झुपडीको बास ,
खोले सिस्नुको गाँस ,
र नाङ्गा भुतुङ्गा शरीरहरु वरपर ,
पुर्याइदिन नसक्दा कपास,
हो यो सबको जिम्मेवार मै हुँ छोरा ,
यसको लागि झुकाएर शिर
के तिमी संग माफी माग्नु पर्छ ?
यदि हुनु पर्छ मैले क्षमाप्रार्थी यसमा भने,
धेरै ठाउँ छन् तिमी सँग माफी माग्नु पर्ने ,
भोको पेट र नाङ्गो हरमा लठ्ठी हान्दै
बिद्यालय खेदेरै तिमीलाई विद्वान बनाएकोमा ,
गुरुहरुले क ख र सिकाइ रहँदा,
समयले छल कपट घोकाइरहँदा ,
मैले तिमीलाई केही सिकाउन सकिनँ,
न सिकाएँ माथिल्ला कोटीका
दौराका फेरहरु घोटी घोटी धुन,
न सिकाएँ अड्को पड्कोमा
पेटिकोटका तुनाहरुमा रुमलिन ,
लाग्छ तिमीलाई माला-माल बन्ने चाहिने
मैले केही दिएकै छैन।
यहाँ नरोपी फल्दैन बाबू ,
मलाई माफ गर मैले तिम्रो लागि
केही रोप्नै सकिनँ,
तिमी दरबारको न छोरा हौ,
न जुँवाई ,
न आसेपासे,
न कुनै दलको निम्तो लियौ,
न झन्डा बोकेर हड्तालमा हानियौ,
न कजाई आफुलाई रजाइँ कहाँ मिल्छ र बाबु ?
यो बोधो र सोझो गिदी यहाँ काम लाग्दैन छोरा !
यो बिर्ता भइसकेको दुई हात माटोमा तिम्रो केही छैन
यदि तिमीलाई छोप्नु छ आमाको लाज भने,
जोगाउनु छ सुहागन भने,
अनि धेर थोर सम्बोधन गर्नु छ भने
तिम्रो नाकको टुप्पोको गरिबीलाई ,
भोलि सखारै हेलिनु खाडीको बाडीमा
अनि पठाउनु केही थान खुसीहरु
किनारै किनारको बाटो गरि ।।
गोर्खा, नेपाल
हाल : न्युजिल्यान्ड