जेष्ठ ९,बुटवल । बिहिवार बिहान रूपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएका गुल्मीका कोरोना संक्रमितको शव अझै अस्पताल मै राखिएक छ ।
मृत्यु घोषणा भएको २६ घण्टा बितिसक्दा पनि रूपन्देहीको क्रिमसन अस्पतालमा नै मृतकको शव रहेको छ । बिहीबार बिहान ७ बजेर १० मिनेट जाँदा मृत्यु भएका कोरोना संक्रमितको शव अहिलेसम्म उठ्न सकेको छैन ।उनको शव अस्पतालको आईसीयू बेडमा नै रहेको छ ।
स्थानीय प्रशासनले शव अस्पतालकै सुरक्षाकर्मी वा स्वास्थ्यकर्मीले बाहिर निकालिदिनु पर्ने जनाएको छ भने अस्पताल प्रशासनले मृत्यु भइसकेको संक्रमितको शव सुरक्षाकर्मीले नै व्यवस्थापन गर्नु पर्ने अडान राखेपछि मृत्यु भएको दुई दिन भईसक्दा पनि शव नउठेको हो । तिलोत्तमा नगरपालिका–३ मगरघाटमा शव जलाउने स्थानीय प्रशासनको तयारी रहेपनि कस्ले शव उठाउने भन्ने कुरामा सहमती नहुँदा शव व्यवस्थापनका लागि दुई पटक शववाहन अस्पताल परिषरमा पुर्याएर फर्काइएको छ ।
शव उठाउने बिषयमा छलफल गर्न जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैठक बसिरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी जनक थापाले जानकारी दिए । कार्यविधिमा स्पष्ट उल्लेख नभएकाले अस्पतालबाट शव निकाल्नै समस्या परिरहेको प्रशासनको भनाई छ ।
अस्पतालमा जेठ १ गतेदेखि उपचार गराइरहेका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका शिक्षकलाई जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कार्यविधिमा संक्रमितको मृत्यु भइसकेपछि सुरक्षा सामग्रीको प्रयोग गरेर सकेसम्म छिटो शव व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।
ट्राभल हिस्ट्री नभएको र भारत वा तेस्रो मुलुकबाट आएका व्यक्तिको सम्पर्कमा समेत नभएकाले उनका परिवार र आफन्तले पुनः परीक्षणको माग गर्दै आएका छन् । उनले बुटवल आउनुअघि स्वास्थ्य परीक्षण गराएका अर्घाखाँचीस्थित छायाँ पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको छ ।
त्यस्तै क्रिमसन अस्पतालकै १९ स्वास्थ्यकर्मीको पनि रिपोर्ट नेगेटिभ आइसकेको छ । परिवार, आफन्त र अन्य स्वास्थ्यकर्मी गरी ४० जनाको रिपोर्ट आउन बाँकी रहेको जनाईएको छ ।