विर्तामोड, १० जेठ । कोभिड-१९ भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका परिवारलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आज झापामा छुट्टाछुट्टै राहत विरण गरेका छन् ।
नेकपा कार्यकर्ताले झापाका विभित्र स्थानमा १४५ घरपरिवारलाई राहत वितरण गरेका छन् ।
गरिब,मजदुर,सुकुम्बासी लगायतका जनसमुदायलाई खाद्यान्नमा परेको असरलाई मध्य नजर गर्दै पार्टीले झापाको दमक नगरपालिका ,कनकाई नगरपालिका र शिवशताक्षि नगरपालिका गरी पहिलो चरणमा खाद्यान्न वितरण गरेको नेपाल कम्युनिस्ट पार्टी झापाले जानकारी दिएको छ।
दमक नगरपालिका स्थित वडा नम्बर १ र २ मा सुकुम्बासी ,गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको १०० घर परिवारमा ,त्यस्तै कनकाई नगरपालिकामा २० घरपरिवार र शिवसताक्षी नगरपालिकामा २५ घरपरिवारलाई प्रति परिवार १० केजी चामल वितरण गरिएको उक्त पार्टीले जानकारी दिएको छ।
हाल पहिलो चरणमा १४५ घरपरिवारलाई राहत वितरण गरेको र राहत वितरण कार्यक्रमलाई परिस्थिति अनुुसार अगाडि बढाउने नेकपा झापाका सचिव श्रीजंगले बताएका छन्।
यस्तै अखिल क्रान्तिकारी मेची कोशीको संयोकत्वमा २५ जनालाई राहत वितरण गरेको छ । डेरा भाडामा बसेका बिद्यार्थीलाई लकडाउनले समस्या भईरहेको र विपन्न परिवारलाई परव्याक्ति १२ केजी का दरले चामल लगायतका सामान वितरण गरेको हो ।
