काठमाडौँ, १० जेठ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन अझै जारी छ । तर अहिले पनि दैनिक ३ हजारको हाराहारीमा चालक र सहचालक उपत्यकामा भित्रिइरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
काठमाडौं भित्रिने मालबाहक सवारीका चालक र सहयोगीहरुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्थित प्रणाली नहुँदा कोरोना संक्रमणको जोखिम भने कायम रहेको छ ।
संक्रमण बढ्दै जाँदा सरकारले काठमाडौं उपत्यका छिर्न कडाइ गरे पनि संक्रमित जिल्लाबाट आउने मालबाहक सवारीका चालक र सहयोगीहरुको व्यवस्थित स्वास्थ्य परीक्षणको प्रबन्ध गरिएको छैन ।
६ गतेयता तीन दिनमा मात्रै ४ हजार २ सय ८१ ट्रक, टिपर र लाइट गाडी काठमाडौं भित्रिएको महाशाखाले जनाएको छ ।
सबै गाडीमा ७ हजार ६९ जना काठमाडौं प्रवेश गरेका छन् । पछिल्लो तीन दिनमा ३ वटा बस भक्तपुरको जगाती नाका हुँदै काठमाडौं भित्रिए, जसमा ४९ जना यात्रु थिए ।
बिहीबार बिहान ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मको २४ घन्टामा १४ सय ६ वटा ट्रक र टिपर भित्रिएका छन् । जबकि यही समयमा ३ सय ५१ हलुका सवारीसाधान र एउटा बस भित्रिएको छ । ट्रकरटिपरमा २४ सय ४७ जना, हलुका सवारीबाट ६ सय ९४ जना र बसबाट १३ जना उपत्यका भित्रिएका छन् ।
संक्रमणको जोखिम धेरै भएको प्रदेश २ र वाग्मती प्रदेशबाट उपत्यका भित्रिने सवारीहरुको संख्यामात्रै ५ सय ५९ रहेको छ । संक्रमणको जोखिम भएका जिल्ला हुँदै सवारीसाधन काठमाडौं भित्रिँदा चालक र सहयोगीबाट संक्रमण फैलिने जोखिम देखिन्छ ।