दार्चुला, ८ जेठ । भारतद्वारा अतिक्रमित भूमि लिपुलेकमा नेपालको राष्ट्रिय झण्डा राख्न हिडेका नेत्रविक्रम चन्द समूहका आठ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका उनीहरुलाई बिहिवार प्रहरीले व्यास गाउँपालिका– २ दुम्लिङबाट पक्राउ गरिएको हो ।
कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि नेपालको भएको र नेपाल सरकारले उक्त सीमा क्षेत्र समेटेर नक्सा सार्वजनिक गरेपनि भारतले त्यसलाई अस्वीकार गर्ने बताएपछि उनीहरु नोपलको झण्डा बोकेर लिपुलेक हिँडेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले पक्राउ गरेको पुष्टि गर्नुभएको छ ।
प्रहरीले नियन्त्रणमा लिएर सदरमुकाम खलङ्गा ल्याइरहेको विष्टले बताउनुभयो । प्रहरीले लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेशसिंह विष्ट, दीपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउद, दीपक साउद र जनकसिंह साउदलाई नियन्त्रणमा लिएको छ । जीवन यसअघि पनि कालापानी जान भन्दै सदरमुकाम खलङ्गामा प्रचा वितरण गर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । लकडाउनको अवस्थामा कालापानी लिपुलेकस्थित सीमा जान भनेर व्यासको दुम्लिङ पुगेको अवस्थामा पक्राउ गरेको प्रहरीको भनाई छ ।