जेष्ठ १६ रुकुम । पश्चिम रुकुममा जनप्रतिनिधि सहित गाँउलेले घेरा हालेर जाजरकोटका युवाहरुमाथि आक्रमण र हत्या गरेको अभियोगमा थप ६ जना पक्राउ परेका छन् । बिहिबार उनीहरु पक्राउ परेका हुन् । यस अघि वडा अध्यक्ष सहित १२ जना पक्राउ परेको थिए । पीडित पक्षले २० जनाको नाममा किटानी जाहेरी दिएको छ । जस मध्य २ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा चौरजहारी नगरपालिका ८ का ४२ वर्षीय इन्द्रबहादुर मल्ल, १९ वर्षीय दीपेन्द्र चन्द, ३५ वर्षीय तिलक चन्द, ४६ वर्षीय हर्कबहादुर मल्ल, ४५ वर्षीय लिपेन्द्र मल्ल र २० वर्षीय विनोद मल्ल रहेका छन् ।
भेरी नगरपालिका ४ का नवराज विकको प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गएको बेला आक्रमण गर्दा उक्त घटना भएको थियो । १७ वर्षिय मल्ल थरकि युवतीलाई ल्याउन जाँदा सोतीका गाउँलेहरुले आक्रमण गरेर लखेटेका थिए ।
पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा गत शनिवार बेलुका भएको घटनामा परेका पाँच जनाको शव भेटिएको छ । बेपत्ता भएका ६ जना मध्ये थप एक जनाको शव बिहिबार मध्यान्न भेरी नदी किनारमा फेला परेको थियो भने अझै एक जनाको स्थिति सार्वजनिक हुन सकेको छैन ।
भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही बेपत्ता रहेका छन् । उनकोे खोजी भइरहेको प्रहरीले जनाएको छ ।