स्वाधीनता सम्बन्धी प्रथाका चोटिला १० मुक्तक !

स्वाधीनता सम्बन्धी प्रथाका चोटिला १० मुक्तक !

  • सोमवार, बैशाख २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.4K
    SHARES

मुक्तक – १

फूल भएर आऊ आज धागो बन्न सक्छु
रानो बनेर आऊ तिमी खागो बन्न सक्छु
जस्तो धोक्रो उस्तै कोक्रो स्पष्ट छन् कुरा
वारूद बनी आयौ भने आगो बन्न सक्छु !

मुक्तक – २

साँध मिच्यो सँधियारले बार अब लाउँछु
नाङ्गै नाच्यो सिमानामा तार अब लाउँछु
झुक्दिन म हैकमसँग गए गर्दन जाओस्
खिया लाग्या तरवारमा धार अब लाउँछु !

मुक्तक – ३

के के गर्यौ अहिलेसम्म खोल अब सरकार
सक्ने जति खतरा पनि मोल अब सरकार
परायाले माटो लुट्दा किन चुपचाप बस्छौ
ज्युँदै छौ कि मूर्दा भयौ बोल अब सरकार ?

मुक्तक – ४

थाहै नपाई झण्डा पनि कोरिएछ सरकार
सिमानाको दैलो आज फोरिएछ सरकार
खबर आयो लिपुलेकबाट मुटु घोच्ने गरी
चन्दनजस्तो माटो पनि चोरिएछ सरकार !

मुक्तक -५

हजारौं रूख भए पनि हेर्दा वन एउटै हुन्छ
सयौं चोट लागे पनि कुट्ने घन एउटै हुन्छ
सीमानाभित्रै दुष्ट छिरी माटो कुल्चिएपछि
छाती छुट्टै भए पनि दुख्ने मन एउटै हुन्छ !

मुक्तक – ६

आश बेच्यौ सास बेच्यौ सुवानी पनि बेच्यौ
शान बेच्यौ इमान बेच्यौ भवानी पनि बेच्यौ
नोटसँग भोट साँटी देशको ड्राइवर बनेपछि
माटो बेच्यौ पानी बेच्यौ जवानी पनि बेच्यौ !

मुक्तक – ७

स्वाभिमान कतै झुक्यो भने दास तिमी बन्छौ
विश्वासमा खोट लाग्यो भने तास तिमी बन्छौ
पाइँदैन यो जीवन पुनः आत्मसम्मानले बाँचौं
विचारको दियो निभ्यो भने लास तिमी बन्छौ !

मुक्तक – ८

छातीभित्र सिमाना दुख्छ भन मलम कहाँ गयो
सहन खोज्छु सहनै गाह्रो भन सलम कहाँ गयो
सँधियार नै दुष्ट परेछ हजुर भुलचुक माफी हुन्न
स्वाधीनताको गीत लेख्ने भन कलम कहाँ गयो ?

मुक्तक – ९

स्वाधीनताको मूल्य कति किन्ने बेला आएको छ
देशभक्तिको हिसाब अब छिन्ने बेला आएको छ
सिमानाको माटो लुछ्ने लुटेराहरूको विरूध्दमा
सत्तिससाल कि धँगेरी हौ चिन्ने बेला आएको छ !

मुक्तक -१०

घरमा तिहुन छैन आज जालापानी खोज्न जाऔं
शान मान भुइँमा खस्यो नालापानी खोज्न जाऔं
कति सहनु चुपचाप यसै सहनुको नि सिमा हुन्छ
माटो दुख्यो कठै आज कालापानी खोज्न जाऔं !!

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी