जेष्ठ ८ काठमाण्डौं । लकडाउनको बेला महामारीको जोखिमको अवस्थामा समेत उपभोक्ताको घर घरमा ग्यास वितरण, ढुवानी जस्ता कार्यमा खटिरहेका निगमका कर्मचारीहरूकाे स्वाब संकलन सुरू गरिएको छ । पहिलाे दिन बिहिवार निगमका १ सय ४७ जना कर्मचारीकाे काेराेना परिक्षणका लागि स्वाब संकलन गरिएकाे छ ।
टेकु स्थित कार्यालयमा स्वाब संकलन शुरु गरिएको जानकारी दिदैँ आयल निगम आधिकारीक ट्रेड युनियनका अध्यक्ष गोपाल चन्द्र राईले जोखिममा पनि अहोरात्र अग्रपक्तिमा खटिरहेका सबैको देशै भरी नै स्वाब परीक्षण गरिने बताउनु भयाे । सबै प्रादेशिक कार्यलयहरुमा पेट्रोलियम पदार्थ ढुवानी तथा वितरणमा खटिरहेकाहरुलाई पिसिआर बिधिबाट परीक्षण हुने अध्यक्ष राईले बताउनु भयो ।

ग्यास बोकेर उपभोक्ताको घर-घर पुर्याउने टेकु बिक्री केन्द्रमा खटिएका कर्मचारी, भारतबाट हवाई इन्धन भित्रिने सिनामंगल डिपो, अमलेखगन्ज तथा भारतबाट इन्धन आयात हुने थानकोट डिपो र प्रधान कार्यालयका अग्रपक्तिमा खटिने कर्मचारीको परिक्षण शुरु भएको निगमले जनाएको छ ।

अध्यक्ष राईले निरन्तर खटिरहेका कर्मचारीहरुको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर परीक्षण गराउने काम शुरु भएको बताउनु भयो ।



