प्यारी छोरी निरजना आज १८ वर्ष भैसकेछ । तिम्रो जीवन बाचिरहन पाएको थियो भने २८ औं वसन्त पार गर्दै २९ औं वर्षमा पाइला टेक्दै गरेकी छोरीको रूपमा पाउने थियौं हामीले छोरी निरजना तिमिलाई ।
आजको दिन मेरो जीवनमा कालो दिन भएर आजीवन रहयो भने आजकै दिन १८ वर्ष पहिले तिम्रो लागि अन्तिम दिन बनिसकेको रहेछ छोरी ।१० औं वर्ष पूरा गरेको मात्रै ४१ औं दिन थियो जुन दिन तिम्रो सदाको लागि अन्तिम दिन बनेको यो कालो दिन जेठ ११ ।
सिन्धुलीमा शाही सेनाको आखामा हामी निशाना बनिरहेकै वजह त्यो निशाना १० वर्षको कलिलो जिन्दगी चुँड्न तिर सोझिएको रहेछ र त तिमी हामीलाई छोडेर सदाको लागि घर नजिकै बाट शिशाको तातो गोली पिएर बिदा भयौ सदाको लागि छोरी ।
आज जेठ ११ गतेका दिन हामी जनयुद्धको भिषण मोर्चामा थियौ, सबै निजिसम्पति र परिवार केहि होईन राज्यसत्ता परिवर्तनको अभियान नै सर्वेसर्वा हो भन्नेमा हाम्रो नियात्रा बलिवेदी तिर निरन्तर थियो । सिन्धुलीका अन्य नेताहरुको तुलनामा हामी र हाम्रो परिवार निकै नै राज्य सत्ताको निशानामा परिसकेको अवस्था थियो। मैले यत्तिका वर्षहरुसम्म तिम्रो बारेमा २ शब्द लेख्ने आँट र साहस गर्न नै सकेकि थिइन कारण तिमिलाई सम्झिदा मेरो मुटु चुँडिएको अनुभूति ,गला अवरुद्द हुने विवशताकै कारण थियो छोरी।कहाँबाट र कताबाट शब्द चयन गर्ने सम्म पनि मेलो पाउन सकिरहेकि थिईन , आज तिमिलाई सम्झदै छु ।
दु:खका साथ भन्नुपर्छ , यत्रो वलिदान पछि प्राप्त यो नवीन सत्तामा तिम्रो कुनै पनि ठाउँमा स्थान छैन, न त विद्यार्थी आन्दोलनका अगुवाहरुले नै तिम्रो सम्झनामा तिम्रो तस्वीर राखेर श्रद्धाका २ थुंगा फुल र २ शब्द श्रद्धाञ्जलीका शब्दहरु नै व्यक्त गर्छन् न त महिला मुक्तिका ठुला ठुला भाषण गर्नेहरुको लिष्टमा नै तिमी पर्छौ, हिजो हामी सबैको भाषण गर्ने लिष्टमा वलिदानका चर्को स्वरहरु र बलिदानको अर्थको बारेमा व्याख्या गर्दै ती अभियानमा लामबद्द सबैलाइ पटक पटक मर्न सिकाउने अभियन्ताहरुले आज बाँचेर अएकाहरुका लागि बाँच्न सिकाउने एउटा ‘स’ पनि उच्चरण गर्न सक्दैनन् ।वलिदान राष्ट्र का लागि भनेर लाग्नेहरुको लागि निकै नै गम्भीर र सोचनिय बिषय बनेको छ आजको वर्तमान । हिजोका ती सगै युद्धमा लडेका एउटै रुखको छहारीमुनि एउटै पातलो सल ओढेर एउटै सपना आधा आधा देख्नेहरु पनि समय संगसंगै निजि सम्पत्ती र परिवार भन्दा माथि उठेर निर्णय गर्ने ठाउमा पुग्न सकिरहेका छैनन् ।
विडम्बनापुर्वक भन्नुपर्छ शहिदहरुपनि कुन पक्ष वा कुन गुटको हो ?भन्नेमा कित्ताबन्दि हुन पुगेका छौ ।सक्नेले राष्ट्रको बजेट लगेर मुर्ति बनायका छन् ,अर्कोगुटको भनेपछि त्यहि मुर्ति वनाउन पनि अस्विकार गरेका छन् ,कोहि बिपिको डाँडो बोकेर हिडेका छन्, कोहि आन्दोलनको दौरानमा शहिदै नभएका ठाउँहरु बोकेर हिडेकाछन् ,कोहि ज्वरो आएर मरेका बाउलाई नै शहिदको नाममा नाम भजायर रकम /क्षेतीपुर्ती लिएर बसेका छन् । यो सबै हेर्दा लाग्छ आज शहिदको कोटामा पर्न र पार्न पनि शक्तिशाली गुटमा तिम्रा आफन्तहरु लाग्नुपर्ने विडम्बना वनेको छ । तिमिसंगै पढ्ने उमेरका तिम्रा ती दौतरीहरु आज अफिसर बनेका छन् ।
तिम्रा ती वलिदानका अर्थ सिकाउनेहरुलाई फनफनि यो सत्तामा घुमाईदिएका छन् ,सायद तिमी अहिले त्यही स्थानमा नभएपनि मेरो जिन्दगी को एउटा अभिन्न अंग त बन्ने थियौ ।अरु मादकपदार्थ सेवन गरि मर्दा महान बन्छन यो देशमा , तर म के हो ? म भोलि के बन्छु ? मेरो बाटो कुन हो ? भनेर आफ्नो जिन्दगी को परिभाषा नबुझ्दै तिम्रा ती तोतेबोलि बाट वयस्क भएको स्वर परिवर्तन हुन नपाउदै तिम्रा बा आमा माओवादी भएकै कारणले तिमी एउटा कोपिला फूल बनेर फक्रिन नपाउदै तिम्रा ती कोपिला अबस्था बडेमनको माओबादिको नाममा निमोठिन्छ ।
चर्को स्वरले आतंककारीको मृत्यु भनेर समाचार भन्नेहरु पनि तिमिले रगत बगाएको व्यवस्थामा त्यहि कुर्सीमा अटेका छन् । तिम्रो त्यो शाहादत्तले निकै नै आतंकित बनाएको थियो। धैरै छोरीहरुले अकालमा तातो गोली पिएर मर्नुपरेको थियो । १० औँ वसन्त पार गरि ११ औँबसन्तमा पाईला टेकेको मात्र ४१ दिन भएको थियो , माफ गर छोरी तिमिलाइ हामीले रक्षा गर्न सकेनौ , घर आगनमा साथीसंगिहरुसंग खेलिरहेको अबस्थामा शाही नेपाली सेना नामक जत्थाले सबै गाउलेलाई घरबाट बाहिर ननिस्कन आदेश दिदै घरछेउमा लगेर निर्ममतापुर्क गोली हानी हत्या गरेको दिन । मेरो काख रित्तिएको दिन मेरो लागि सदाको लागि कहिल्यै निको नहुने घाउ बनेर बसिरहयो छोरी। मलाइ माफ गर छोरी ! त्यतिवेला हामी पनि तिम्रो साथमा थिएनौ, रक्षा गर्न पनि सकेनौ । तिमिलाइ हामिले सदा सदा सम्झिरहेका छौं, सपनिमा आएर म पनि हजुर र बहिनी संगै बस्छु म पनि पढ्छु म जान्न ममि भनेर भनिरहदा पनि केवल ब्युँझदा तिमिलाइ पाउन सक्दिन छोरी
हार्दिक श्रद्धाञ्जली ! उही तिम्रो आमा -निरु दर्लामी कुँवर)