जेष्ठ ५ बारा । आज बिहान बारामा भेटिएका कोरोना संक्रमित स्थानीय रेडियोमा कार्यरत पत्रकार भएको पुष्टी भएको छ र
करैयामाई गाउँपालिका ५ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
पर्साका दुई पत्रकारमा कोरोना संक्रमण देखिएपछि नेपाल पत्रकार महासंघ बारा शाखाको पहलमा बारामा ४३ संचारकर्मीको स्वाब परीक्षणका लागि पठाइएको थियो । स्वाब संकलन गरिएकामध्ये एकजनाको पीसीआर पोजिटिभ आएको हो ।
संक्रमित पुरुषलाई प्रशासनको सहयोगमा कलैयास्थित कोरोना अस्पतालमा पठाउन लागिएको पत्रकार महासंघ बाराका अध्यक्ष कमलकुमार उपाध्यायले जानकारी दिए । संक्रमित पुरुषको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु गरिएको छ ।
योसँगै बारामा संक्रमितको संख्या चार पुगेको छ । यसअघि जिल्ला प्रहरी कार्यलय बारामा कार्यरत एक प्रहरी जवानसहित जीतपुरसिमरा उपमहानगरपालिकाका २ र बिश्रामपुर गाउपालिकाका १ पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।