युद्धकाल ,दमन र वर्तमान – लक्ष्मण चौलागाईं विद्रोही 

युद्धकाल ,दमन र वर्तमान – लक्ष्मण चौलागाईं विद्रोही 

  • शनिबार, जेष्ठ १०, २०७७
  • ✍️ - लक्ष्मण चौलागाईं विद्रोही

  • 67K
    SHARES

२०६० साल पुस ७ गते मध्यरात  तत्कालीन शाही नेपाली सेना मेरो जन्मस्थल सिन्धुपाल्चोक स्थित तत्कालीन पराले झुपडीमा मध्यरातमा प्रवेश गर्यो । मध्यरातमा एक्कासी ढोकामा कसैले ढक्ढक्यायो।मेरो १४ वर्षीय  भाइ क. प्रसन्न जनयुद्धमा सहभागी भएको कारण बैरीले म र मेरो भाइ विरुद्द भैरवनाथ गण महाराजगन्जमा जासुसी गरेको कारण शाही सेना मेरो घर सिन्धुपाल्चोक गएको रहेछ। सेनाले ढोका ढक ढक गर्दा घरको भुइँतल्लामा सुत्नुभएको मेरो ममतामयी आमा ले को हो ?भनेर भन्नुभयो । हामी केदार कमरेडका साथी नुवाकोटबाट आएका जनमुक्ती सेना भन्दै ढोका ढक ढक्याए पछि आमाले ढोका खोल्दिनु भयो । माओवादी कमरेडहरुले त प्रसन्न भन्दै आउथे तर केदार कमरेड भनेपछी आमा पनि सशंकित हुनु भएछ।मुख नकावले ढाकिएको आँखा मात्रै देखिने कहिल्यै त्यसरी न आएका माओवादी छापामार देख्दा आमा डरले भित्र भित्रै थर्कमान हुनुभएछ। अनि केदार कमरेड खै आमा? भनेर सोधेछन,हजुरहरु संगै गएको थियो हामीलाई के थाहा हजुर ?भनेर आमाले जवाफ दिएपछी घरमा को को हुनुहुन्छ त? भन्ने प्रश्न गरेछन। पीताजी स्वर्गीय हुनुभएकोले आमा सेतो वस्त्रमा हुनुहुन्थ्यो । त्यसपछी छोरा र छोरी चोटामा सुतेका छन भन्नुभएछ। अनि १५ जनाको लर्को एसएमजी र एलएमजी हतियार ,अनि आउट ड्रेसमा उत्रै कदका जत्था म र बहिनी सुतेको घरको माथिल्लो तलामा उक्ले। म त्यतिबेला बत्ती ननिभाई सुतेको थिएं। जनयुद्ध आगो झै सल्केको दिनानुदिन भिडन्त र मुठ्भेड्का खबर आइरहेको अवस्था थियो । आजका महलवासी सर्वहारा नेता प्रचण्ड ,अर्का समाजवादी पार्टीका नेता डा. बाबुराम लगायतका दर्जनौको टाउकाको मूल्य रु. ५० लाख तत्कालीन शाही सत्ताले तोकेको अवस्था थियो भने माओवादीलाई आतंककारी घोषणा गरेको थियो । बहिनी राधिका  बाहिर ढुकुटी छेउमा भुइमा ओछ्यानमा सुतेकी थिइन भने म मेरो पीताजी सुत्ने मुल कोठामा सुतेको थिएं। लेख्नलाई म सानै देखि लेखिरहन्थें।माओवादीले आत्मासमर्पण गरें नमार्ने सरकारी रेडियो दिनहुँ  जसो बजिरहन्थ्यो। त्यतिबेला एउटा फुलिस्केपमा मैले लेख लेखेको थिएं।शीर्षक यस्तो थियो “आत्मासमर्पण माओवादीले सरकार समक्ष हैन राजा ज्ञानेन्द्रले जनतासमक्ष गर्नुपर्छ” भन्ने शिर्षकमा आधा पेज लेखेको थिएं। उक्त पन्ना मैले राडीको पल्लाको माझमा लुकाएर राखेको थिएं भने एउटा डायरीमा मैले दिनहुँजसो लेखिरहन्थें। झण्डै १०३ पेज जति लेखेको थिएं प्रभात शिर्षकमा उपन्यासको पाण्डुलिपि ,जसमा दिनहिनका दुरावस्था ,शोषकहरुका शोषण ,अनि हाम्रो घरवासै उठ्ने गरि बैरिले भीर बनाइदिएर ध्वस्त पारिदिएका हाम्रा थुप्रै जमीनहरु माथी का प्रतिशोधहरुको उजागर पनि जोडेको थिएं। अनि मध्यराती जब मैले कोल्टो फेरें मेरो आँखा उघ्र्यो । ढोकामा एउटा मान्छे नबोलिकन मलाई हेरेर  म तिर बन्दुक तेर्स्याएर उभिरहेको देखें,म सपना कि विपना के हो यो ? त्यस्तै भएं। अनि जुरुक्क उठें पहिला त माओवादी जस्तै लाग्यो हतियार अनि हाउभाउले माओवादी नभएको अनुमान गरें। हजुर भित्र आउनुस न ,कहा देखि आउनुभो भनें………
हामी नुवाकोट बाट आएका जनमुक्ती सेनाका राता सिपाही हौं कमरेड भने। अनि मैले ए ए भनें र मलाई कमरेड नभन्नुस भनें।
किन कमरेड नभन्ने? कमरेड ,हजुर केदार कमरेड हैन  र ? भनेर सोधे। त्यसो भन्दा मैले जनमुक्ति  सेना नभै  शाही नेपाली सेना नै भएको ठहर गरें ०६० साल पुस ७ गते मध्यरातमा मेरै घर सिन्धुपाल्चोकमा ।
केदार कमरेड खै ?
खै सर ! बुवा वित्नुभएको सात महिना भयो ,काजकिरिया गर्न पनि आएन ,बरु कहाँ छ एक पटक पठाइदिनुस न भनें। 
अनि भाई जनयुद्धमा दाजु चाहिँ घरमा ?यो त भएन नि ! कमरेड भने। 
भाई जे छ दाजु उही हुनुपर्छ र सर ?भनेर प्रतिप्रश्न गरें।
र थपें उसलाई अमीलो मन पर्ला  मलाई गुलियो मन पर्ला नि भने ।सबैको एउटै मन र उद्देश्य हुन्छ र सर?म त शिक्षक हो ।राजनिती जान्दिन भनें।
अनि उनिहरुले भाई कमरेड प्रसन्नको  फोटो मागे ! 
मेरो विवाहको एलबममा थियो भाईको फोटो ,अब म फन्दामा पर्ने भएं कारण लालसलाम गरेको खरानी रंगको स्वेटर लगाएको फोटो थियो। कतिबेला भाई मारिन्छ?निश्चित थिएन अनि बेलाबेला हेर्ने गर्थें जतिबेला मलाई मेरो त्यो सानो भाईको याद आउथ्यो, त्यो फोटो जसलाई मैले आफू सुत्ने बेडको सिरानीमा राखेको थिएं। 
अनि खानतलासी सुरु भो।एलबम उनीहरुले भेट्टाए। अनि फोटो हेर्दै गए। भाईको फोटो निकालेर यो को ? भनेर सोधे कारण लालसलाम गरेको फोटो थियो। 
भाई हो सर भनें।
अनि अर्को दुई जना अगाडि आएर 
दुई जनाले मेरो दुई पटि कन्चट्मा पेस्तोल ठेकेर कन्ट्याक्ट नम्बर दिनुस त भाईको भने। उनिहरुले तँ,तिमीको सम्बोधन  चाहिँ गरेनन मलाई ।माओवादी कहाँ बस्छ के गर्छ म संग कसरि कन्ट्याक्ट नम्बर हुनु र सर ? भने। त्यतिबेला हाम्रो पहुँचमा आजको जस्तो मोबाइल प्रविधिको त्यति विकास भएको  थिएन।हाम्रो गाउँ तिर कतै ल्यान्ड लाइन त कतै कोहि अलिक हुनेखानेकोसंग कर्ड्लेस फोन भने थियो।
अहिन फोटो छैन भन्नुभयो फोटो भेटियो अब नम्बर नदिने भन्दै  बाँच्नु मन छ कि मर्न? भनेर सोध्दा माथिको आदेश जे छ सोही गर्नुहोस  न सर भनेर जवाफ फर्काएं ।अनि मेरो डायरी र भाईको फोटो सानो टेपरेकर्डर सबै बरामद गरे  ।कसो ओछ्यान टौटकाइएन ।ओछ्यान टौटकाएको भए आत्मासमर्पण राजाले जनता समक्ष गर्नुपर्छ भन्ने लेख भेटिन्थ्यो म त्यही तत्कालै  मारिन्थें। भाग्यवश: उनिहरुले त्यो देखेनन। अनि कपडा लगाउनुहोस भने मैले हत्तपत्त पातलो हाइनेक / पेन्ट र हात्तीछाप चप्पल लगाएं ।मेरा पीताजी वित्नुभएको मात्रै ७ महिना भएको थियो म पनि सेतो वस्त्र मा नै थिएं। अनि म सेनाको माझमा लागेर हिडें।चोटाबाट मुन्तिर ओर्लने क्रममा मेरो बहिनी राधिकालाई अब तपाईं पनि हिड्नुस भने। अनि मैले सर यिनी  त लाटी हो भनें केही थाहा छैन उनलाई । म हिडेको छु नि त हजुर प्लिज भनें।जतिबेला मेरो उमेर २० वर्षको थियो भने बहिनी १७ वर्षकी थिइन। प्लिज म जान्छु मेरो बहिनिलाई केही नभन्नुस न हजुर सर  भने। बुझ्ने खाले समूह रहेछ अनि बहिनीलाई  छोडिदियो। जब माथिल्लो तलाबाट भुइँ तल्लामा ओर्लियो अनि मैले सर मेरो आमालाई अन्तिम दुई शब्द केही भन्न चाहन्छु भनें।उनिहरुले हुन्छ भने।अनि मैले मेरो ममतामयी आमासँग अन्तिम विदा माग्दै भनें,” आमा म  त हिड्ने बेला भयो /फर्केर आएं भने आएं नत्र  यो नै मेरो अन्तिम भेट हो  है भनें।म फिर्ता आउन सकिन भने मेरा छोराछोरीको मुख हेरेर चित्त बुझाउनुहोला ,मेरो बारेमा कसैसँग केही नभन्नुहोला है आमा।कसैले सोधेमा काठमाडौंतिर गयो भन्दिनुहोला”भनेर म सेनाको माझमा लागेर बाहिर निस्कें। त्यो बेलामा म बिहान खाल्डे भन्ने ठाउमा ८ जना बच्चाहरुलाई पिडिमा पढाउथें। कारण बैरिले मेरो शिक्षण पेशामाथी नै षड्यन्त्र गरेर मैले स्कुल छोड्दा स्थानीय अभिभावकहरुले बरु बच्चाहरुलाई स्कुल नपढाई मलाई बिहानी कक्षा पढाइ दिन अनुरोध गरेकाले म ती ८ जना बच्चाहरुलाई सिन्धुपाल्चोकको भोटेचौरको खाल्डे स्थित स्वर्गवासी दाजु गोविन्दप्रसाद चौलागाईंको घरको पिडिमा  पढाउने गर्थे  भने दिउँसो सिन्धुकोट भन्ने ठाउको सानो स्कुलमा प्रिन्सिपलको रिस्पोन्समा  पढाउने काम गर्थें। अनि घर बाहिर निस्किदा त ठूलो जत्था रहेछ शाही सेनाको ।पहिला हामी माओवादी भन्दै आएका थिए अन्ततः  शाही नेपाली  सेना नै  पो रहेछन।भित्र पसेका टोलीको एउटा सादा  पोशाक बाहिरको टोलीको  पुरै हरियो पोशाक  ! अनि म उहाँहरुको माझमा लागि लुरु लुरु हिडें।आधाबाटोमा पुगेपछी मलाई कर्णेल हो या मेजर समीर नाम  बताएका थिए।तपाईंलाई कसैले यहि गाउँबाट सुराकी गरेर हामी आएका हौं भनेर भने। अनि मलाई अब घर जानुस तपाई निर्दोष हुनुहुदोरहेछ भनेर भनेपछी मेरो ज्यान फुल्यो। अब भाग भनेर गोली हान्ने होला भन्ने ठानेर म भीरबाट हाम फाल्दा सेनाको हातमा पो झुन्डिएं। अनि मलाई सम्झाउदै तपाईलाई हामी केही गर्दैनौं घर जानुस भनेर भने। अनि म जति हिडें त्यति मारिदैछु भन्ने डर लाग्दै थियो। उनिहरुको माझमा लागेर हिड्दा बरु त्यति डर लागेको थिएन। जब म घर पुगें।आमा बेहोस। मेरो पूर्व पत्नी,तीन महिनाको छोरा संग सुतिरहेकी थिइन भने  छोरी ३१ महिनाकी थिइन ।आमालाई आमा म आएं भनेर चोटामा सुत्न गएं।विहान ४ बजे झिसमिसेमा नै उठें र  सवा घण्टाको बाटो सिन्धुकोट गएर मित्र  रामबाबु नेपालको कर्ड्लेस बाट कल गरेर भाग है भाइ सेनाले तेरो फोटो लिएर आउदैछ भनेर भगाएं।मेरो भाई विमार भएर काठमाडौंको तीनचुले स्थित पेमा टि शेर्पाको घरमा सेल्टर लिएर उपचार गर्दै थियो ।त्यतिबेला १० बैन्डको रेडियोले फोनमा बोल्दा सुन्न सक्ने खतरा पनि उतिकै थियो।भाग्यवस कसैले सुनेन।अनि त्यसैको ४ महिनापछि  वैशाख १० ,२०६० सालमा  बुवाको बर्खान्त सकेर  काठमाडौं फरार भएं।अनि म्याग्दी तिर पर्यटनमा काम गर्न गएं। मैले अक्युप्रेसर / Naturopathy  ट्रीट्मेन्ट सम्बन्धी Diploma गरेको छु। जति म कमाउथें माओवादी योद्धाहरुलाई पनि आफ्नै मन र स्व विवेकले सर्टेन अमाउन्ट  सहयोग  गर्थें। उहाहरु म संग पैसा लिन मान्नुहुन्न थियो।लक्ष्मण कमरेड तपाईं त सर्वहारा हो नि हामीले रकम त सामन्तसंग लिन्छौं भनेर मेरो सहयोग लिन मान्नुहुन्न थियो म्याग्दीका कमरेड रुपक/सुशील र सुभाष कमरेडहरु। त्यतिबेला म्याग्दी मुस्ताङ इन्चार्ज  पद्मबहादुर पुन क. फिल्टरले उक्त क्षेत्रको नेतृत्व वहन  गर्नुभएको थियो भने घारा म्याग्दीका रुपक ,म्याग्दीकै सुशील मगर र सुभाष विक जीहरु संग मेरो घनिष्ठ सम्बन्ध थियो।म्याग्दी बसाइकै क्रममा एक दिन म कास्किको घान्द्रुक स्थित राधेश्याम गुरुङ ज्युको मनिषा होटल बाट घोरेपानी फर्किने क्रममा सैन्य गस्ती आइपुगेको रैछ,माओवादी लडाकुहरुको भागाभाग हुँदै रैछ। म हाफ पेन्ट र गोल्ड स्टार जुत्ता अनि कालो ज्याकेटमा झोला बोकेर क्याप्टेन डम्बहादुर पुनको घोरेपानी स्थित सन्नी होटलको आँगन कट्दै गर्दा सेना र प्रहरीको सयुक्त टोलीले म तिर लक्षित गर्दै उ माओवादी आयो ठोक भनेर म तिर  ताकेको पेस्तोल क्लर्क दबाउदै गर्दा सोही स्थानको धौलागिरी लजका मालिक  ॐ नारायण सेर्पुजा पुनले रोकेर उहाँ त हाम्रो होटलमा सिविर चलाउने मान्छे हो माओवादी हैन भनेर रोक्नुभएको कारण बल्ल बाचियो र त्यसैको पर्सिपल्ट घोरेपानीमा डाइनास्टी एयरको हेलिकप्टर आयो ।पर्यटक उतारेपछी रित्तै फर्किने रैछ  हेलिकप्टर  अनि होटल मालिक ॐ नारायण सेर्पुजा पुन अंकल  अब म काठमाडौं जानुपर्यो अंकल भनेपछी  हुन्छ भन्नुभो र म Dynasty Air को Helicopter मा  पोखरा फर्कें। पोखराको गौरिघाट स्थित छवि पौडेलजीको धर्म इन होटेलमा एक रात बास बसेर भोलिपल्ट बसमा काठमाडौं आएं। बाटाभरी चेक पोस्ट ,विदेशी करेन्सी २०००/२५०० (डलर / युरो) भएको कारण हामीलाई उक्त रकम भेट्यो भने प्रब्लम हुन्छ भनेर मोजाभित्र लुकाएर जुत्ताभित्र मोजामा  राखेर बल्लबल्ल काठमाडौं आएसी बल्ल एउटा अर्को कालबाट बाँचियो भन्ने अनुभूति भो । त्यसपछि म मेरो गृहजिल्ला १४ वर्ष पछि गएं मात्रै दुई तीन पटक। मलाई कुनै महाशक्ती संग डर छैन। मर्नु त एक दिन छदैंछ। अझै पनि मेरो पछि बैरी लागेको छ। मलाई विप्लव नेकपाको सिन्धुपाल्चोक ताम्सालिङ राज्यसमिती सदस्य नेता  बनाएर यो सत्ताले रेड लिस्टमा ५ नम्बरमा मलाई र २ नम्बरमा मेरो भाई क. प्रसन्नलाई लिस्टेड गरेको छ। मेरो भाई जो जिउँदो सहिद हो उसलाई पनि मस्ट वान्टेड बनाएर आज गणतन्त्रमा पनि लिस्ट्मा हालेको छ।म विप्लवको त के कुनै पनि  दलको साधारण  सदस्य पनि छैन। यदि कुनै दलको सदस्यता लिएको प्रूफ पाएमा मलाई इन्काउन्टर गर्नुहोस भनेर नेपाल सरकारको सुरक्षालाई आधा दर्जन  अपिल गरिसकेको छु र उक्त अपिलमा सुराकी को हो ?भनेर प्रश्न गरेको छु । मलाई शंका छ त्यो जासुस मेरो शिक्षण पेशामा आँखा लगाउने जल्लाद हो भनेर। म त निरीह मनुवा हो। म चोर/ लुटेरा /माफिया/बलात्कारी  केही हैन मलाई मेरो मातृभूमीमाको संग डराउनु छ र ? कोहि कसैले किनेर राख्देको देश यो हो र ?वीर पुर्खाले लडेर हामी आम नेपाली बनाइदिएको मुलुक हो नि हाम्रो मातृभुमी !!अनि मेरो भाई  पछि काठमाडौंको बालाजुमा  उपचारको क्रममा नुवाकोट बाट आउने क्रममा तत्कालीन शाही सेनाले पक्राउ गर्यो र क्रुर यातना दिदै महिनौं कालकोठरीमा  राखेर दर्दनाक र बीभत्स यातना भोग्न विवश भयो ।आधा शरीर मारिएर रिहाई भएपछी उसलाई सेनाले कपन ल्याएर छोडिदियो।प्रचण्ड दाहालकी बुहारी बिना मगरले जति यातना खेपिन त्यति नै यातना खेप्ने मेरो भाई कमरेड प्रसन्न पनि हो। म त्यतिबेला मावली कपनमा थिएं। भाइ त मोटोघाटो पो देखें सुरुमा हर्षित भएं तर उसको मुहार अलिक दुखी देखें। कति मोटाएको बाबू ,कति सुहाएको नि मेरो भाईलाइ  भनें। उसले सबै बतायो ।म मोटाएको हैन नि  दाजु सुनिएको चाहिँ हो भन्यो। मेरो आखामा अश्रु धारा बहन थाल्यो हाल मेरो भाइ मकवानपुरमा आफ्नो पत्नी छोराछोरी संग बस्छ। साग सब्जी बेच्छ ।हामीलाई आज पनि बैरिले सुराकी जासुसी गरिरहेको छ। हामी जुन सुकै बेला ढल्न सक्छौ तर हाम्रो सगरमाथा कहिल्यै नढलोस। मलाई मृत्युको कति पनि डर छैन। सुव्यवस्था र सच्चा गणतन्त्र आएको हेर्ने मन थियो ।तर विडम्बना गणतन्त्र नारायणहिटिबाट खुमल्टार र बालकोट सर्यो ।झुपडीमा नक्कली गणतन्त्र ।गरिबका कुखुरा र बाख्रामा कर लगाउदै विलासिता र सेवाभोगी सत्ता जब बन्यो मलाई मेरा क्लास मेट साथीहरुको रगत बगेको र ब्रम्ह लूटतन्त्र आएकोमा खेद व्यक्त गर्नु मन लाग्यो ।लोकतान्त्रिक गणतन्त्र सारा जनताको हुनुपर्ने कोहि मान्छेको निजि विरासत भएकोले चित्त दुख्यो। ढुक्क हुनुस हजुर म र  मेरो भाई बैरिका जासुसी र सुराकीले  मरेछौं भने या मारिएछौं भने त्यो हाम्रो लागि नाफाको जिन्दगीको अन्त्य र पुनर्जन्मको  सुरुवात  हो।मुक्तीको नया अध्याय पनि  हो।
अब चाहिँ मलाई यस्तो लाग्दैछ बैरिले गरेका कुकर्मका  हिसाब फत्ते गर्न,  लूटतन्त्र विरुद्द लड्न रगतको हस्ताक्षर गरि विल्कुल देशभक्तहरु संग टाउकोमा कात्रो बाधेर लूटतन्त्रको  महलबाट गणतन्त्र खोसेर गरिब जनताको झुपडीमा सच्चा गणतन्त्र पुर्याई नेपाली सेनाका परिवार,नेपाल प्रहरीका परिवार ,दुखी ,गरिब,शोषित ,शाषित,उत्पीडित ,दलित,जनजाति ,मुक्तिकामी,हेपिएका,पेलिएका ,किचिएका,पिल्सिएका ३ करोड जनताले हर्षोल्लासका साथ दिप प्रज्वलन गरि रमाउने खाले समान वयवस्था ल्याउन आफुलाई मृत्युको बलिवेदीमा समर्पण गर्ने नै अबको मेरो जिन्दगीको अन्तिम इच्छा र निर्णय बन्न विवश भएको छ । राजनीति नबुझुन्जेल ठिकै हो जब बुझिन्छ ,मुल्य र मान्यताको खोज गर्नु मन लाग्दो रहेछ ।अनि आक्रोश,घृणा जन्मिदोरहेछ। 
महान सहिदहरुलाई रक्तिम सलाम गर्दै महान जनता जिन्दावाद भन्न चाहन्छु  ।कुनै व्यक्तिवाद व्यवस्था हैन यो त अदृश्य तानाशाहको पर्याय चाहिँ हो।जहाँ दमन त्यहा विद्रोह विश्व साम्यवादको अकाट्य सिद्धान्त हो।मेरो भनाई लोकतान्त्रिक गणतन्त्रको सिद्धान्त विपरीत हो भने नेपाल प्रहरी,नेपाली सेनाले मलाई हत्या गर्नुपर्छ ।बरु यो चाहिँ स्विकार्य छ। गरिब जनताको ढाड्मा दाल दलेर आकाश छुने बजार भाउ र हजारौं मुसा गरिब जनताले पाल्ने व्यवस्था सांचो अर्थमा अलोकतान्त्रिक चाहिँ हो लोकतान्त्रिक  गणतन्त्र चाहिँ  हैन भन्ने महशुस मेरो ब्रम्हले गरेको छ। हामी यो ब्रम्ह लूटको स्वर्ग टुलुटुलु हेरेर बस्नै सक्दैनौं।कि त यिनै हजारौं मुसाहरु पनि स्विकार्य छ ।सेवासुविधा भंग गरेर गणतन्त्रका साहुजी प्रचण्डले सेवामुखी सत्ता निर्माण गरे भने स्विकार्य छ। फेरि पनि सलाम कमरेड प्रचण्डज्यु  भन्दै भोलि देखि नै यहि सत्तालाई सलाम भन्दै अधर खुसी पार्दै हिड्नेछु। नत्र यो जनताका छोराछोरीको रगतले लेखिएको लोकतान्त्रिक गणतन्त्र सबैको साझा बनाउन सक्नुपर्छ । सरकार जनताको भएन पार्टीको भयो। देश बनाउने नाममा दल बनाउनै १५ वर्ष लागिसक्यो। जनतालाई भ्रमित बनाउदै महलवासी सर्वहारा भगवान कुबेर रुपि प्रचण्डले  आफ्नै सात पुस्ता सम्पन्न बनाउन लालयित देखिए। सत्तरी लाख युवा हिजो निरंकुश भनिएको राजतन्त्रमा पनि खाडी पलायन भएको ईतिहास थिएन । अन्न भन्डार नेपालको गरिमा खरानी भयो।मुलुकभरी राजनितिको नाममा आयातित सामानको सुपरमार्केट बनाएको सहिय लागेन। महान सहिदका बलिदानको व्यापारले मुलुकमा सच्चा समाजवाद आउला जस्तो लागेन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी