बैशाख ३० बीरगञ्ज । प्रदेश २ मा कोरोनाको हट स्पट बनेको बीरगञ्ज आसपासको क्षेत्रलाई ध्यानमा राखेर पर्सामा आजैबाट निशेधाज्ञा जारी भएको छ । जिल्लामा उच्च सतर्कता अपनाउन निशेधाज्ञा जारी भएको छ । साथै निशेधाज्ञा लागू गर्न सेना समेत परिचालन गर्ने निर्णय भएको छ ।
मध्य तराईको बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको हाे।
क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख २५ गते जारी भएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउँदै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
पर्साको वीरगंजबाट कार्यालयको काम तथा अन्य प्रयोजनका लागि बारा आवतजावत हुने (अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्स) बाहेक अन्य सवारी साधनहरुलाई पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ ।
संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत भोलिदेखि खारेज गर्ने निर्णय गरेको छ ।
भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।
त्यसैगरी पर्सामा कोरोना भाइरस (कोभिड —१९) को संक्रमण व्यापक बन्दै गएको र यसैक्रममा आज मात्र ३९ जनाको कोभिड —१९ को संक्रमण पुष्टि भएकोले संक्रमण अन्यत्र फैलन नदिन रोकथाम, नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन आज पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
बैठकले संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम आज साँझ ८ बजेदेखि २०७७ जेठ ५ गते राति १२ बजेसम्म पर्सा जिल्लाभरी लागू हुने गरी निषेधाज्ञा जारी गर्ने र उक्त निषेधाज्ञा अवधिभर लागू हुने गरी निम्न आदेशहरु जारी गर्ने निर्णय गरेको छ ।
निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरु घरबाहिर निस्कन पाइने छैन ।शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार, भन्सार, आइसीपि, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन बन्द रहने छ ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाउने बैठकको निर्णय छ ।
सीमाना जोडिएका सीमा नाकाहरु तथा खुल्ला सीमानाकाको जुनसुकै स्थानबाट यात्रुहरुको आवागमन निषेध गरिएकोमा लुकीछिपि मानिसहरुको आवागमन रोक्न सुरक्षाकर्मीहरुको व्यापक गस्ती बढाउन र अन्य जिल्लाबाट हुने मानिसहरुको आवातजावत समेत मिति २०७७ जेठ ५ गते राती १२ बजेसम्मका लागि बन्द गरिएको छ ।
भारतबाट नेपाल आउने तरकारी ढुवानी गर्ने मालबाहक साधनलार्ई रजतजयन्ती चौकमा मात्र पल्टी गर्न दिने । त्यस्तो तरकारीलाई अन्य जिल्लाको लागि मात्र ढुवानी गर्न दिने तर पर्सा जिल्लाको लागि ढुवानी तथा बिक्री वितरण गर्न नदिने बैठकको निर्णय छ ।
निषेधाज्ञा अवज्ञा वा अवलेहलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई आवश्यकता अनुसार बल प्रयोग गरी कारवाही समेत गरिने छ ।
कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा आएका सबै व्यक्तिहरुको शीघ्र कन्ट्रयाक्ट ट्रेसिङ्ग गरी चेकजाँचको कामलाई तीब्र पार्ने । यसको लागि जनशक्ति सहित थप उपकरण एवं स्वास्थ्य सामाग्रीको व्यवस्थाको लागि सम्वन्धित तालुक निकायहरुमा अनुरोध गर्ने समेत बैठकले निर्णय गरेको छ ।
यसका साथै कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त स्थानीय प्रशास ऐन, २०२८ को दफा ६ को उपदफा २ अनुसार नेपाली सेनाको समेत परिचालन गर्ने बैठकमा निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
हेर्नुस् विस्तृत आदेश :
