घरघरमै नमाज पाठ गरी मनाइयो इदुल फित्र

घरघरमै नमाज पाठ गरी मनाइयो इदुल फित्र

  • सोमवार, जेष्ठ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, १२ जेठ । अरबी पात्रो हिजरी संवतअनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् । दशौँ महिनाको पहिलो दिन विशेष नमाज पाठ गरेपछि बुधबारसम्म आफूभन्दा ठूला बडाकहाँ गएर आशीर्वाद लिइन्छ ।

यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक दान गरेर दीन दुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो ।

अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने कार्यक्रम तय हुने भएपनि यस वर्ष अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन शनिबार बेलुकी चन्द्रमा नदेखिएकाले आज यो पर्व मनाइएको हो ।

अरबी पात्रोअनुसार कुनै पनि महिना ३१ दिनको नहुने भएकाले आइतबार बेलुकी अर्थात् ३० औँ दिन चन्द्रमा नदेखिए पनि त्यसपछिको दिनलाई १० औँ महिना मानिन्छ । यसैकारण आज इद उल फित्र पर्व मनाउन लागिएको नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल मोहम्मद समीमले राससलाई जानकारी दिनुभयो ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण आज बिहान नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठमा पाँच जनाभन्दा बढी उपस्थित भएनन् । मस्जिद, इदगाहलगायत धार्मिक स्थलमा पनि बढीमा पाँच जनाभन्दा उपस्थित भएनन् । मुस्लिम समुदायले घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इद उल फित्र मनाएका छन् ।

यो पर्वको अर्को उल्लेखनीय पक्ष दीन दुःखी र गरीबलाई दान दिनु हो । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलिले जानकारी दिनुभयो ।

यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरीबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । यसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम मुस्लिम ग्रन्थमा छ । यो दान पनि दीनदुःखी र गरीबलाई नै दिइन्छ ।

यस वर्ष गत वैशाख १३ गतेदेखि मुस्लिम समुदायको एक महिना लामो व्रत (रोजा) शुरु भएको थियो । एक वर्षभित्र गरेका पाप कटाउन रमजानसमेत भनिने यो व्रत गरिने उहाँले बताउनुभयो । एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ । बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र मुस्लिम समुदायले नवौँ रमजान महिनामा भोजन गर्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ