आज म व्युंँझिएको छु सरकार
तिमि कस्तो रुप लिइ आउंँछौ भनेर
झुप्रोबाट सहिद बलिदानको प्रतिफल कुरेर बसेकी नेपाल आमा
तिम्रो विरासतको कारण आक्रोशित भएकी छिन
अनि भन्छिन नेपाल आमा
अब म जिरा पिस्ने सिलौटोमा बारुद पिस्नेछु
मेरो दुधको लाम्टा काटेर आफ्नो जिब्रो पड्काउने सन्तान देखेर
आज मेरो माया दिनानुदिन मात्रै मर्दै छैन
मेरो छोरा अमरको सपना महल भित्र बस्नेले भुलिदिदा
म जिरा पिस्ने सिलौटोमा बारुद पिस्न विवश भएकी छु
मेरी बेपत्ता भएकी छोरीले ल्याइदिने कोशेली चपाएर
भ्रष्ट वैरिको राज र लुटको स्वर्गमा रमाउनेलाई
मेरो आसुले मात्रै खन्ने छैन
मैले बाल्ने उज्यालोको स्विच दबाउदै तिम्रा साइरन वाला गाडी उडाईदिनेछु
म धेरै दुखी छु भन्छिन सहिदकी आमा
मेरो काख रित्याएर राष्ट्रघाती महाराज बनेको देख्दा
म मेरा असंख्य रात्रीहरु अनिदो बस्न विवश छु
यसैले म आज जिरा होइन बारुद बनाउन लागेकी छु
निर्दोष र निहत्था मेरा सन्तान मारिएको त्यो क्षण सम्झेर
आज मेरा सिरानी मात्रै भिजेका छैनन्
म आसुले मुख धोएर हिड्न विवश छु
हिजोका सुराकीको सामु म यति दुस्खित छु कि
उनीहरु मेरो रित्तो घर तिर फर्केर रमिते बनेर हास्दा
मेरो कानबाट अत्याचार र अन्यायका बिरुद्द
आगा जस्ता ज्वालाहरु निस्कन थालेका छन्
म बुढी भएकी छु तर मेरो उर्जा अब जवान हुदैछ
मेरो आसुले लुटको स्वर्गको रमाइलो
छिटै समाप्त गर्न अरु हजारौ सन्तान जन्माउदै मात्रै छैन म
तरकारी पकाउने कराइमा तेजाब उमाल्दैछु
मैले पिउने पानीको करुवा भित्र बारुद भर्दै
राष्ट्रघाती दलालको अन्त्यको सपना देख्दै
म हरेक बिहानीमा नौलो बिहानीको कामना गर्दैछु
मेरो च्यात्तिएको चोली र रित्तिएको काखमा
मेरो अमर छोरा र क्रान्तिको मिठो फल ल्याउने सपना बोकेर
सहिद भएकी मेरी प्यारी छोरीको सपना साकार पार्न
म बुढी झन्झन् जवान उर्जा भर्दैछु
मैले हिजो मकै बोकेर हिड्ने पोल्टोमा मैले आज मकै होइन
मैले हिजो हसिया बोक्ने खुप्रेटोमा आज हसिया हैन
खुकुरी बोकेर हिड्न थालेको छु
मेरो दुधको लाम्टा काटेर भुँडी भर्ने कपुत भ्रष्टको बिरुद्द
मैले आज बारुद पिस्ने गरेको सिलौटो पनि
बम र गोला अनि बारुदको रुप लिएर बसेको छ
हिजो मेरो सन्तान मारेर,
हिजो मेरो बालापोथारीको ज्यान लिएर हिड्ने ज्यानामाराहरुले
आज मेरो उजाड र उदास भएको झुपडीमा पाइला टेक्ने कुरा त परै जाओस
उसको सभा र समारोहमा भ्रम छर्न
मेरो हत्या गरेको छोराछोरीको नाम सम्झाउदै
२५ रुपैयाको दोसल्ला ओढाइदा
म हिजो सान्त्वनाको अनुभूत गर्थे
ूआज म बदलिएको छु छोराू
भन्छिन सहिदकी आमा
अनि विद्रोहको पुस्तक कन्भेक्स लेन्स भएको चश्माले पढ्दैछु
म हिजो रोए,शोकले झन्डै मरे
तर आज म बलियो भएको छु
मैले हजारौ बिद्रोही सपुत र सन्तान जन्माउदैछु
जसले लुट र भ्रष्टको चिहान बनाउन
र मेरो सपना सजाउन रणमैदानमा हार्ने छैनन् छोरा
यी सहिदकी आमाको मनोबल सुनेर आज यो विद्रोही मन पनि
झनै उर्जानुभुती गर्दैछ
सहिदकी आमाको सपना च्यात्नेलाई अपराधी देख्दैछ
निर्दोष समर्थनहरु आज ब्युझिरहेका मात्रै छैनन्
सहिदकी आमा बलिदानको निमित्त तयारी गर्दै रैछन
र भन्छिन गहभरि आँसु झार्दै
अब म मेरो मारिएको छोरालाई सहिद बनाउनेछु
सम्बोधन र सम्मान गर्ने व्यवस्था ल्याउनको निमित्त
म पनि सहिद बन्न चुक्ने छैन
सहिद बालक,सोमबहादुर,अनिस,चेतना,गोविन्द,आस्था,छायादेवी र प्रीतहरुको रगत पोखिएको भूमिमा आज चेतनाको दियो बाल्न
हतारिएकि छिन नेपाल आमा
बेपत्ता अरुण,प्रख्यात लगायत २७०० भन्दा बढी सन्तानको बाटो हेर्न
अझै पनि छोडेको छैन भन्छिन बेपत्ताकी आमा
बलिभेदिबाट सकुशल फर्किएका प्रसन्न , रबिन्द्र,भूमिका,संजोग शरिक ,नम्रता लगायत हजारौ नेपाल आमाका महान सन्तानहरु
अधुरो र अपुरो क्रान्तिको कारण दुखित भएको अनुभूति पस्कन्छन
उता उनै महान सहिदका महान आमा र बुवाहरु
झुटो र बुर्जुवा भाषणलाई खेद व्यक्त गर्दछन
सेनाका ब्यारेकहरूमा मरणासन्न अवस्थाहरु सहन गर्न विवश
नम्रता,प्रसन्न लगायत
हजारौ युद्दका घाउहरु अझै नपुरिएकोमा
अत्यन्तै दुस्ख व्यक्त गर्दछन घाइतेका आमाहरु
बृध्दा अवस्थामा बुढेसकालको सहारा नभएकोले
बृध्दाश्रम धाउन विवश रहेछन
सारा सहिद र बेपत्ताका आमाहरु
महल र दरबारमा पुगेर क्रान्तिका कुरा गर्नेहरु
आफ्नै सात पुस्ता एक रातमा धनी बनाउन
अभ्यस्त रहेछन कमाउ अभियानका सर्वहाराहरु
यसैले सहिदकी आमा बारुद पिस्दैछिन
घाइतेकि आमा धावा बोल्दैछिन
बेपत्ताकी आमा बाटो हेर्दैछिन
कयन अरु आमाहरु सहाराको अभावमा बृध्दाश्रम धाउँदा
सर्वहाराका अगुवाहरु रातारात आफ्नो बिरासत साध्दै गर्दा
लुटको स्वर्गमा निभ्न आटेको बत्ति झैँ धिपधिप बल्दैछन्
धिपधिप बल्दैछन्
अनि लेखिदैछन् विद्रोही मनका यी रक्तिम कविता ।