शिरमा शिरफूल सिउरिएर
किन यसरी बगिरहेछन् – यी नदीहरू ?
कसले उधारिदियो
सीमानामा सुकाएको दसगजे फरीया ?
र भर्खरै बलात्कृत किशोरीझै
निर्वस्त्र बनी रोइरहेछ – एउटा दु:खी देश !
जसरी खसाल्छ
बलेसीभरि पुरानो छानोले झरीको आँसु
उसै गरी किन खसिरहन्छ
छातीको कुलेसो हुँदै
आमाको आँखाबाट निलो झरना ?
शायद,
नदी र आमा एकै हुन्
जो बर्षौँवर्षदेखि
चुपचाप-चुपचाप बगिरहेछन् – यसै गरी !
जब छटपटिन्छ
घाईते सार्वभौमिकता – अप्रेशन थिएटरभित्र
तब मुस्कुराउन थाल्छन्
घरभित्रै शकुनीहरू हातमा कैँची बोकेर !
जब निस्किन्छन्
सुशुप्त सपनाहरू जमीनको चट्टान फोरेर
तब ब्युँझन्छन्
सत्ताको सिरानीमा निदाएका मूर्ख बन्दुकहरू !
के थाहा र बन्दुकलाई
कसरी दुखेको हुन्छ
यो छातीभित्र देशको कलिलो माटो ?
ठिक यही बेला,
जङ्गेपिलरको मस्तुल कुल्चिएर
दरबारमा भजनमग्न छन् – एक हुल मान्छेहरू
शायद,
उनीहरू यही देशका राष्ट्रीय कवि हुनसक्छन् !
नानीहरूको नाभीमा टेकेर
किन हिनहिनाउँछ यसरी मुर्कट्टा आतङ्क ?
झण्डाको लगौँटी बाँधेर
कहिलेदेखि डुक्रिन थाल्यो – मुकुट लाएको साँढे ?
कसरी बन्दी भए होलान्
इतिहासका एक जोर आँखाहरू
थाहै नपाई समयको कालो पीरामिडभित्र ?
र कसले निभाइदियो
डाँडा गाउँ चढ्दै गरेको जुनकिरीको उज्यालो ?
भन मुखिया सा’व
ऊ त्यो घारीमा भेटिएको लास कसको हो ?
नजिकै सिरूको झाङभित्र
सर्पझैँ गुजुल्टिएको इँजार कसको हो ?
र लासको छेवैमा बसेर
टोलाइरहेको बच्चाको असली बाबु को हो ?
अक्षरको टुकी सल्काएर
अँध्यारो मेटाउँदै हिँडेका यी दार्शनिकहरू को हुन् ?
ढाडमा भोकको इच्छापत्र टाँसेर
व्याकरण लेख्दै हिँडेका यी भरियाहरू को हुन् ?
मुक्तिको पाल टाघेर
समुद्र तैरिँदै हिँडेका यी माझीहरू को हुन् ?
र बारूदको धुन बोकेर
मृत्युको गीत गाउँदै हिँडेका यी योध्दाहरू को हुन् ?
भन सम्राटहरू हो !
शिविरबाट भर्खरै निस्किएर
देश खोज्दै हिँडेका
यी हुलका-हुल मान्छेहरू को हुन् ?
तीते फापरको बीऊ छरेर
भेरीको किनारै-किनार
ऊ हिँडेथ्यो – शिरबाङको भिर !
देश खोज्न हिँडेको मान्छे
आज देशसँगै आफैँ गुमनाम भएको छ !
शायद,
ऊ सहिद इच्छुक हुनसक्छ !
हॆर त नैनपुरी
उसैका आँखाका कुलेसाबाट
पग्लेर झरिरहेछ – सिस्ने हिमाल यतिखेर !
भोको सत्ता बगालिएर
जब लुछ्न थाल्छ
सगरमाथाका स्निग्ध बुध्दहरू !
र थोत्रो च्यादर ओढेर
जब करणीमग्न छ कानून
रेड-लाइट एरियाका संसदीय कोठीहरूमा !
हो यही बेला,
मुक्तिका बैजनी रङहरू उमारेर
बिस्तारै फक्रिन्छन्
कलिलो मस्तिष्कबाट नओइलाउने थुँगाहरू !
दिलबहादुर चम्किलो छ
नमुर्झाउने आस्थाको रातो घाम !
अब ऊ,
जनयुध्दको पहिलो सहिद बाँचिरहेको छ !!
**