विराटनगर, बैशाख २४ गते । बिहिबार कोरोना संक्रमित भएर उपचार गराईरहेका मध्य ६ जना डिस्चार्ज भए । अरु २५ जना कोशी अस्पतालमै उपचारमा छन् ।
कोरोना भन्ने र सुन्ने वित्तिकै मान्छे त्रसित हुने स्थिति छ ।
यस्तो बेला चिकित्सकहरुले दिएका परामर्श गरेको उपचारबाट निको भएका जो कोहीलाई पनि खुसी प्राप्त हुनु स्वभाविक हो ।
यसरी खुसी भएका ६ जना भारतीय नागरिकलले उपचारमा संलग्न डाक्टरहरुलाई शैयाबाटै आभारी र धन्यवाद ज्ञापन गर्दै दिल्ली घुम्न आउन निम्तो दिएका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राको मोवाईल नम्बरमा म्यासेज पठाउँदै संक्रमणलाई जितिसकेका भारतीय नागरिकले सबै चिकित्सक धन्यवादको पात्र रहेको भन्दै ंदिल्ली घुम्ने निम्तो गरेका छन् ।
यति धेरै खुशी छौं, त्यसको वर्णन गरिरहन सकेको छैन, मेडिकल सुपरिटटेन्डेन्ट डा.मिश्राले भन्नुभयो–यो टिमका वरिष्ठ फिजिसियन कन्सल्टेन्ट डा.दिपक सिग्देल र फिजिसियन डा.डेनप्रसाद आचार्यसहित अन्य साथीहरुको एकमुष्ट सफलता हो । उ
हाँले एकजना विरामीले उपचारपछि चिकित्सकलाई धन्यवाद भन्नु निक्कै ठूलो सफलताको संकेत हुने बताउँदै भन्नुभयो–त्यसमा पनि भारतीय नागरिकहरुले हामीलाई घुम्न दिल्ली आउन निम्ता समेत गर्नुले अझै खुशी लागेको छ ।
अस्पतालबाट डिस्चार्जपछि हँसिलो मुद्रामा ३० वर्षीय अनुस जैदीले नेपाल आएका बखत उदयपुरको मस्जिदमा कोरोना संक्रमण देखिएको थाहा पाएपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) देखि, प्रहरी र चिकित्सकको भरले आफूहरुलाई धेरै सहज भएकोे प्रतिकृया दिए ।
नेपाल र भारत दुवै देश बन्दाबन्दी रहेका कारण अहिले नेपालमै बस्ने र पूर्ण रुपमा सबै साथीहरु आराम भएपछि दिल्लीमा रहेको घर फर्कने उहाँले बताउनुभयो ।
दिनरात अस्पतालमा खटिरहनु भएका स्वास्थ्यकर्मीको एकमुष्ठ सफलताले ६ जनाको स्वास्थ्यमा सुधार आएको हो, डा.मिश्राले भन्नुभयो–डा.सिग्देल र डा.डेनले बाहिरको अनुभव अध्ययन गर्दै रातदिन उपचारमा खटिनु भएको छ ।
कोरोना संक्रमित ३१ जनाको उपचारमा संलग्न पहिलो समुहका २४ र दोस्रो समुहका २४ गरि ४८ जना चिकित्सक तथा स्वास्थ्यकर्मी क्वारेन्टाइनमा पठाईसकिएको छ ।
चिकित्सकहरुले प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेको दुरदर्शिपूर्ण निर्णयका कारण विरामीको चापलाई सहजै धान्न सक्ने हैसियत राखिएको भन्दै प्रशंसा समेत गरेका गरेका छन् ।
डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मो.अजिज, २८ वर्षीय मो.जावेद, २१ वर्षीय मो. अहमद साहेव, ३४ वर्षीय मो. अजिरवान र २६ वर्षीय मो. राशिद रहनु भएको छ । अस्पतालबाट डिस्चार्जपछि उहाँहरुलाई प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरे र राज्यमन्त्री जसमाया गजमेर, मन्त्रालयका सचिव रविलाल पन्त लगायतले बिदाई गर्नु भएको थियो ।