कोभिड–१९ को सङ्क्रमणबाट निको भई तीन दिनमा ३३ घर फिर्ता

कोभिड–१९ को सङ्क्रमणबाट निको भई तीन दिनमा ३३ घर फिर्ता

  • शुक्रबार, जेष्ठ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, ९ जेठ । कोभिड–१९ को सङ्क्रमणबाट निको भई अस्पतालबाट घर फर्किनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । तीन दिनमा ३३ जना सङ्क्रमित स्वस्थ भई घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजमात्र नेपालगञ्जका २१ जना बिरामी एकैपटक सङ्क्रमणबाट निको भई घर फर्किएका छन् । एकैपटक स्वस्थ भई फर्कनेमध्येको ठूलो हो । बुधबार कोशी अस्पतालमा आठ र बिहीबार चारजना काठमाडौँबाट कोरोनालाई पराजित गर्दै घर फर्किएका थिए । अहिलेसम्म ७० जना बिरामी पूर्णरुपमा निको भई घर फर्किसकेको सहप्रवक्ता डा अधिकारीले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमितको अस्पताल बसाइ औषत २० दिन ८ घण्टा रहेको छ ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचारपश्चात् घर फर्किएका मध्ये नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना रहेका छन् ।

बिहीबार काठमाडौँकी ३३ वर्षीया महिला, पर्साका ३७ वर्षीय पुरुष, भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीया पुरुष टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट नौ दिनमा घर फर्किएका थिए ।

बुधबार कोशी अस्पतालमा उपचार गराइरहेका उदयपुरका आठजना घर फर्किएका थिए । चीनको वुहानबाट आएका पहिलो सङ्क्रमित २२ दिन अस्पतालमा उपचार गराएर सञ्चो भएका थिए । गत माघ ९ गते सङ्क्रमण देखिएका उनी गत फागुन ३ गते घर फर्किएका थिए ।

यसैगरी दोस्रो सङ्क्रमित काठमाडौँकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ २७ दिन उपचारपश्चात् घर फर्किएकी हुन् । गत चैत १० गते सङ्क्रमण देखिएकी उनीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भएको थियो ।
अस्पतालका निर्देशक डा सागरराज भण्डारीले सङ्क्रमितमा दुई किसिमले पूर्णरुपमा स्वस्थ अवस्थामा घर फर्किने बताउनुभयो ।

उहाँका अनुसार पहिलो ४८ घण्टामा दुईपटक कोभिड–१९ नेगेटिभ रिपोर्ट आएपछि र अर्को क्लिनिकल्लीरुपमा सङ्क्रमितमा कुनै समस्या नभएपछि मात्र घर फर्किइने छ ।

“सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भनेर सङ्क्रमितलाई आइसोलेशनमा राखिन्छ”, उहाँले भन्नुभयो, “कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमित पूर्णरुपमा स्वस्थ भएको हुन्छ ।”

उहाँका अनुसार खोकी, स्वासप्रस्वासमा समस्या नआउने, ज्वरो, थकाई नलाग्ने, पेट नदुख्नेजस्ता समस्या पूर्णरुपमा निको भएपछि सङ्क्रमितको कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट आएपछि मात्र घर फर्किइने छ ।

घर फर्किएपछि पनि सङ्क्रमितमा फेरि पनि सङ्क्रमण बल्झिने खतरा भएकाले घरमा एक्लै बस्नुपर्ने हुन्छ । उहाँले पूर्णरुपमा निको भई घर फर्किएपछि १४ दिनमा पुनः कोभिड–१९ परीक्षण गरिने बताउनुभयो ।

“अहिलेसम्म हामीले बिरामीको लक्ष्यणका आधारमा औषधि चलाएका छौँ । गम्भीर औषधि चलाउनुपरेको छैन”, उहाँले भन्नुभयो, “ज्वरो, रुघाखोकी, पेट दुख्ने सामान्य प्रकारको औषधिबाट सङ्क्रमित निको भएका छन् ।” हालसम्म ४८७ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी