहरीले बिना कारण शुक्रवार सरसफाइकर्मी माथि कुटपिट तथा दुव्र्यवहार गरेको भन्दै हडतालमा बसेपछि वीरगंज महानगरको सरसफाइ शनिबारदेखि ठप्प भएको छ ।
फोहोर उठाउन सडकमा निस्किंदा प्रहरीले कुटपिट गरेको भन्दै महानगरपालिकाका सरसफाइकर्मी हडतालमा बसेका हुन् ।
सरसफाइकर्मी हडतालमा बसेपछि शनिबारदेखि महानगरको फोहोर उठ्न सकेको छैन । जस्का कारण महानगरपालिका दुर्गन्धित बनेको छ । वीरगंज महानगरपालिकाले ठेक्का र आफ्ना कर्मचारीमार्फत महानगरको फोहोर उठाएर ल्याण्डफिल साइटमा लगेर व्यवस्थापन गर्दै आएको छ ।

सरसफाइमा खटिने कर्मचारीलाई प्रहरीले अवरोध गर्दै कुटपिटसमेत गर्न थालेपछि शनिबारदेखि सरसफाइकर्मी काममा नआएको महानगरको सरसफाइको ठेक्का लिएको पृथ्वी तारा एनके इन्टरनेशनल जेभीका निर्देशक शिव गुप्ताले बताएका छन् ।
शुक्रबार साँझ ठेलामा जम्मा भएको फोहोर ट्याक्टरमा हालेर ल्याण्डफिल साइटतिर लिएर जाने क्रममा माईस्थान चोकमा प्रहरीले सरसफाइ कर्मचारीलाई अवरोध गर्दै दुर्व्यवहार गरेका थिए ।
पटक–पटक प्रहरीबाट अवरोध, दुर्व्यवहार र कुटपिट हुन थालेपछि सरसफाइकर्मी शनिबारदेखि फोहोर उठाउन छाडेर हड्तालमा बसेका हुन् ।
कोरोनाको महामारीमा ज्यानसमेत जोखिममा राखेर खटिएका सरफाइकर्मी माथि प्रहरीले पटक–पटक अनावश्यक दुर्व्यवहार र अवरोध गरेकाले काम गर्न समस्या भएको सरसफाइकर्मीहरुले बताएका छन् ।

‘लडकाउनमा सडकमा डिउटीमा खटिएका प्रहरीलाई सरसफाइ कर्मचारीको परिचय पत्र र गृहमन्त्रालयले परिपत्र गरेको कागज देखाउँदा पनि प्रहरीले को हो गृहमन्त्रालय रु हामी मान्दैनौँ एसपीले जे आदेश दिन्छ त्यही गर्छौँ भनेर जवाफ दिन्छन्’ सरसफाईकर्मीले भने ।
वीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले लकडाउन पालनाको बहानामा प्रहरीले महानगरको सरसफाइमा पटक–पटक अवरोध गर्दै आएको बताए । कोरोनाको महामारीमा ज्यान जोखिममा राखेर काम गर्ने सरसफाइकर्मीलाई प्रहरीले अवरोध र दुर्व्यवहार गरेको चारपटक भइसक्यो’ , उनले भने, ‘सिडिओ र एसपीलाई भन्दाभन्दै म पनि थाकिसकेको छु ।’

यसअघि गत बिहीबार सरसफाइ कर्मचारी छोटेलालप्रसाद कुश्वाहालाई प्रहरीले कुटपिट गरी मोटरसाइकलसमेत खोसेर दुर्व्यवहार गरेपछि त्यही दिन सफाइ कर्मचारीले फोहोर उठाउन छाडेका थिए । त्यस लगत्तै नगर प्रमुख विजय सरावगीले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षकसँग समन्वय गरेर त्यस दिन सफाइ कर्मचारीलाई काममा फर्काएका थिए ।
यसअघि पर्सा प्रहरीले औषधी व्यवसायी संघ पर्साका अध्यक्ष ताजुदिन अंसारी सँग पनि लकडाउनको बहानामा दुव्यवहार गरे पछि एक दिन पर्सा जिल्लाका सम्पूर्ण औषधि पसलहरु बन्द गरेर बिरोध जनाएका थिए । त्यसपछि स्वास्थ्यकर्मी एवं चिकित्सकहरुलाई पनि पर्सा प्रहरीले दुव्र्यवहार गरे पनि नेपाल चिकित्स संघ नारायणी अञ्चल शाखा पर्साले पत्रकार सम्मेलन नै गर्न बाध्य भएका थिए । त्यसपछि एक स्थानिय एफएमका सञ्चारकर्मीमाथि पर्सा प्रहरीले कुटपिट तथा दुव्र्यवहार गरे पछि पर्सेली सञ्चारकर्मीहरु चरणबद्ध रुपमा आन्दोलनमा उत्रेका छन् ।
यसरी पर्सा प्रहरीले बारम्बार विभिन्न पेशा व्यवसायमा लागेका कर्मचारी, व्यवसायी र नागरिक माथि ज्यादति गर्न थालेको भन्दै बिरोध गर्न थालिएको छ ।
