बिराटनगर ५ जेष्ठ । समाजमा अपराध पनि अनेक तरीकाले बृद्धि भएको छ । यसै क्रममा विराटनगरका औषधि व्यवसायी देवी प्रसाद दुलालको हत्या उनकै श्रीमतिले प्रेमीसगँ मिलेर गरेको खुलासा भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका ३३ वर्षीयदेवीप्रसाद दुलालको हिजो बिहान विराटनगर महानगरपालिका–१० मधुमारामा हत्या भएको अवस्थामा फेला परेका थिए ।
विराटनगरमा औषधि व्यवसाय गर्दै आएका उनको हत्यामा श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल र उनका प्रेमी सिरहाको लाहान नगरपालिका–११ घर भएका २१ वर्षीय ब्रह्मदेव साहको संलग्नता रहेको खुलेको छ ।
हातमा पञ्जा लगाएर फिंगर प्रिन्ट नआवोस र प्रमाण नष्ट होस् भन्ने हेतुले प्लाष्टीकको डोरीले घाँटी कसेर हत्या गरेको देखिएको प्रहरीको भनाई छ ।
सुतेका समयमा प्लाष्टिकको डोरीले घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीको भनाइ छ । हातमा पञ्जा लगाएर डोरी प्रयोग गर्दै हत्या गरेको खुलेको छ ।
ब्रह्म्मदेवले खुट्टा र शरीर थिचेपछि श्रीमतीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । घाँटी कसेपछि थाहा पाएर उठ्न खोज्दा झ्यालमा ठोक्किएर देवीप्रसादको वायाँ आँखामा चोट समेत लागेको प्रहरीको भनाइ छ ।
दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नामको औषधिको डिलर सञ्चालन गर्दै आएका थिए । ओछ्यानमै बेहोस अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि आइतबार बिहान ३ बजे अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउनसाथ मृत घोषित गर्दै चिकित्सकले मृत्यु अस्वभाविक रहेको जनाएपछि घटनाका बारेमा अनुसन्धान थालिएको एसपी अधिकारीको भनाइ छ । अनुसन्धानबाट घटना हत्या नै हो भन्ने पुष्टि भएको जानकारी प्रहरीले दिएको छ ।
दुलालको नाक, हात, घाँटी र वायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव थियो । उनी सुतेको ओछ्यानमा रगत लतपतिएको थियो भने घाँटीमा डोरीले कसेको डाम थियो। शनिबार राति औषधि व्यवसायीहरु धनबहादुर काफ्ले, हरिमोहन श्रेष्ठ र मृकत दुलालसहित दुलालकै डेरामा बसेर मदिरा सेवन गरेको खुलेको छ। काफ्ले र श्रेष्ठ राति ९ बजे दुलालको डेराबाट बाहिरिएका थिए।
त्यसका आधारमा प्रहरीले काफ्ले र श्रेष्ठ तथा दुलालकी श्रीमती मीनासँग सोधपुछ गर्दै घटनाको अनुसन्धान अघि बढाइएको जनाएको छ ।
दुई जना त्यहाँबाट निस्किएपछि प्रेमीसँग मिलेर श्रीमतीले राति ११ बजे दुलालको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरी नियन्त्रणमा रहेकी मीनाले सुरुमा भने श्रीमानलाई उच्च रक्तचापको समस्या रहेको र त्यही कारणले मृत्यु भएको हुनसक्ने भन्दै ढाँट्ने प्रयास गरेकी थिईन् । तर पनि प्रहरीले गंभीर अुनसन्धान गरेर उनको अपराध लुकाउने प्रयास सफल हुन दिएन ।
प्रहरीका अनुसार मीना र उनका प्रेमी ब्रह्मदेवबीच एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । ब्रह्मदेव चार वर्षदेखि दुलालकै औषधि डिलरमा काम गर्थे। त्यही क्रममा मीनासँग उनको हिमचिम बढेको चाल पाएर श्रीमान देवीप्रसाद दुलालले ब्रह्मदेवलाई पाँच महिनाअघि कामबाट निकालिदिएको खुलेको प्रहरीका एक अधिकारीले बताए । प्रहरीका अनुसार उनलाई कामबाट निकालेको विषयमा मीनाले श्रीमानसँग विवाद समेत गरेकी थिइन् ।
‘कामबाट निकालिदिएपछि पनि मीना र ब्रह्मदेवबीच फोन र सामाजिक सञ्जालमा निरन्तर सम्पर्क भइरहेको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘त्यो कुरा पनि श्रीमानले थाहा पाएर त्यसो नगर्न श्रीमतीलाई सम्झाई–बुझाई गरिरहेको समयमा हत्या गर्ने योजना बनेको पाइयो।’
प्रहरीका अनुसार प्रेममा बाधक बनेको भन्दै मीनाले शुक्रबार प्रेमीसँग सल्लाह गरेर हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यापछि बिरामी भएको देखाउन अस्पताल लगेर घटनालाई स्वभाविक मृत्यु भन्ने बनाउन खोजेको पाइएको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनामा प्रयोग गरिएको डोरी र पञ्जा विराटनगर–९ स्थित झाडीमा फेला पारेको छ । हत्यामा संलग्न ब्रह्मदेवलाई प्रहरीले आइतबार साँझ विराटनगरको बरगाछीबाट पक्राउ गरेको थियो । दुलालले आफ्नो औषधि डिलरबाट निकालिदिएपछि उनी बरगाछीको बुढाथोकी फार्मेसीमा काम गर्न थालेको पाइएको छ ।
दुलाल र मीनाको ८ बर्षको छोरा समेत छ ।