लम्बिदै लकडाउन, छोटिदै प्रवासिको आयु !

लम्बिदै लकडाउन, छोटिदै प्रवासिको आयु !

  • शुक्रबार, जेष्ठ २, २०७७
  • शिव पौडेल ,महाराष्ट्र भारत

  • 21.2K
    SHARES

थुनछेक जबर्जस्ती बेवास्ता र उपेक्षाले कहिले पनि राम्रो नतिजा दिदैन। पछिल्लो दुई दिनमा मात्रै नेपालमा कोरोनाका संक्रमितहरु झन्डै दोब्बर हुन पुगेका छन् । भारतबाट लुकेर चोर नाका हुदै सिधै गाउँ प्रवेश गर्नेहरूले महामारी फैलाउन लागे भनेर कोकोहोलो मच्चिदै छ । निकै हदसम्म यो सत्य पनि हो । तर यसको दोष संक्रमितलाई मात्र दिएर सरकार पानीमाथिको ओभानो बन्न पाउदैन । सोझो र सजिलो बाटो हुँदै सिमाभित्र प्रवेश गर्न पाएको भए कसैले पनि चोर नाकाको बाटो समातेर घर छिर्ने थिएन् । सिमा प्रहरीले सहज बनाउनु त कता हो अवरोध खडा गर्ने,महिनौ सिमानामा अलपत्र छाड्ने,बेवास्ता गर्ने,सिमामा आएकालाई फर्काएर भारततर्फ पठाउने,गिरफ्तार गरेर सजाय दिने,अपमान,छि छि र दुर दुर गर्ने गरेपछि त्यसरी त्यही ठाँउमा को पो किन जान्छ र ? भोका प्यासा निर्धा,निमुखाहरुप्रति प्रहरीले राम्रो व्यबहार गरेको भए,उपयुक्त ब्यबस्थापन गर्दै क्वारेन्टाइनको ब्यबस्था मिलाएको भए कोही त्यसरी छाडा भएर कोरोना छर्दै छरिने थिएनन् । नेपाल सरकारको अदुरदर्शी सोचको नेगेटिभ परिणाम देशभरी देखिन थालेको छ । अन्यत्र जस्तै नेपालमा पनि कोरोना आफै आएन । यसलाई निम्तो दिएर बोलाइयो र देशभर फैलाइदैछ । यसको अधिक भन्दा अधिक श्रेय केपि सरकारलाई जान्छ । भावनामा नबग्नु,सिमानामा कडाइ गर्नु ,कसैलाई छिर्न नदिनु भन्ने कडा उर्दिको नतिजा हो यो । आँठो पाटो,खेत खलियान,खोला र खालि भुभाग जताततै जोडिएको नेपाल भारतको खुला सिमाले गर्दा बाटो मात्र छेकेर बसेका दुई चार दर्जन प्रहरी पोस्टले कसरी रोक्न सक्थ्यो र कोरोनाले लखेटिएका नेपालीको हुललाइ !


भावनामा नबग्ने प्रधानमन्त्रीको निर्दयी मुटुको ढुकढुकी भावनाले गर्दा नै आजसम्म चलिराखेको छ । उहाँलाइ मिर्गौला दिएर अपांग भएका २ महिला दिदीहरु उहाँ जस्तै निर्दयी भएको भए आजको नेपालमा केपि ओलिको केही सम्झना मात्र बाँकी रहन्थ्यो होला । उनीहरु भावनामा बगे । केपीलाई बचाउन पर्छ भन्ने ठाने ।आफ्नो आधा प्राण उनलाइ दान दिए । त्यो दान सहि पात्रमा पारे या कुपात्रमा घोप्ट्याए त्यो उनैले जानुन् । तर टिबि भएर सक्किनै लागेको बेला दिशा बसाल्ने र आफ्नै हातले धोइदिने गरेका राधाकृष्ण मैनालीको कुरा मान्ने हो भने केपि असल पात्र हुदै होइनन्। उनलाई गुन लाउनेहरुलाई उनले बैगुन नै तिरेका छन् । नेपाली जनताले जिताएर प्रधानमन्त्री बनाए पनि उनले तिनै नेपालीका छोराछोरीलाई बिदेशमै सडाउन र मराउन उद्दत भएको देख्दा उनिभन्दा ठुलो खलनायक अरु कोहि होला जस्तो लाग्दैन।
समस्या सम्हाली नसक्नु भएको छ । सुनिदिने कोहि छैन । सरोकार पक्ष निर्मम भएर प्रस्तुत भएको छ । बोल्ने मन छैन । लेख्न मन पनि थिएन । केही साथीहरूले भन्नू भयो चुपचाप बस्नु पनि आफैलाइ सजाय दिनु जस्तै हो । चुप बसेर समस्या हल हुदैन। बोल्नु पर्छ ,बोलिरहेपछि सुन्नेलाइ सुन्न कर लाग्छ । तपाईं निरन्तर लेख्नोस तपाईंको लेखनमा लाखौं प्रवासिको आवाज मिसिनेछ । तपाईं लेख्नुस र लेखिरहनुस् । अनि मैले फेरि प्रवासीहरुको समस्याको पेटारी खोल्न विवश भएँ ।

मैले यी पंक्तिहरु लेखिरहँदा विभिन्न ठाउँबाट भोक,प्यास,प्रसुत,शोक र पत्नी बियोगका चित्कारहरु सुनिरहेको छु । हिजो मात्रै भारतको उत्तरप्रदेशको रामपुरमा एकजना महिला बहिनिको गर्भ तुहिएको छ । एक महिनादेखी त्यहाँ अलपत्र ९० जना नेपाली मध्य कि एक हुन् उनी । यसपछि उनलाई अस्पताल त पुर्याइयो तर खाली पोट्ली वालाको उपचार कस्तो हुन्छ हामी धेरैलाई अवगत भएकै कुरा हो ।
अर्को घटना केही दिन पहिलाको हो।भारतको पन्जाव जालन्धर बस्ने अर्घाखाँचीका एक नेपालीको घरमा श्रीमतीको देहान्त भयो।उनी भारत सरकारको स्थानीय तहको तजबिजमा नेपाल सिमानासम्म ट्याक्सी लिएर पुगे।तर नेपाल प्रहरीले स्वदेश प्रवेश गर्न दिएन।पत्निशोकमा परेको मान्छेको आँसु र पिडाले ती प्रहरीलाई छोएन।सायद प्रधानमन्त्रीको कठोर हृदयको केही अंश ती प्रहरीले पनि सापटी लिएका थिए।अनेकौं बिन्ती गरे पनि केही सीप नलागेर उनी त्यही गाडीमा पुनः पन्जाव फर्किन बाध्य भए।
हिजो एक दाजुले एउटा भिडियो अपलोड गरेका छन् । घरमा आमा बितेपछि उनी घर जान खोजे । यहाँको डिएमले पनि अनुमति दियो । तर सिमा प्रवेश गर्न कसैगरी नदिने नेपाल पक्षको प्रतिक्रिया पछि उनी गएनन् र अहिले उनी आमाको कृयाको लागि यहीँ कुनो बारेर बसेका छन् ।
पन्जाबकै लुधियानामा फास्टफुड चलाएर बसेका बीस जना नेपालीहरु अहिले खाने खर्च सकिएर यता उता हार गुहार गरीरहेका छन् । उनीहरु बसेको ठाँउ नजिकै ’राधाकृष्ण डेरा’ धार्मिक संस्था छ।उसले गरिब र असहायलाई खाना खुवाउने र घरमै र्पुयाउने सम्म गर्दो रहेछ । तर ती नेपालीहरुलाई खाना दिन इन्कार गर्यो । उसले ठाडो भाषामा भनेछ–“तिमीहरु त नेपाली हौ । हामी तिमीहरुलाई खाना खुवाउन सक्दैनौ । ” नेपाली भनेपछि यिनिहरु बिदेशी हुन् । इनलाइ पाल्नुहुदैन भन्ने कुरा अन्य ठाउँबाट पनि आएका छन् । केही दिन पहिलेसम्म केही भेद थिएन । लकडाउन लम्बिए सँगै विभेद पनि सुरु भएको छ । किनकी संकटको घडी अनिश्चित छ ।
प्रवासमा भएका संघ संगठनहरुले पनि निकै तदारुकताका साथ राहत दिने र्पुयाउने र विभिन्न समस्या समाधान गरीदिने गरेका छन् । सके आफै नसके यहाँको स्थानीय सरकारसँग समन्वय गरेर समस्याको निधान गरिएको छ।गुरुद्वारा,मन्दिर गुठी र कैयौं धनाढ्यहरुसँग हात जोडेर राहतको ब्यबस्था गर्दै यहाँसम्म आइपुगेको अवस्था हो।तर कहिले सम्म?झिकिरहेपछी त कुबेरको खजाना पनि खाली हुन्छ भने संगठनले कति धान्छ? धनाढ्यले कति पाल्छ ? मन्दिर वा गुठिले कति उपकार गर्छ ? लम्बिदै गरेको लकडाउनले अलपत्र नेपालीहरुको आयु छोट्याउदै गएको आभास हुन थालेको छ ।

नेपालमा आामको मृत्यु भए पछि भारतमै क्रिया बसेका एक नेपाली ः तस्वीर शिव पौडेल

हजारौं नेपालीले दूतावासमा फोन गरेका छन् । तर फोन उठ्दैन । न उठाउने फोनको नम्बर किन सार्वजनिक गरेको होला ?सबैको फोन उठाउन सम्भव हुदैन । तर संघ संस्थाका जिम्मेवार ब्यक्तिका नंबरमा आएको त रिसिभ गर्नुपर्ने, त्यो पनि छैन । चिनेका मान्छे पनि अपरिचित जस्तै उपेक्षित भएका छन् भन्ने सुनिन्छ किन?जनताको सम्पत्ति वा भत्ता खाएर कुम्भकर्ण जस्तो सुत्न पाइन्छ ?पाइदैनथ्यो तर सुतिरहेका छन्। दूतावास दूध नदिने गाइभन्दा बेकार भइसकेको छ ।
हामीले सांसद मन्त्री सचिव सल्लाहकार र विभिन्न जिल्लाका सिडियोलाई समेत सम्पर्क गर्ने गरेका छौं । उहाँहरुको एउटै साझा भनाइ आउँछ । “न आत्तिनुस् । जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षीत बस्नुस् । लकडाउन छ अहिले केही गर्न सकिन्न र मिल्दैन पनि । बरु खान बस्न समस्या भए म दूतावासलाई भनिदिन्छु ।” यस्तै अर्को जवाफ पनि आउने गरेको छ । नेपाल र भारत बिच सम्झौता भएको छ । यहाँ भएका भारतीयलाइ हामीले पाल्ने र त्यहाँ भएका नेपालीलाई त्यहाँको सरकारले पाल्ने । सुन्छौ, नेपालमा भएका भारतीय नागरिकहरुलाइ हाम्रो सरकारले राम्रो रेखदेख गरेको छ । उनीहरुलाई नेपालीलाई भन्दा राम्रो सुबिधा दिइएको छ । तर यहाँ त्यसको उल्टो छ । नेपालीमाथी उपेक्षा उपहास र दुरव्यवहार पनि हुन थालेको छ । हामीले ल्याएको होईन बोलाएर आएको पनि हैन । हामी पाल्दैनौ, तिमीहरु यो ठाउँ छोडेर गइहाल ।” अरु जेसुकै होस् नेपाल सरकार आफ्ना जनता प्रती उत्तरदायी नभए पनि भारतप्रती इमानदार र बफादार छ । त्यसैले उसले उत्तिकै आसा र भरोसा पनि गर्छ । तर प्रवासिहरुप्रति त्यो खालको व्यवहार भारतिय सरकारबाट हुने गर्दैन।

अब के गर्ने त ?

सजिलो त बस्न पनि छैन,जान पनि छैन। मरता क्या न करता । भोकले थलिएका मान्छेहरु हिंड्न सक्ने कुरा पनि भएन । कसरी हिंड्ने, कति दिन हिंड्ने?जो जहाँ बसे पनि अहिलेसम्म नेपाल सरकारको आसमा बसिएको हो । आश्वासन पनि त्यस्तै आएको थियोे।लकडाउन सकिन दिउँ र ल्याउनु पर्ला।तर यो लम्बिदै गएको छ।कोरोना झाङ्गिदै गएको छ । आज भन्दा भोलि कष्टकर बन्दैछ । हामी उज्यालो पर्खिरहेका छौ ं।अ ँध्यारो झन् बढिरहेको छ । हामी मुक्ति खोजिरहेका छौं तर हाम्रा पाउहरु जकडिदै गएका छन् । हामी हाम्रो सरकारको आस गरिरहेका छौ सरकारले झन् झन् निरास पारिरहेको छ । हामी स्वदेश आउन चाहन्छौ सरकार यहीँ सडाउन खोजिरहेको छ । हामी बाँच्न चाहन्छौ सरकार मराउन गइरहेको छ । हामी मर्नै परे हाम्रो माटो कुचेर मर्ने जिद्दी गरीरहेका छौं सरकार खबरदार भनिरहेको छ । कति मर्छौ, कति बाँच्छौ थाहा छैन। तर बाँच्नेहरु सरकारको खबरदारीको अवज्ञा गर्दै सिमा प्रहरीको बन्दुकको अगाडिबाट लाम लागेर भित्रीनेछौ । गोलि ठोक्ने आदेस दिएछ सरकारले भने पनि छाती थाप्ने हिम्मत यी प्रवासिले पनि गर्नेछन्।चाहे लेखियोस संसारमै एउटा नौलो इतिहास,जहाँ स्वदेश छिर्न खोज्दा आफ्नै देशको प्रहरीले गोलि हानेर र्मायो । देश छिर्ने सहिदको लिस्टमा पर्नु कैयौं श्रेयस्कर छ पराइ देशमा भोकले तड्पिएर मर्नुभन्दा ।
जननी जन्मभुमि स्वर्गदापी गरियसी
स्वधर्मो निधनम श्रेय परधर्मो भयावहः ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी