कथा: खोटो नजर

कथा: खोटो नजर

  • बुधबार, जेष्ठ ७, २०७७
  • - अशोक कुँवर 'नेत्र'

  • 22.1K
    SHARES

कथा लोककथा शैलीको छ तर यसले हाम्रो नेपाली समाजको नकारात्मक चरित्र अर्थात् खोटो नजरको स्पष्ट चित्र उतारेको छ । कथा यसरी सुरु हुन्छ :

कुनै एउटा गाउँमा अरूको जस्तै एउटा परिवार बस्दथ्यो, परिवारमा एउटा लोग्ने र उसकी स्वास्नी गरी दुई जना सदस्य मात्र थिए ।

लोग्ने सारै अपजसी थियो । आफ्नी स्वास्नीले आफ्ना लागि जति नै राम्रो काम गरे पनि कुनै न कुनै बहाना झिकेर ऊ स्वास्नीलाई गाली गर्न पुग्दथ्यो । लोग्नेको यही बानी देखेर स्वास्नी आफूबाट सकेसम्म गल्ती नहोस् भनी सजग हुने गर्दथी । पढे लेखेको नभए पनि समय परिस्थितिअनुसार ठिक तरिकाको निर्णय लिन सक्ने खुबी उसमा थियो ।

एक समय यस्तो आयो लोग्नेलाई स्वास्नीले कुनै किसिमको पनि गुनासो आलोचना गर्ने मौका दिइन । यो देखेर अपजसी लोग्नेको मनमा अनेकौँ किसिमका कुरा खेल्न थाले, “यो थाङ्नीलाई कसरी गाली गर्ने ?, निहुँ कसरी झिक्ने ?, कुनै तरिकाले पनि गाली गर्ने मौका दिनै छाडी, कसरी बहाना झिक्ने ?……”

बिहानको करिब १० बजे खाना खाने बेला भयो । घरमा उस्तो त धनधान्यको अवस्था थिएन तर पनि स्वास्नीले सबै दरिद्रता लुकाएरै लोग्नेका निम्ति सकेको मिठो मसिनो तयार पारी । तिहुन, सब्जी, चट्नी, भात, दाल केहीमा पनि खोट लगाउने ठाउँ थिएन ।

लोग्नेले स्वास्नीको यो कला देखेर मन प्रसन्न बनाउनुको साटो स्वास्नीको क्षमताउपर डाहा जनायो । “यो भुसुनीले आज पनि मलाई खानामा टीका टिप्पणी गर्ने मौका नदिने भई ।”
उसको आँखा गल्ती औल्याउँदै थियो । उसले रिकापीमा गोलभेँडाको अचारसँगै खुइलाएर राखिएको कुखुराको उसिनेको अन्डा देख्यो । “अरू त के अब यही अन्डामा खोट देखाउनुपर्‍यो ।, उसले विचार गर्‍यो अनि झट्पट स्वास्नीलाई भन्यो, “राँड, आज मलाई अम्लेट खाऊ भन्ने थियो । यसले त अन्डालाई उसिनिछे ।”

“ए, मैले त हजुरले उसिनेको अन्डा खानुहुन्थ्यो कि भनेर उसिनिदिएँ । पसलमा गएर अर्को अन्डा ल्याएर एकै छिनमा बनाइदिन्छु नि त ।”, तत्काल उपाय झिक्दै स्वास्नीले उत्तर दिई ।

“भो राँड । अब खाना बुत्याउने बेला अन्डा पकाउने कुरा गर्छे । आफूलाई बढो समझदार भन्ठान्छे तर गति (बुद्धि) भने दुई पैसाको छैन ।” स्वास्नीको झाँको झार्न पाएकामा लोग्ने सन्तुष्ट मन लिएर बस्यो । स्वास्नी आफ्नो कमजोरीउपर लज्जित हुँदै थकथकाएर बसी । उसले अब भोलि बिहानको खानामा चाहिँ लोग्नेका निम्ति अम्लेट बनाउने दृढ सङ्कल्प गरी ।

भन्दाभन्दै भोलिपल्ट भयो । स्वास्नीले लोग्नेका निम्ति निकै जाँगर लगाएर खाना तयार पारी । घरमा भएको, नभए छिमेकबाट पैँचो लिएर आएको सबै आवश्यक सामग्री हालेर छिमेकसम्म नै मगमग बास्ना आउने गरी भान्सा तयार पारी । भान्सामा अघिल्लो दिन लोग्नेले मन गरेको अम्लेट पनि बनाएकी थिई ।

भान्साको समय भयो । लोग्नेले आफ्ना निम्ति तयार पारेको सबै परिकार एक एक गर्दै नियाल्यो; दाल, भात, चट्नी, काँक्राको सलाद, सब्जी, तिहुन…… कुखुराको अन्डाको अम्लेट ।

फसाद । आज लोग्नेको मुख बन्द हुने गरी अम्लेट बन्यो । उसले हिजोको कुरा सम्झियो, “राँड, आज मलाई अम्लेट खाऊँ भन्ने …… ।”

“अब के गर्ने ?, के भन्ने ?”, ऊ बिलखबन्दमा पर्‍यो र तत्काल उपाय निकाल्दै भन्यो, “यो ओथारे आइमाई, आज मलाई उसिनेको अन्डा खान मन लागेको दिन अम्लेट बनाइछे ।” उसले भुन्भिनिएको, मुर्मुरिएको जस्तो हाउभाउ गर्‍यो ।
“माफ पाऊँ हजुर, हजुरले हिजो अम्लेट खाने मन गर्नुभएकाले मैले आज अम्लेट बनाएकी थिएँ । अब पसल गएर अन्डा ल्याएर बनाऊँ त ? एकै छिन त हो ।”
“भो परेन राँड । लगन पछिको पोतेको के काम ?” आज पनि स्वास्नीलाई झाँको झार्न पाएकामा लोग्नेले सन्तुष्ट मन बनायो । स्वास्नी भने आफ्नो कमजोरीउपर फेरि पनि दुखी बनी । उसले अब भोलि चाहिँ पसलबाट दुइटा अन्डा ल्याउने, एउटालाई अम्लेट र अर्कोलाई उसिन्ने, लोग्नेले जे खान्छन् – खान्छन्, बाँकी आफूले खाने निर्णय गरी ।

भोलिपल्ट उस्तै मिहिनेत गरी भान्सा तयार पारी । “लोग्नेले आज चाहिँ खोट देखाउने कुनै ठाउँ राख्दिनँ ।”, आफ्नो पत्नीधर्मलाई समेत हेक्का राख्दै उसले विचार गरी ।

भान्साको समय भयो । लोग्ने सदा झैँ भान्साका निम्ति आयो । यसो हेर्‍यो, खोट लगाउने ठाउँ कतै पनि छैन । आज त अम्लेट चाहिए अम्लेट, उसिनेको अन्डा चाहिए उसिनेको अन्डा । लोग्नेलाई आज फसाद पर्ने भयो । “स्वास्नीले आज खुब विचार पुर्‍याइछे ।”, उसलाई लाग्यो । अनि निकै बेर भान्साको परिकारउपर नजर दौडाएपछि भन्यो, “राँड, तैँले आज पनि बर्बाद गरिस् । जुन अन्डा उसिन्नुपर्ने थियो त्यसलाई तैँले अम्लेट बनाइछेस् अनि जुन अन्डा अम्लेट बनाउनुपर्ने थियो त्यसलाई तैँले उसिनिछेस् ।”

स्वास्नीले लोग्नेको पारा देखेपछि निःशब्द भई अनि लोग्नेको अनुहार ट्वाल्ल परेर हेरिरही ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी