काठमाडौँ, ३ जेठ । नेपालमा कोरोना भाईरसबाट पहिलो पटक संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले आज साझँ विज्ञप्ति जारी गरी कोरोनाबाट पहिलो मृत्यु भएको पुष्टी गरेका हुन् ।
नेपालमा कोभिड –१९ बाट मृत्यु भएको यो पहिलो घटना हो ।
अहिलेसम्म कोरोना सङ्क्रमित ३६ जना उपचारपछि घर फर्किसकेका छन् ।
उहाँका अनुसार ती महिला गत वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई वैशाख २४ गते साधारण तरिकाले सुत्केरी भएकी थिइन् । सुत्केरी भएपछि ती महिला वैशाख २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक घर गएकी थिइन् । घरमा गएपछि ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराइरहेकी थिइन् । उनको स्थिति जटिल बन्दै गएपछि धुलिखेल अस्पताल आउँदै गर्दा बाटामा शुक्रबार बिहान मृत्यु थिएको थियो ।
यसैबीच आज फेरि दुई जनामा संक्रमण देखिएको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा धनुषाका २० र ६५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । मृत महिला र दुई अर्का नयाँ गरी संक्रमितको संख्या २८१ पुगेको छ । उहाँका अनुसार संक्रमितको स्वास्थ्यावस्था सामान्य भएको र ती स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।
मेलम्ची– प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले धुलिखेल अस्पतालमा मृत्यु हुनुभएका बाह्रबीसे नगरपालिका –९ राम्चेका सुत्केरीमा कोरोना पोजेटिभ देखिएको र निधन पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आउँदा दुःख व्यक्त गर्नुभएको छ ।
उहाँका अनुसार सम्बन्धित स्थान र जिल्ला कोरोना क्राइसिस मेनेजमेन्टका तर्फबाट बन्द गरिएको छ । सम्बंधित ठाउँमा आइतबार विज्ञ प्राविधिक टोलीले कन्ट्रयाक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परीक्षण गर्ने छ । धैर्य र सहयोगका लागि सम्बन्धित सबैमा अनुरोध गर्दै उहाँले मृतकप्रति श्रद्धाञ्जलिका साथ बिरामी नाबालकको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
दिउसै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल ल्याइएकी एक २९ वर्षकी महिलाको उपचारका क्रममा धुलिखेलमा मृत्यु भएको समाचार प्रकाशित भएको थियो ।
तर मन्त्रालयले विवरण संकलन भएको भन्दै पूर्ण विवरण सार्वजनिक गरेको थिएन ।
हेर्नुस् विज्ञप्तिः
