चहर्याइरहेको घाउ

चहर्याइरहेको घाउ

  • शुक्रबार, जेष्ठ १६, २०७७
  • – अग्निराज पौडेल ‘अराप’

  • 16.6K
    SHARES

मेरो त्यो ‘बहादुर’ छिमेकी
मेरा हरेक कुराको चियोचर्चाे गरिरहन्छ
ठूलादेखि सानासम्म छुस्याइँ गर्छ र पाखुरा सुर्किरहन्छ
आफूलाई महान् ठान्छ, मेरो ‘बहादुर’ छिमेकी

ठूलो दाइ हुँ, सबैको भलो गर्छु भन्छ
हुकुम लाद्न खोच्छ गाउँभरि
छिमेकीको सहयोग पनि खोज्छ
मलीन भएर गाह्रोसाह्रो पर्दा
मेरो त्यो ‘बहादुर’ छिमेकी ।

अभर र गाह्रो–साह्रो पर्दा
गुहार्नुपर्छ मैले पनि
उसैले दिएको गोरेटोबाट हिँड्नुपर्छ
मेरो विडम्बना !
नजिकको छिमेकी न हो
सहयोग गरेजस्तो पनि गर्छ
तर चिमोटिरहन्छ छेउमै आएर ।

ठूलाठूला गफ हाँक्छ
सबै नजिकका छिमेकी पालेको छु भन्छ
माथ्लो र पल्लो छिमेकीको खुब रिस गर्छ
सानो वादविवाद पर्दा
माथ्लो छिमेकीले उचालेको आरोप लगाउँछ
मेरो त्यो ‘बहादुर’ छिमेकी ।

मेरा हजुरबाका पनि हजुरबाले
बडो मिहिनेतले जोडेको जमिन
विभिन्न बहाना बनाएर हडपियो
पल्लो गाउँका मुखियासँग लागेर ।
पल्लो गाउँका मुखियाले फकाए
तर्साए, थर्काए, उसको घरै कब्जा गरे
उसैलाई कजाए, दबाए, लुटे
राम्रो–नराम्रो सबै गरे उसैको घरमा बसेर
खुसी नै थियो मेरो ‘बहादुर’ छिमेकी ।

स्वतन्त्र भयो ऊ
सघाए मेरा बाले पनि
सुरक्षाका लागि खटाए
आफ्ना केटाकेटीलाई पनि
आखिर नजिकको छिमेकी न हो ।

अलिकति ठाउँ पाउनासाथ
गिद्देदृष्टि लगाउँछ
शक्तिशाली छु भनेर
थर्काइरहन्छ बेलाबेलामा
म नसुनेझैँ गर्छु
भाँडाकुटी खेल्ने बहानामा
पठाउँछ आफ्ना केटाकेटी
अनि आलीमा गाडेको किलो
सुटुक्क सार्न लगाउँछ पल्लोपट्टि
मेरो ‘बहादुर’ छिमेकी ।

पठाएथ्यो खेल्न केटाकेटीलाई
माथ्लो छिमेकीको बारीमा
मेरै घरको बाटो
बाघलाई बिरालो ठानेर
जब गज्र्यो माथ्लो छिमेकी
भागे सबै ‘बहादुरी’ का साथ
लुके मेरै बारीको कुनामा
गुहार माग्यो केही दिनका लागि
आखिर नजिकको छिमेकी न हो ।

धर्म, संस्कृति, चाडपर्व, विवाह र
सरसापटको सुगारटाइ गर्छ
मर्दापर्दा काम लाग्ने म नै हँु भन्छ
सिमानाको किलो सारिरहन्छ मध्यरातमा
आखिर नजिकको छिमेकी न हो ।

पल्लो गाउँकाले उसको घरै कब्जा गरेको
बिर्सियो कुकुरसँग दाँजेर हेपेको
बिर्सियो छोरी–बुहारीको इज्जत लुटेकोे
बिर्सियो आफ्नै घरमा दास हुनुको पीडा ।
उसको स्वतन्त्रताका लागि सँगै लडेको बिर्सियो
दासताबाट छुटाउन गरेको सहयोग बिर्सियो
सुरक्षाका लागि पठाएका
मेरा सन्तानको बलिदान बिर्सियो
हिजो लुक्न दिएको गुन बिर्सियो
कब्जा गर्यो त्यही बारीको कुना पनि
आज मैमत्त डामेर छाडेको साँढेजस्तो भएको छ
मेरो ‘बहादुर’ छिमेकी ।

अब त अति नै गर्न थाल्यो
मैले खाँदा, बस्दा, हिँड्दा
चुलेसी, हँसिया, कुटो, कोदालो
जे चाहिए पनि ऊसँगै किन्नु पो भन्छ
अरू छिमेकीलाई भेट्न ‘मैलाई सोध्नु’ भन्छ
उसलाई मनपरेको जमिन
रूख–बिरूवा, कुलो मेरै हो भन्छ ।

उसकी छोरीले उसैको सिको गरेर बोली
मेरै अगाडि उभिएर मेरै घरमा
मैले केही भनिनँ छोराछोरी, भाइभतिजा
सबै चुप रहे
मेरी छोरीले खबरदारी गरी
जब मरो घरैबाट अन्यायका विरुद्ध
अनि खैलाबैला मच्चियो
रोइलो गर्न थाले
उसका छोराछोरी भा भतिजाहरू ।

घरका सबैले बुझ्नैपर्छ
बलियो तारबार लगाउनैपर्छ
अब बारीको साँधमा ।
फिर्ता बोलाउनैपर्छ अब
उसको सुरक्षामा खटिएका
हाम्रा आफन्तलाई
यतिचाहिँ बुझिराख
म सुरक्षित रहे मात्र
तिमीहरूको पनि अस्तित्व रहन्छ
त्यसैले
दापैमा खिया लागेको खुकुरी
झिकेर सान लगाउने बेला भयो अब ।

हो कमजोरी मेरो पनि छ
मेरो घरको मूल धामी उसैको सन्तान
फेर्नु हुँदैन भन्छन् केही आफन्तहरू
मेरा केही कपूतहरू
उसैको इसारामा हिँड्छन्
उसैले भनेको गर्छन्
कुलतमा फसेको पत्तै छैन तिनलाई
होस गर !
कति हिँड्छौ छिमेकीको इशारामा
बदनाम र गद्दारीशिवाय केही दिँदैन त्यसले ।

कपूत, सपूत, भाइ–भतिजा
सबैलाई भन्नैपर्ने हुन्छ
मर्नै परे बलभद्र, अमरसिंह, भक्ति थापा
वा भीमदत्त भएर मर
मदन–आश्रितजस्तो मलामी कमाएर मर
लेन्डुपको जस्तो गद्दार र बदनाम भएर नमर
गङ्गालाल, इच्छुक, सुखानीका सहिदजस्तो
छाती खोलेर देश र जनताका लागि मर ।
……. …….. ….. …… ….. …….
९ जेठ, २०७७, डिल्लीबजार

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी